मौसम विभागले भन्यो, ‘हिमपातको सम्भावना छ, पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउनू’


कात्तिक २४, काठमाडौं । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनु आग्रह गरेको छ।

बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

जारी बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला । साथै तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।’

शुक्रबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। जारी बुलेटिनमा भनिएको छ, ‘राती देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।’

शनिबार प्रदेश १ को पहाडी थोरै स्थानहरुमा र बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

२४ कार्तिक २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको