वैद्य माओबादीले मोसो दलेर शिक्षकलाई लगाईदियो जुत्ताको माला


फागुन २५, खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन् ।

सुध्रनका लागि पटक-पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए ।

अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङस्थित कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा दुर्व्यवहार गरेको हो । शिक्षकमाथि दुर्व्यवहार भएको विषयमा जानकारी आएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र साे जिम्मेवारीबाट हटाइएका थिए ।

 

२५ फाल्गुन २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको