रुकुम पूर्वमा बस दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

फाइल तस्बिर

असोज ६, दाङ । रुकुम पूर्वमा बस दुर्घटनामा परि चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

बस चालक रामेछाप घर भएका २६ बर्षीय लिलाभक्त श्रेष्ठसहित रुकुम पूर्वका थप चार जनाको मृत्यु भएको छ । जसमा सिस्ने गाउँपालिका वडा नं. ६ की ४० बर्षीया लक्ष्मी खड्का, उनका २ बर्षीय छोरा सिजन खड्का, भूमे गाउँपालिका वडा नं. ५ का २३ बर्षीय बुद्धिमान बुढा, र पूथाउत्तर गंगा गाउँपालिका वडा नं. ८ का ३५ बर्षीय पुर्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिएका छन् ।

दुर्घटनाका १२ जना घाइते मध्य गम्भीर चार जनालाई हेलिकोप्टर मार्फत बाँकेको नेपालगंज तर्फ लैजाने तयारी भइरहेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडी सकेको र केही बेरमै आइपुग्ने प्रहरी प्रबक्ता खत्रीले बताए । अन्य आठ मध्यम घाइतेको जिल्ला अस्पतालमा उपचार जारी रहेको छ ।

बिहीबार दिउँसो ३ बजेतिर काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग अन्तगर जिल्लाको भूमे गाउँपालिका वडा नं. २ थावाङ बगरमा दुर्घटनामा परेको थियो ।

जिर्ण सडक खण्डका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ । गाडीको पछाडिको टायर खाडलमा परेपछि सन्तुलन गुमाउँदा बस खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

घटनास्थलबाट कुल १७ जनाको उद्धार गरिएको प्रहरीलजे जानकारी दिएको छ । बस सडकदेखि झन्डै ८० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

६ आश्विन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको