धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए


साउन ९, खोटाङ । साउदी अरबमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ।

साउदी अरबमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको हो।

शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो। पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ।

रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो।

उनी मासिक एक हजार रियल पाउनेगरी काठमाण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरब पुगेका थिए। ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए। तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो।

तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ। तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ। यस्तै मृतकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन्।

राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन्। श्रीमानको शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय पुगेकी थिईन्।

९ श्रावण २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको