रूखले यसरी किच्यो डाक्टर बन्ने सपना


साउन ९, काठमाडौं । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन्। भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे। ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए। डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो।

तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए। ‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने।

काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बा२ख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो। त्यही नै आइपुगेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बज्रियो। रूख ढल्दा दुवै सवारीसाधनमा सवार गरी तीनजनाको मृत्यु भएको छ। घटनामा विशेषसहित चाँगुनारायण नगरपालिकाका ५५ वर्षीय न्हुछेमान बखद्यो र सर्लाहीका ४५ वर्षीय राजकुमार भुजेलको पनि ज्यान गुमेको हो। भक्तपुरका विशेष र सर्लाहीका राजकुमार बसमा सवार थिए भने न्हुछेमान स्कुटीमा गुडिरहेका थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर–१ सल्लाघारीस्थित चोंगा गणेशस्थान सडक छेउको सल्लाको रूख अचानक ढल्दा काठमाडौंदेखि कमलविनायकसम्म चल्ने बस सल्लाघारीबाट दुधपाटीतर्फ आउँदै गरेको र दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको स्कुटरमाथि बज्रेको थियो। रुख बज्रिँदा दुवै सवारीसाधन कच्याकुचुक भएका छन्। परिसरका

सूचना अधिकृत राजु पाण्डेका अनुसार घटना आइतबार मध्याह्न सवा १२ बजेतिर भएको हो। घटनामा परी नौजना घाइते भएका छन्। उनीहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार

भइरहेको छ। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धानपछि ढलेको रूख र किचिएका सवारीसाधन हटाएको थियो। यसका लागि डोजर, जेसिबीलगायत साधन लगिएका थिए। घटनाका कारण उक्त मार्ग भएर भक्तपुर–काठमाडौं जाने यातायातसमेत केही घन्टा रोकिएका थिए। घटनास्थल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीबाट माथि भक्तपुरको दूधपाटी जाने बाटोमा रहेको छ। यो ठाउँमा सल्लाका थुप्रै रूख छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले मिनीबास काठमाडौंबाट भक्तपुर दुधपाटी आउँदै गरेको र स्कुटर भक्तपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा रूख बज्रिएको थियो। उनका अनुसार मिनीबसमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रु थिए। पछाडिको भाग किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

९ श्रावण २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको