नवराज विक हत्या प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला


मंसिर १९, काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।

उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ। यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ। त्यसैगरी अरु दुईजना नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ।

यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।

घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।

१९ मंसिर २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको