महाभियोग प्रस्ताव आउनु गम्भीर षड्यन्त्र, प्रतिवाद गर्ने एमाले निर्णय


फागुन १, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । बालकोटस्थित अध्यक्ष केपी ओली निवासमा भएको सचिवालय बैठकले महाभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रको रुपमा लिँदै प्रतिवाद गर्ने निर्णय गरेको हो।

‘यो कदमलाई अत्यन्त गम्भीर षड्यन्त्रपूर्ण कदमको रुपमा लिएका छौं। यो अदालतमाथिको प्रहारमात्र होइन, सिंगो लोकतन्त्रमाथिको प्रहार हो, संघीय गगणतन्त्रमाथिको प्रहार हो र नेपाली जनताको सार्वभौमसत्तामाथिको प्रहारका रुपमा हामीले लिएका छौं,’ बैठकको निष्कर्ष सुनाउँदै महासचिव शंकर पोखरेलले भने।

उनले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई धकेल्न यस्तो कदम आएको बताए। उनले सत्ता पक्ष र प्रतिपक्षबीच भइरहेको सम्वाद प्रक्रियालाई विथोल्नेगरी यो कदम आएको बताए। ‘सत्ता पक्ष र प्रतिपक्षबीच लामो समयपछि सम्वादको पक्रिया थालनी भएको थियो। त्यसलाई विथोल्दै षडयन्त्रका रुपमा यो कदमलाई लिएका छौं,’ उनले भने।

गठबन्धनले सर्वोच्चका कतिपय विचाराधीन मुद्दालाई प्रभावित पार्ने र सर्वोच्च अदालतलाई सत्ताको निर्देशनमा चल्ने निरीह संस्थाको रुपमा रुपान्तारिक गर्ने योजनाका साथ अगाडि बढाएको एमालेको ठहर छ। ‘समग्रमा भन्ने हो भने महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहारको रुपमा बुझेका छौं। सुदृढ हुँदै गएको राजनीतिक प्रणालीलाई अस्थीर बनाउनलाई यो कदम अगाडि बढाइएको निष्कर्ष निकालेका छौं,’ पोखरेलले भने।

उनले नेपालको राजनीतिलाई अस्थिरतातर्फ ढकेल्नलाई शक्ति परिचालन भएको बताए। त्यसैले महाभियोगको गम्भीर ढंगले प्रतिवाद गर्ने बताए। एमालेले आवश्यक कदमका लागि संसदीय दललाई निर्देशन दिएको छ। महासचिव पोखरेलका अनुसार भोलि (सोमबार) बस्ने एमाले संसदीय दलको बैठकले महाभियोगबारे आवश्यक निर्णय लिनेछ।

१ फाल्गुन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको