असोज १३, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले बुधबार बजार तथा पसलको अनुगमन गरेको छ ।
दसैं तथा तिहारलाई लक्षित गरि उपभोक्ता हित संरक्षण समितीले आफ्नो पालिका भित्र रहेका मुख्य बजार तथा पसलको अनुगमन सम्पन्न गरेको हो । समितिले खाद्य र उपभोग्य सामानको अनुगमन गरेको परिवर्तन गाउँपालिकाले बताएको छ ।
परिवर्तन गाउँपालिका-५ पुतलाचौर,परिवर्तन गाउँपालिका-६ दुईखोली र परिवर्तन गाउँपालिका-३ बागमारा बजारका करिब ३० वटा पसलको अनुगमन गर्दा ७ पसलबाट म्याद नाघेका सामानहरु बरामद गरेको छ । १५ बोरा आटा, ४ वटा कोक, १ बोरा चामल, १५ प्याकेद बिस्कुट र ५० वटा दालमोट आदि रहेका छन् ।
समितिले पसल सञ्चालकलाई म्याद जान लागेका सामान म्याद जानू भन्दा पहिल्यै हटाउन वा सम्बन्धित कम्पनीलाई फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा बरामद गरेका म्याद नाघेका सामान परिवर्तन गाउँपालिकाले छलफल गरी केही दिनपछी नष्ट गर्ने समेत जनाएको छ । साथै धेरै पसलले पालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएकोले अनिवार्य पालिकामा दर्ता गरि सञ्चालन गर्न उपभोक्ता हित संरक्षण समितिले आग्रह समेत गरेको छ ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रीको संयोजकत्वमा भएको बजार तथा पसल अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने, स्वास्थ्य शाखा संयोजक दिपक घर्तीमगर ईलाका प्रहरी कार्यालय ओबाङका सव इन्सपेटर कमल थापा, परिवर्तन गाउँपालिकाका उद्योग वाणिाज्य संघका संयोजक प्रेम कुमार बुढा मगर, प्रहरी कार्यालय बागमाराका असई झलक बहादुर बुढामगर, अस्थायी प्रहरी कार्यालय पुतलाचौरका असई दिल बहादुर थारु र पत्रकारहरुको सहभागिता रहेको थियो । परिवर्तन गाउँपालिकाले बजार तथा पसल अनुगमन पहिलो पटक भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस