सीआईबीले पक्राउ गरेका सांसद डा.सुनील शर्मामाथि के छ अभियोग ?


साउन २५, काठमाडौँ । बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ।

उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।

उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए।

शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले भनेका थिए।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।

२५ श्रावण २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको