रोल्पामा फेरी मौलायो जुवा


मङ्सिर ४, रोल्पा । जनयुद्द अघि रोल्पाका परम्परागतरुपमा लाग्ने मेलाहरुमा जुवाडेहरुको घुइँचो हुन्थ्यो । विशेषगरी ख्वारख्वारे (लङ्गुर बुर्जा)को निकै बिगबिगी थियो । ख्वारख्वारे कम्पनीहरुले मेला ढपक्कै ढाकेका हुन्थे । आयोजकलाई ट्याक्स (चन्दा) पनि राम्रै आउथ्यो ।

अनि जुवाकै कारण लफडा हुन्थ्यो । कतिको घरबार उठिबास हुन्थ्यो । मेलाको बातावरण खल्बलिन्थ्यो । कसैका टाउका फुटथे, कसैका हात भाँचिन्थे । एकप्रकारले मेलाहरु जुवाकै कारण रणसंग्राम बन्थे ।

देशमा परिवर्तनको पैरवी पछी जुवाडेहरुको कमि भए । अझै जनयुद्दको उद्गमस्थल रोल्पाका मेलाहरुमा युद्द्पछी ख्वारख्वारे मात्रै होइन, रिङबाला हान्ने खेलहरु समेत बन्द भए । पहिलो स्थानीय चुनावद्वारा निर्बाचित जनप्रतिनिधिहरुले मेला तथा पर्वहरुमा जुवा/तासलाई खुल्ला रुपमा खेल्न नीतिगत रुपमै बन्देज गरे । मेलामा जुवाहरु नखेलाउन सुचना प्रबाह गर्थे, अनि परम्परागतरुपमा लाग्ने मेलाहरुमा जुवाडेहरुको नामोनिशान मेटियो ।

यसरि हराएका जुवाडेहरु यसपालिको मेलामा एकाएक मौलाए । आयोजकहरुले ख्वारख्वारे संचालकबाट मोटो चन्दा असुलेर गतिलो आर्थिक स्रोत बनाउने चेष्टा गरिरहेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ र ३ को सिमानामा पर्ने लामाचौरमा कार्तिक २४ गते परम्परागत मेला लाग्यो । उक्त मेलामा ख्वारख्वारेको तमासा देख्न पाइयो । अचम्म त के भयो भने एक आधारभूत बिद्यालयले ट्याक्स उठाएर खेल्न अनुमति दिईएको रहेछ ।

रिङबाला खेलाउदै 

मेलामा आधा दर्जन भन्दा धेरै ख्वारख्वारेहरु सहभागी थिए । प्रहरी प्रशासन पनि उपस्थित थियो तर उनीहरु मुखदर्शक बनेका थिए । नेपाल सरकारको कानुनमै जुवाहरु खुलेआम खेल्न प्रतिबन्ध गरेको छ तर कानुनका रखपाल सुरक्षाकर्मीहरु नै ख्वारख्वारेलाई बेवास्ता गरेर मेला रम्चाई रहेका थिए ।

यसरि मेलालाई जुवामय बनाएको देखेपछी स्थानीयले जिल्ला प्रशासन कार्यलय रोल्पामा रिपोर्ट गरे । मुख दर्शक बनिरहेको प्रहरीले बल्ल-तल्ल जुवाडेहरुलाई देखेर उठायो । त्यहि जुवाकै कारण केहि युवाहरु बीच झडप पनि भयो, केहि बेर हानमार चल्यो ।

यसअघि देखि शान्त रहेको मेला यसपाली भने पुनः रणमैदानमा परिणत भएको आभास धेरैले गरे ।

त्यस्तै कार्तिक २८ गते लगतै अर्को मेला लाग्यो । मेला थियो, जनयुद्दका कमान्डर किम बहादुर थापा ‘सुनिल’को सहादत भएको क्षेत्र ‘मनिमारे मेला’ । उक्त मनिमारे स्थल गंगादेव गाउँपालिका ३ बडाढुंगाको सिरानमा पर्छ ।

यसपाली मनिमारेको मेलामा पनि जुवाडेहरु भरिए । बडाढुंगामा रहेको बन उपभोक्ता समितिले ट्याक्स असुलेर ख्वारख्वारे खेलाउने अनुमति दियो । ख्वारख्वारे खेलाई रहेको अबस्थामा केहि युवाहरु र ख्वारख्वारे संचालकबीच बिबाद चर्कियो । त्यसकै कारण मेलामा हानमार चल्यो । समुहगत रुपमा ग्याँङ फाईड भयो । केहि युवाहरु रक्तमुछेल बने ।

मेलामा अशान्ति मच्चिएपछी मेलारुहरु छताछुल्ल भए । व्यापारीहरु भागाभाग गर्दै सामान नबेचेरै घरतिर फर्किए । मेला असान्त बन्यो ।

यसरि यी दुईमेलाहरु प्रतिनिधमुलक स्थलहरु हुन् । धेरै समयपछि फेरी जुवाडेहरु किन मौलाए ? धेरैको मस्तिष्कमा प्रश्न उब्जिएका छन् । जुवाका कारण मेलाहरु अशान्त बनिरहेका छन् । स्थानीय सरकारले मेलाहरुलाई सभ्य बनाउन जुवा नियन्त्रण सम्बन्धि कुनै कदम नचालेको स्थानीयवासीले आरोप लगाईरहेका छन्।

जुवाडेहरुले मेलामा लफडा गरेपछि यसको प्रत्यक्ष असर गरिब तथा साना ब्यापारी र सर्वसाधारणहरु माथि परिरहेको छ भने बाल मस्तिष्कमा झन गहिरो असर परेको छ । मेलाहरुमा बढी रहेको बेथितिलाई रोक्न सम्बन्धित निकाय मुख दर्शक बनिरहेको छ । समाज बिकृति र विसंगतितिर धकेलिदै छ । यस्ता कु-कार्यले कस्ता कर्महरु निम्त्याउला ?

४ मंसिर २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको