बाबुको निर्णयमा असहमति, गाउँपालिकाको गाडी तोडफोड


असार ९, काठमाडौं । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन्।

ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन्। गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ। गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए।

गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो। विभिन्न समिति निर्माणको विषयलाई पनि छलफलको एजेन्डा बनाइयो। तर कांग्रेसबाट बहुमतसहित अध्यक्षमा निर्वाचित जयप्रकाशले एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई कार्यपालिकाभित्रका विभिन्न समितिमा जिम्मेवारी नदिएको विषयमा विवाद भयो। अन्ततः एमालेका वडाध्यक्षलाई पनि केही समितिको जिम्मेवारी दिन जयप्रकाश तयार भए।

तर उनका छोरा ज्योती भने एमालेलाई पेलेर जानुपर्छ भन्ने पक्षमा थिए। एमालेबाट निर्वाचित भएकालाई जिम्मेवारी दिन नहुने माग राख्दै आएका ज्योतीले निर्णयप्रति असहमति जनाउँदै आफ्ना बाबुले चढ्दै आएको सरकारी गाडी तोडफोड गरिदिएको एक जनप्रतिनिधिले बताए। ‘गाउँपालिका अध्यक्षले एमालेका वडाध्यक्षलाई केही समितिको संयोजक बनाउन सहमति दिएपछि विवाद भएछ,’ ती जनप्रतिनिधि भन्छन्, ‘त्यसको विरोधमा उत्रिएर उनकै छोराले गाउँपालिकाको गाडी तोडफोड गरिदिएका हुन्।’

गाउँपालिका अध्यक्ष जयप्रकाशलेपनि आफ्नो छोराले गाडी तोडफोड गरिदिएको स्वीकार गरेका छन्। तर घटनालाई भने सर्वदलीय बैठक राखेर बुधबार मिलाइएको छ। सहमतिका नाममा तोडफोडमा संलग्न ज्योतीलाई कारबाही नगरिकन उन्मुक्ति दिइएको हो। सरकारी गाडी तोडफोड गरिएको भएपनि गाउँपालिका अध्यक्षका छोरा भएकाले उन्मुक्ति दिइएको भन्दै चौतर्फी विरोध भएको छ।

त्यसअघि जयप्रकाशले छोराले जाँड खाएर गाडी तोडफोड गरेकाले कारबाही हुने बताएका थिए। ‘मेरो छोरा वा नाति जो भए गलत गर्ने छुट छैन। कारबाहीको प्रक्रिया अघि बढाइसकिएको छ,’ उनले भनेका थिए, ‘उपाध्यक्ष, वडाध्यक्षलगायतका जनप्रतिनिधिसँग छलफल गर्छु। कारबाही अघि बढाउने विषयमा प्रहरीसँग पनि सल्लाह भइसकेको छ।’ तर अध्यक्षको प्रतिवद्धताविपरीत गाडी तोडफोडमा संलग्न उनका छोरालाई भने कुनै कारबाही भएन। उल्टै सर्वदलीय बैठक राखेर आगामी दिनमा यस्तो गतिविधि नगर्ने सर्तमा उन्मुक्ति दिइएको छ।

अध्यक्ष जयप्रकाशले सर्वदलीय बैठकको सहमति अनुसार कारबाही अघि नबढाइएको बताए । ‘एक पटकलाई गल्ती भइहाल्यो । अब दोहोर्याएमा कारबाही अघि बढाउने सहमति बैठकमा भएको छ,’ उनले भने, ‘गाडी मर्मत गर्दा लाग्ने खर्च बेहोर्ने सर्तमा सहमति भएको हो। गाउँपालिका स्थानीय सरकार नै भएकाले यति निर्णय लिन सक्ने अधिकार छ।’ तोडफोड गरिएको गाडी बनाउने र कारबाही अघि नबढाउने विषयमा बैठकमा सहभागी सबै दलका प्रतिनिधिले हस्ताक्षर गरेको उनको भनाइ छ।

एमालेबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित गुणवतिदेवी धामी थारुले गाउँपालिका अध्यक्षका छोराले उदण्डता प्रदर्शन गरेको बताइन्। गाउँपालिका अध्यक्षले एमालेलाई पेलेर जाने नीति लिएपछि आफूहरुले फरक मत राखेको उनको भनाइ छ। ‘हामीले फरक मत राखेपछि गाउँपालिका अध्यक्ष सहमतिमा आउनु भयो। तर उहाँकै छोराले बाबुसँगको रिस सरकारी गाडीमाथि पोखिदिएको पायौं,’ उनले भनिन्, ‘सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु सरासर गलत काम हो। हामीले विरोध गर्यौँ।’यस विषयलाई कार्यपालिका बैठकमा उठाइएपनि सर्वदलीय बैठक राखेर चौतर्फी दबाबमा घटना मिलाइएको गुणवतिदेवीको भनाइ छ। ‘सर्वदलीय बैठक राखेर छोरालाई कारबाही अघि नबढाउने भन्दै सुरुमा अध्यक्षले नै हस्तक्षर गर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि हामी पनि बाध्य भयौं।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

९ असार २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको