विस्तार होला त दाङको टरिगाउँ एयरपोर्ट ?

फाइल तस्बिर

चैत २२, दाङ । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीलाई दाङको टरिगाउँ एयरपोर्ट विस्तारको समन्वयको जिम्मा दिएपछि प्रक्रिया अगाडी बढिरहेको छ । यस अघि भएका डीपीआर अनुसार एयरपोर्टको धावनमार्ग विस्तार गर्न नसिकने प्रतिवेदन थियो । त्यो प्रतिवेदन अनुसार एमाले शंकर पोखरेलले काँग्रेसलाई दोष दिदै भन्थे‘टरिगाउँ एयरपोर्ट विस्तारकालागि काँग्रेसले ल्याएका प्राविधिकले विस्तार गर्न मिल्दैन भनेर प्रतिवेदन निकालेका छन्, त्यसो हो भने विकल्प खोजौं ।’ तर, अहिले नागरिक उड्ययन प्राधिकरणले विभिन्न ४ वटा विकल्प सहित एयरपोर्ट विस्तारको प्रतिवेदन तयार ग¥यो ।

तुलसीपुर १२ स्थित उक्त विमानस्थलको धावनमार्ग विस्तारका लागि पहिलो विकल्प नै ठीक भएकाले त्यही अनुसार प्रक्रिया अगाडी बढाएको उपप्रमुख स्यानी चौधरीको भनाई छ । “क्यानले ४ वटा विकल्प दिएको थियो”,उनले भनिन्“ति मध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौं ।”

पहिलो विकल्प अनुसार पुरानै धावनमार्गलाई बढाउने गरि तयारी गरिएको उनको भनाई छ । हाल रहेको ७५० मिटर धावनमार्गलाई विस्तार गरि १२३० मिटर लम्बाई बनाउने गरि तयारी गरिएको उपप्रमुख स्यानी चौधरीले बताईन् । तुलसीपुर उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक समेत रहेकी चौधरीले सोही स्तरको विमान बनाउनकालागि ५७ विघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ विघा, अधिग्रहण १.२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्छ ।

यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार ८ सय लागत अनुमान गरिएको छ । सोही अनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाईसकेको उनले बताईन् । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरि आफू लागेको समेत उनले बताईन् ।

सोही विकल्प अनुसार फुटपाथ तथा संरचना निर्माणको कामकालागि २ अरब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६०, भवन लगायतका सामग्रीहरूकालागि ३ अरब १३ करोड ४२ लाख ४० हजार, विविध कामकालागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणकालागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो विकल्प अनुसार अहिले रहेका घरहरू फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी एयरपोर्ट बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम‘भिजिविलिटी’ हुँदा अवतरण गर्न सक्ने अवस्था रहदैन । रातको समयमा हवाई अवतरण गर्नकालागि थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाईन अनुसार काम गरेमा ५ वर्षमा एयरपोर्ट बन्नेछ । यसमा आईई र ईआइए गर्न २ वर्ष लाग्छ । आईईई र ईआईई गर्नुकासाथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ ।

उनका अनुसार क्यानका इन्जिनियरहरूले यस अघि पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको पनि डीपीआर गरेर सफलता पाएको भन्दै टरिगाउँमा पनि सफलता पाउने अपेक्षा रहेको छ ।

टरिगाउँ एयरपोर्टको इतिहास निकै पुरानो छ । २०११ सालदेखि विमानले उडान थालेको थियो । २०११ सालदेखि २०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट भएको हो । त्यतिबेला सिधा दाङ काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवल स्थित तिनाउ नदीमा पनि पुल निर्माण भएको थिएन ।

त्यसैले यात्रुहरू रूपैडिया र भैरहवा भएर भारतीय भूमी हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो । केही वर्ष अवरोध भए पनि त्यसपछि माओवादीको युद्धकालमा ०५६ सालसम्म पनि यहाँबाट विमान सञ्चानल भएको थियो । केही समय अवरोध भए पनि ०५८ सालसम्म विमान सेवा जारी थियो । त्यो बिचमा केही वर्ष फेरी विमान सेवा अवरूद्ध बन्न पुगेको थियो तर पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमान स्थलको कालोपत्रेको लागि विमान अवरूद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलो पटक दाङ र रूकुममा एकै दिन परिक्षण उडान भरेको थियो । त्यसपछि रूकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ एयरपोर्टबाट गोमा एयरले विमान सेवा सुरू गरेको थियो तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरूद्ध बन्न पुगेको थियो । त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमित रूपमा हवाई सञ्चालन भईरहेको छ । उक्त एयरपोर्टमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छन । साढे ८ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमान स्थलको धावन मार्गको लम्बाई ७ सय ५० मिटरको छ भने चौडाई ३० मिटरको मात्रै छ ।

ठूला खाले विमानहरू अवतरणको लागि कम्तिमा पनि धावनमार्गको लम्बाई १ हजार २ सय मिटरदेखि माथि १ हजार ५ सय मिटर सम्मको र चौडाई ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल एयरपोर्टमा नेपाल एयरलाईन्स र सीता एयरलाईन्सका जहाजले उडान भरिरहेका छन् ।

हाल शुक्रबार बाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ । शनिबार भने सीता र नेपाल एयरलाईन्सका दुईवटै जहाजले उडान भर्ने गरेका छन् । हाल नेपाल एयरलाईन्सले मंगलबार,विहीबार, शुक्रबार र शनिबार सेवा दिने गरेको छ, भने सीता एयरले सोमबार, बुधबार र शनिबार सेवा दिने गरेको छ । आईबार बाहेक हप्तामा ६ दिन उडान भइरहेको छ । -अग्रिम साप्ताहिकबाट

२२ चैत्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको