कोरोना कहरमा बाध्यताको अरबको जिवन संघर्ष र अनुभुती


  • केशव पुन मगर

मलाई कार्यालय समय बाहेक अरु बेला कसैको फोन खासै आउदैन। कहिलेकाही कतै मेरो फोन बिग्रेको छ कि भनेर म आफैले अर्को नम्बर बाट अर्को नम्बरमा फोन गर्ने गर्थें। मलाई सम्झेर फोन गर्ने र सम्झेर मलाई म्यासेज गर्ने कमै मात्रामा हुन्छन । कसैको म्यासेज या फोन आए पनि बोल्दै गएपछि अन्तमा “झुक्किएर” आएको भन्दिन्छन र मनै खिन्न हुन्छ, मेरो। पिडा पनि कस्तो अचम्मको मेरो ।

बिहानै तिन बजे उठ्नु , नुहाइधुहाइ गर्नु , नभएको दाह्री जुङ्गा ब्लेटले खौरिनु , चार बजे बस चढ्नु , पाँच बजे लोकेसन पुग्नु , दिन भरि काम गर्नु , कलाइन्टको कचकच सुन्नु , कम्पनीको अडर मान्नु अनि साँझ पाँच बजे ड्युटीबाट छुट्नु , छ बजे कोठामा पुग्नु , सात बजे मेस हल खाना खान जानु , आठ बजे सुत्नु अनि फेरि बिहान तिन बजे उठ्नु —– मेरो दिनचर्या यसरि नै बित्दैथियो । सायद यस्तो दिनचर्या मेरो मात्रै होइन। रोजगारीको लागि परदेश पलायन हुने पचास लाख परदेशीहरुको दिनचर्या यसरि नै बितिरहेको हुनुपर्छ ।

यहाँ मैले अघिल्लो पंक्तिमा मैले मलाई कोरोना पोजिटिभ भएको कुरा खुलाएन। साउदी अरबमा रहेका मेरा आदरणीय सम्धिले किन पोजेटिभ भएको कुरा नलेखेको भनेर म्यासेन्जरमा सोध्नु भयो – मैले घरमा आतिन्छन त्यही भएर नखुलाएको भनेर जवाफ फर्काएँ ।  वहाँले अब त सन्चो भइसके भयो भनेर खुलाउदा पनि केहि फरक पर्दैन भन्नु भयो अनि यो पंक्तिमा मैले कोरोना पोजिटिभ भएको मेरो अनुभव लेख्ने प्रयास गर्दैछु ।

मैले के गर्छु ? मलाई के भयो ? म संग के भैरहेकोछ ? कसले मलाइ के भन्यो ? मेरो प्लान के हो ? यो सब कुरा मैले कसैलाई सहजै भन्दैन । मलाई पोजिटिभ भएको कुरा पनि न घरमा सुनाए , न साथि भाइलाई सुनाए ।  कोरोना पोजिटिभ भएर बाहिर निस्कि सकेपछि मैले सुनाएको नै “सम्धि” लाई हो । घर देखि परदेश हिडेपछि कतिपय कुराहरु घरमा भनिरहन जरुरत पनि छैन भन्ने मलाई लाग्छ। फेरि मेरो घरमा आत्तिने बाआमा हुनुहुन्न , बाआमाको सम्बन्ध भन्दा अरु सम्बन्धहरु मलाई फोकत लाग्छन ।

बिरानो मुलुक खाडी अरब नै भए पनि एकदमै सिस्टम भित्र चल्ने विकसित देशमा छु । कम्पनीको गेटबाट भित्र छिर्नलाई र क्लाइन्टको रिपोर्ट हेर्ने भएर म लगायत नौ जना साथिहरु पिसिआर चेक गर्न गयौं । रिपोर्ट आउन चौबिस घन्टा लाग्ने भएकोले चेक गरेर कोठा फर्कियौं ।  अर्को दिन म ड्युटी आएँ। मलाई दिन भरिको काम , क्लाइन्टको किचकिच , कम्पनीको अडरले त्यो दिन अलिक थकाइ महसुस भैरहेको थियो  ।  अरु दिनको तुलनामा थकाई निकै लागिरहेको थियो । साँझ खाना गएँ खाना रुचेन। नरुचे पनि जबर्जस्ती चार गास खाएँ। अनि बाँकि खाना डस्बिनमा हाल्दिएँ  । फर्केर कोठामा आएँ । भारि शरिर , आलस्य दिमाग लिएर सुत्नलाई तरखर गर्दैथिएँ । फोनको घन्टि बज्यो। सोचे पक्कै झुक्किएर होला उठान्न भनेर फोन उठाएन । म निदाउनै लागेको थिएँ फेरि फोनको घन्टि बज्यो  । राति सुत्नेबेला फोन गरेर डिस्ट्रब गर्ने को हो भनेर थर्काउछु भन्दै मैले फोन उठाएँ । केटिको आवाज आयो – तपाईं केशब पुन मगर हो ?  एकासी मेरो नाम थर सहित सोधे पछी मैले नाइ भन्ने कुरै भएन मैले “हो मै हुँ केशब पुन मगर” भन्नुस के सहयोग गर्न सक्छु होला तपाईंलाई ?”

उताबाट फोनमा लगातार बोलिरह्यो – म “फलाना” नर्स हुँ , “फलाना” हस्पिटलबाट। यस्तै जवाफ आयो उताबाट । हिजो तपाईंले चेक गर्नु भएको पि सि आर टेस्ट पोजेटिभ आएको छ । तपाई कहाँ हुनुहुन्छ ?  मलाई बिस्वास लागेको थिएन -कतै नम्बर गलत हो कि भन्ने भयो र बोले “सरि मिस्टेक भयो होला माफ गर्नुहोस ” फेरि बोल्यो – तपाईंको आइडि नम्बर “७८४- १९८३ – ४५८३–” हैन ? तपाईंको कम्पनी “सेक्युरिटी गार्ड” हैन ? मैले हो भने । त्यसपछि मलाई अवगत भयो मै रहेछु भन्ने कुरा । उसले भन्यो – कहाँ हुनुहुन्छ ? जहाँ हुनुहुन्छ कतै नजानु होला तिन घन्टा भित्र हाम्रो एम्बुलेन्स आउछ तपाईंलाई ल्याउउन  । आफ्नो सामान प्याक बनाएर रेडि भएर बस्नुहोला । तपाईंको लोकेसन ह्वाट्सएप मा पठाइदिनुस भनेर उसले अर्को नम्बर टिपाइ । मैले लगत्तै कम्पनीको सुप्रभाइजरलाई भने । एउटै रुममा दश जना बसेकोले बाँकि नौ जनालाई क्वारेन्टाइन पठायो कम्पनीले र मलाई त्यहि रुममा पर्खिनलाई भन्यो ।

नभन्दै तिन घन्टा पछि एम्वुलेन्स आयो । मलाई पिपिइ लगाउन पठायो । शरिरमा केहि समस्या भए नभएको भनेर सोध्यो । मैले नर्मल छ केहि समस्या छैन भनेर उत्तर दिएँ । उनिहरु पनि पिपिइ लगाएका थिए ।  एम्बुलेन्समा बसेर कोरोना क्याम्प पुर्‍यायो ।

क्याम्प पुग्दा म जस्ता पोजिटिभ वाला धेरै रैछन ।
क्याम्प पुगेर फेरि पिपिइ चेन्ज गर्न लगायो । खाना खाएको नखाएको सोध्यो । खाइ सकेको जानकारी दिएपछि तातोपानी र म्याङ्गो जुस लिएर दियो । भ्याक्सिन लगाइ सकेको या नलगाएको भनेर सोध्यो । मैले दुइटै डोज भ्याक्सिन लगाइ सकेको भनेर भ्याक्सिन लगाएको रिपोर्ट देखाइदिए । अनि नआतिन आग्रह गर्‍यो र गयो ।

फेशबुक खोले बेडमा पल्टे तर आफुलाई कोरोना पोजेटिभ भयो भनेर फेशबुकमा लेख्न मन लागेन। साथिभाइबाट त्यो “गेट वेयल सन” “टेक केयर” जस्ता कमेन्ट पाउनलाई के लेख्नु ? मुख्य कुरा त सयथरि कुरा आउछन । सय जना डाक्टर निस्किन्छन। हजार जना नर्स निस्किन्छिन अनि भावनात्मक सहानुभूति पाउनलाई के लेखिरहनु ?  त्यो सहानुभूतिले म चाडै सन्चो हुने पनि हैन नपाए म मर्ने पनि हैन । मरिएछ भने ठिकै छ भोलि बिहान न्यूजमा नाम र फोटो आएनछ भने गुमनाम नै भैइएला । तै माथि एक मुठि सासको भर के छ र ? बेकार फलानलाई पोजिटिभ भयो अरे , हस्पिटल छ अरे। क्याम्पमा छ अरे भनेर कुरा कताउनु भन्दा उत्पत्याङ गर्ने सहि लागेर केहि पोस्ट गर्दै बसे  फेशबुकमा । थुप्रैले आफुलाई पोजिटिभ भएको कुरा फेशबुकमै लेखे कति सल्लाह पाए। कतिले सहानुभूति संगै भावनात्मक सन्देश पाए  त्यो आफ्नो ठाउँमा होला तर मलाई यि सब चिज मनै पर्दैन । कतै मरिएछ भने पनि एक दिन आँशु बगाउलान , अर्को दिन रमाउलान , संसारको रित नै यस्तै छ भनेर चित्त बुझाउलान भनेर मन बुझाएर बसे ।

अर्को दिन नर्स आइ तातो पानी पिउन आग्रह गरिन । यो गर्मिमा तातो पिउन मनै लागेको थिएन । मलाई फेरि फ्रीज या कुलरको पानी नभै हुन्न । तातो पानी ल्याइ दिइ , मैले सेलाएर पिएँ । अर्को दिन थाहा पाएछि गालि गरि उसले भनि – यस्तै हेलचेक्र्याइ गर्छौ भने तिमि मर्छौ ।  अरे यार तिमिले आफ्नो लागि नसोचे पनि तिम्रो परिवारको लागि सोच। साथिभाइको लागि सोच। आफ्नो देशको लागि सोच । थाहा छ तिम्लाई रोग लागेको छ र जे पनि हुन सक्छ भनेर खाउला झैँ गरि एकै स्वरमा सब भनि । कसैकसैको रिसमा पनि कस्तो “माया” मिसिएको ? मेरो मात्रै नभएर मेरो परिवार , मेरो साथिभाइ अनि मेरो देशको कुरा गर्छि । अब भने मैले सोच्नै पर्ने भयो । उसकै अगाडी दुइ गिलास तातोपानि पिइदिए । उसले मुसुक्क हाँसि अनि भनि – “गूड् ब्वाइज” ।

एकछिन डाक्टर आयो – हालखबर सोध्यो । धूम्रपान , मध्यपान गरेको नगरेको भनेर सोध्यो मैले “कहिलेकाही” भनेर उत्तर दिएँ ।  बोल्यो कड्किएर डाक्टर साब – धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर थाहा छैन ? मैले भने “थाहा छ तर कहिले पिउदिन भनेर पिइयो कहिले पिउँछु भनेर पिइयो । कहिले खुसिले पिलायो त कहिले दुखिले पिलायो ।  पहिले अन्जानमा पिइयो अहिले त्यहि अन्जान बानिले जानिजानि पिलायो ।”  यति बोल्ना साथ डाक्टरले भन्यो “तिमि एसियन कन्ट्रीकाहरु आफ्नो स्वास्थ्यको ख्यालै गर्दैनौ , अनि अरुको ख्याल कसरी गर्छौ ? म्यक्सिमम एसियनहरु धूम्रपान मध्यपान गर्छन । अरे आफ्नो लागि नभए पनि परिवारको लागि बाँच , साथिभाइको लागि बाँच , अरुको लागि बाँच अनि आफ्नो देशको लागि बाँच ।  तिमिलाई थाहा छ ? जिवन भगवानको प्रसाद हो यो अम्युल्य छ बल्लबल्ल पाएको जिवन किन यतिकै खेर जान दिन्छौ”  त्यसपछि म बोल्न सकेन भौगोलिक रुपमले टाढा भए पनि एकैसाथ परिवार साथिभाइ अनि देश सम्झाइदियो डाक्टरले । म कासमा नास्तिक हुँ , डाक्टरले भगवानको कुरा गर्दा डाक्टरको कुरा कात्न नसकेर मैले भने “सरी सर” .

अर्को दिन मलाई सास फेर्न धौ भयो ।  रिंगटा लाग्यो । जिउ पुरै गलेर आयो । स्वास्वास्वास्वा भएर घाँटिमा केहि अड्केको जस्तो भयो । बेडबाट उठ्न पनि सकेन । वासरुम पनि घस्रीदै गएँ। त्यति मरिन्छ कि झै लागेको थियो । अब यो धूम्रपान मध्यपान सब छोड्छु भन्ने झैं लागेको थियो ।  भनिन्छ नि जो संग जे छैन त्यसैको अभाव हुन्छ भनेर त्यस्तै मैले पनि परिवारको अभाव महसुस गरे। साथिभाइको महसुस गरे अनि आफु जन्मेको हुर्केको ठाउँको अभाव महसुस , देशको अभाव महसुस गरे । तर मलाई दुख पर्दा , मलाई चोट लाग्दा , म दुखि हुदा अक्सर सम्झिने र मुखबाट निस्किने दुइ अक्षरको शब्द भनेको “आमा” हो । अहिले पनि यो पंक्तिहरु लेखिरहदा बिगत संगै आमालाई सम्झिरहेकोछु । जब म बुझ्ने थिएन तब आमाकै काखमा लडिबुडि खेलें , त्यति खेर आमाको ममताको कहिल्यै ख्याल गरिएन। जब म बुझ्ने भए तब म “आमा” बाट धेरै टाढा परदेशिन बाध्य भए ।  म रोजगारको लागि कतारमा हुदा आमा स्वर्गबास हुनु भएको थियो । मैले “आमा” लाश सम्म देख्न पाएन ,  “आमा” लाई दागबत्ती सम्म दिन पाएन । त्यसैले मलाई संसारकै अभागी छोरा मै हुँ जस्तो लाग्छ कहिलेकाही ।

बाथरुमबाट फर्किदा नर्स कोठामा आएकि रैछिन – कहाँ गइस भनेर सोधि – मैले बाथरुम गएको भनेर जवाफ फर्काएँ  । उसले भन्यो – तेरो भोलि अर्को टेस्ट हुन्छ । भ्याक्सिन लगाएको रैछस् लक्कि छस् चार दिनमै टेस्ट हुने भयो भनि । अर्को दिन नभन्दै साँझ फेरि पि सि आर टेस्ट गरायो । त्यसको भोलिपल्ट रिपोर्ट आयो । रिपोर्ट नेगेटिभ आयो । नर्स आइ “बधाई” भनि मुस्कुराइ मैले औपचारिकतामा धन्यवाद फर्काइदिएँ। फेरि भोलि अर्को टेस्ट हुन्छ त्यो पनि नेगेटिभ आए त रिलिज हुन्छस यहाँबाट भनेर सुनायो । मैले हुन्छ भने ।

भोलिपल्ट फेरि फेरि टेस्ट गरियो रिपोर्ट नेगेटिभ नै आयो र अर्को दिन कोरोना क्याम्पबाट रिलिज गरायो ।  म फर्केर आफ्नै कम्पनीको क्याम्प आएँ , सुपरभाइजरलाई कोरोनाबाट मुक्त भएँ। तर जिवनबाट मुक्त भएन भनेर जिस्केर फोन गरे ऊ गल्ल्लललललल हाँस्यो र भोलि बाटै सेम लोकेसनमा सेम टाइमिङमा ड्युती जोइन हुन आग्रह गर्दै आफ्नो ख्याल राख भन्दै फोन काट्यो।

मैले अझै नि साउदिमा भएका सम्धि जेबि मगर पीडित बाहेक अरु कसैलाई म पोजेटिभ भएको कुरा पनि भनेको छैन । घरमा पनि अझै भनेको छैन र भन्न नि आबस्यक ठान्दिन तर यि पंक्तिहरुमा आफुलाई पोजिटिभ भएर सन्चो भएर फर्किसकेको कुरा नलेखि बस्नै सकेन ।

सारा संसार कोरोनाबाट आक्रान्त भएको बेला यहाँ अरुकै देशमा राम्रो उपचार पाएर संक्रमण मुक्त हुदा आफ्नै देशको समाचार भने दैनिक उपचार नपाएर मरेको , संक्रमितको संख्या बढेको भनेर सुन्दा पढ्दा मन खिन्न भएर आउछ । आफ्नै देशमा पनि स्वास्थ्यमा कसैले हेलचेक्र्याइ नगर्दिएको भए अकालमा कोइ पनि मर्नु पर्दैन थियो होला जस्तो लाग्छ । देश सानै भए पनि बिकसित छ , सिस्टम भित्र देश चल्छ। त्यहि खुसि लाग्छ । कहिलेकाही फराकिलो सडक पेटि , गगन चुमि महलहरु देख्दा एक्लै सोच्ने गर्छु “मेरो देश पनि यतिको बिकसित भइदिएको भए म जस्ता पचास लाख जनसंख्या परदेशिनु पर्दैन थियो होला” ।

अचेल म उहीँ लोकेसन उहीँ पोशाकमा ड्युटी गरिरहेको छु । म आफैले काम गर्ने अपार्टमेन्टमा धेरै जसो कोरोना पोजिटिभ भाइहरु छन । हस्पिटलमा फोन गर्दिने , क्वारेन्टाइनमा हाल्दिने , आइसोलेसनमा पठाउने सबै काम म आफै गर्छु ।

भाइहरुलाई धूम्रपान , मध्यपान नगर्न सल्लाह दिन्छु अनि कोरोना पोजिटिभ देखाए पनि तातोपानी पिउन , नआतिन सुझाव दिन्छु । आइसोलेसनमा भएका भाइहरुलाई हरेक दिन फोन गरि हालखबर सोध्छु , खाना के के चाहियो भनेर सोध्छु । खाना पठाइदिन्छु , आएको खाना आइसोलेसन कोठा सम्म पुर्‍याइदिन्छु । गाह्रो साह्रो परे मलाइ खबर गर्ने सल्लाह दिन्छु ।  मैले यहीँ पंक्तिबाट सबैलाई आग्रह गर्न चाहान्छु – जिवन छ संसार छ , जिवन छैन , संसार छैन , त्यसैले आफ्नो जिवनलाई सदा अमुल्य बनाएर बाँच्नुस – जिवनलाई मृत्यु संग र मृत्युलाई जिवन संग तुलना नगर्नुस । स्वस्थ रहनुस खुसि रहनुस । आत्मबल बढाउनुस हामिले संसार जित्नु छ अझैं , संसार चिन्नु छ अझैं । हामि बाँच्नका लागि जन्मिएका हौं , त्यसैले जिवन जिवन जस्तो बनाउनुस  ।

७ श्रावण २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको