रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न प्रदेश सरकारको सिफारिस


असोज १८, दाङ । लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । भदौ ७ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं. २ सुखाओडार (जिनाबाङमा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय भएका हो ।

गंगादेव गाउँपालिका, सानडाँडा रोल्पाको गत बैशाख ८ गतेको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरि निर्णय गरेको थियो । स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गाउँपालिकाको नाम परिवर्तन सम्बन्धमा संघीय सरकारमा सिफारिस गर्न अनुरोध सहित प्रदेश सरकारमा पत्र प्राप्त भएको थियो । सो पत्रको आधारमा प्रदेश सरकार मन्त्रिपरिषद् बाट बैठकबाट स्वीकृत गरेको छ ।

गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय स्वीकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन २१ म स्वीकृति प्रदान गरेका थिए । प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको थियो । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बिषयमा विवाद थियो । पहिलो कार्यकालमा माओवादीले जितेको पालिकामा सहिदको नाम भनेर गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नै श्रीमती र आफन्तको नाममा पालिकाको नाम गंगादेव राख्ने निर्णय पारित गराएको भन्दै दावी गरियो ।

यस बिषयमा गाउँपालिकामा आन्दोलन समेत हुन पुगेको थियो । गाउँपालिका कायम हुदा नाम सुकिदह थियो । स्थान सुखाओडार थियो । पछी जनप्रतिनिधि निर्वाचित भएपछी नाम फेरेर गंगादेव राखियो । अनी केन्द्र सानडाँडामा सारियो । स्थानीय स्तरमा विरोध भयो । जग्गा विवाद पनि उब्जियो । अदालत सम्म मुद्धा पुग्यो । नाम र केन्द्रको विवाद चलिरहदा दोस्रो कार्यकालका लागी निर्वाचन भयो । निर्वाचनबाट परिणाम फरक आयो । कांग्रेसले पालिका जित्यो । त्यसपछी नाम र केन्द्र फेर्ने प्रस्ताव अघि बढ्यो । गाउँसभाबाट नाम र केन्द्र सुरुकै राख्ने निर्णय गरिएको छ ।‘पालिकाको नाम, केन्द्र फेर्ने बिषय राजनीतिक बिषय बन्न पुग्यो । माओवादीले राखेको नाम र केन्द्र, शक्ति सन्तुलन फेरिएसंगै परिवर्तन गर्ने निर्णय भएको देखिन्छ’एकजना स्थानीयले भने,‘नाम र केन्द्र फेर्ने बिषयलाई कडा राजनीतिसंग जोडेर लिइएको छ ।’

१८ आश्विन २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको