रोल्पामा नेकपाले चुनाव खारेजी अभियान तिब्र बनाउदै


कात्तिक २७, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ/शहरबाट खारेज गर्ने अभियानलाई तिब्र बनाएको जनाएको छ ।

पार्टीको केन्द्रीय नीति बमोजिम रोल्पा जिल्ला पार्टीले पनि चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएको जनाएको छ । रोल्पा जिल्लाका विभिन्न गाउँहरुमा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न आग्रह गर्दै हिंडेको नेकपा रोल्पाकी सेक्रेटरी सम्झना घर्तीमगरले बताईंन । घर्तीमगरका अनुसार यो दलाल संसदीय व्यवस्थाले गर्न लागेको निर्वाचनले दलालहरुलाई नै नीतिगत भ्रष्टाचार गर्न लाइसेन्स प्रदान गर्ने जात्रा भएकोले यो निर्वाचनलाई सशक्त रुपमा खारेज सहित बहिष्कार गर्न रोल्पाली मतदाताहरुलाई अपिल गरिएको छ ।

‘नदी नाला बेच्ने, देशका उद्योग धन्दा बेच्ने, शहीदका सपना बेच्ने र जनयुद्धका घाइते अपाङ्ग र समग्र संलग्न योद्धाहरुको सपना बेच्ने नयाँ दलालहरुलाई पनि भोट दिनुहुन्न ।’ सेक्रेटरी घर्तीमगर प्रश्न गर्दै भनिन– ‘एमसीसी तथा एसपीपी जस्ता ठूला–ठूला राष्ट्रघात गर्ने राष्ट्रघाती र जनघातीहरुलाई किन भोट दिने ? उनीहरुलाई यो देशको अस्मिता र जनताको आधारभूत आवश्यकता अरु थप बर्बाद पार्नलाई भोट दिने ?’ उनी अगाडि थप्छिन–‘देशभक्ति एवं जनप्रेमी समेत युवा, बुद्धिजीवीहरुले पनि यो दलाल संसदीय व्यवस्थाले गर्ने निर्वाचनलाई खारेज गरेर अगाडि बढ्नु पर्छ ।’

यसैबीच नेकपा राेल्पाले चुनाव खारेज अभियान अन्तर्गत घरदैलो गर्दै बाल पेन्टिङ/भित्तेलेखनलाई तीव्रता दिएको जनाएको छ ।

२७ कार्तिक २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको