सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु


कात्तिक २३, काठमाडौँ । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश ठाउँमा महसुस भएको छ ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट डोटीमा घरसमेत भत्किएको छ । भूकम्पले घर भत्किँदा डोटीको पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको छ । घर भत्किदा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबैजनाको शव निकालिएको प्रहरीले जनाएको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । सुदूरपश्चिममा अहिले पनि पराकम्प गइरहेको स्थानीयले बताएका छन् । पराकम्पका कारण स्थानीयहरू चिसोमा खुला आकाशमुनि रात विताएका छन् ।

२३ कार्तिक २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको