माओवादीका चार संगठनले दिए प्रकाश सपुतलाई कडा चेतावनी


फागुन २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका चार जनवर्गीय संगठनले शुक्रबार सार्वजनिक प्रकाश सपुतको म्यूजिक भिडियो ‘पीर’को विषयवस्तुप्रति आपत्ति जनाएका छन्।

दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो तत्काल हटाउन माग गरिएको छ।

भिडियोले जनयुद्धको योगदानको अपमान गर्नु, त्यसको बचाउमा एमाले सम्बद्ध भ्रातृ संगठहरु अगाडि आउनुले यो प्रकाश सपुतकोमात्र सिर्जना मान्न नसकिने संगठनहरुको ठहर छ। उनीहरुले गायक सपुत प्रतिगमनको मतियार बनेको आरोप पनि लगाएका छन्।

सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुका साथै वर्गीय, जातीय, लिङ्गीय एवं क्षेत्रीय उत्पीडन एवं सबैखाले विभेदको अन्त्य गर्न जनयुद्धको महत्वपूर्ण देन रहेको भन्दै संगठनहरुले यसको अपमान सैह्य नहुने चेतावनी दिएका छन्।

‘हिजो जनताको न्यायपूर्ण विद्रोहलाई दवाएर सामन्तवादको रक्षामा तल्लीन प्रतिक्रियावादी राजनीतिक शक्तिहरु आजको संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती बन्न खोजेका छन्। उनीहरुको समेत उपहास हुने गरी निर्माण गरिएको म्यूजिक भिडियो प्रकाश सपुतको मात्र सिर्जना मान्न सकिदैन,’ आइतबार राति सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘यसको पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।’

भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश बर्षे जनयुद्धमा होमिएका महिलालाई देह व्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु/जोड्नु अत्यन्तै दुःखद र आपत्तिजनक रहेको संगठनहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘यसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त म्यूजिक भिडियो युट्यूब च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौं।’

भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनीतिक पूर्वाग्रह साँधिएको उनीहरुको आरोप छ। ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ। यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ। उनले विगतमा बजारमा ल्याएका अन्य म्यूजिक भिडियोहरुका कारण पटक पटक विवादित हुँदै आएका थिए। पछिल्लो भिडियोमा पनि उनले समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर आफु चर्चामा आउने बदनियत राखेका छन्,’ विज्ञप्तिमा कडा टिप्पणी गरिएको छ।

जनयुद्ध र जनआन्दोलनमा जीवनको वलिदानीलाई गौरव ठान्ने योद्धाहरु आज राष्ट्र, राष्ट्रियता र संविधानको रक्षा गर्ने महत्वपूर्ण अंगहरुको नेतृत्व गरिरहेको विज्ञप्तिमा स्मरण गराइएको छ।

‘साथै उत्पादनसँगको संघर्षमा पनि सामूहिक रुपले आफ्नो जीवनयापनको निम्ति श्रमरत छन्। भलै हिजो उठाइएका कतिपय मुद्दाहरुमा सम्बोधन अपुग भएको छ तर जनयोद्धाहरुलाई जीविकाको कारण देखाई देह व्यापारमा लागेको देखाउनु निकै भ्रामक र दुराशयपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मुलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण छ।’

विज्ञप्तिमा जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल, प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले हस्ताक्षर गरेका छन्।

यसअघि वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले गीत युट्युबबाट हटाएर माफी माग्न भनिसकेका छन्।

२९ फाल्गुन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको