रोल्पाको धार्मिक प्रयटन प्रवर्द्धन गर्न राप्तीकै ठुलो शिव मुर्ति बन्ने [फोटो फिचर]

रोल्पाको धार्मिक प्रयटन प्रवर्द्धनमा जुटे आप्रवासीहरु


साउन २३, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ खुंग्रीमा रहेको त्रिपुरा सुन्दरी देवी भगवती मन्दिर र चतुर्भुज स्थल सुन्दर धार्मिक प्रयटन स्थल हुन । यसक्षेत्रमा मकर संक्रान्ति, वसन्त पन्चमी र शिवरात्रिमा ठुलो मेला लाग्ने गर्दछ ।

धर्मावलम्बीहरुको लागि मन्दिरहरुको शहर जस्तो देखिने उक्त क्षेत्रहरु ऋषि र योगीहरुको आश्रमस्थलको रुपमा लिइन्छ । सनातन हिन्दुधर्मावलम्बीहरुको तिर्थस्थल बनेको यो क्षेत्र अत्यन्त रमणीय छ ।  त्रिपुरा सुन्दरी देवी भगवती र चतुर्भुज स्थलमा १५ भन्दा धेरै मन्दिरहरु निर्माण भएका छन भने अझै निर्माण भैरहेका छन । मन्दिरहरुको संरक्षण मन्दिर ब्यबस्थापन समितिले गरिरहेको छ।

शिव, बिष्णु, देवी, गणेश, सुर्यको साथै हवन कुण्ड, सरस्वती मन्दिर, राधाकृष्ण मन्दिर तयार भई दैनिक पूजापाठ हुँदै आएको छ । परापूर्वकालदेखि उक्त क्षेत्रलाई धार्मिक तीर्थस्थल तथा धार्मिक संगमस्थलको रुपमा प्रयोग हुँदै आएकोले स्थानीयहरुको सक्रियतामा संरक्षण भैरहेको छ ।

चतुर्भुज धार्मिकस्थलमा बृद्ध आश्रम र तिर्थालु धर्मावलम्बीहरुका लागि धर्मशाला समेत रहेको छ ।

चतुर्भुजको चर्चा 

रोल्पा र प्युठान जिल्लाको सिमामा साँध, सुवर्णावती र चित्रावती नदीको संगम स्थलका रूपमा रहेको धार्मिक पवित्र पर्यटकीय स्थल ‘चत्तुर्भुज’ पूर्वार्ध कालदेखि नै चर्चामा छ । नदीहरुको संगमस्थल भएकोले यो क्षेत्रलाई पवित्र तीर्थस्थल मानिन्छ ।

मैत्र ऋषि तथा धनञ्जय ऋषिले सयौँ वर्षसम्म तपस्या गरेको तपोभूमि, ब्रह्माजीको ब्रतबन्ध भएको सिद्धभूमि अनि विभिन्न ऋषि महर्षिहरूले ज्ञान प्राप्त गरेको दिव्यभूमि, देवगणहरूले देवत्व प्राप्तपछि स्वर्ग जान प्रारम्भिक चरण यही स्वर्गभूमि चयन गरेको हिमवत्खण्ड पुराणभित्र पर्ने स्कन्द पुराणका ऋचाहरूमा विशेष महत्वका साथ वर्णन गरिएको छ । अनेक उन्मत्तेश्वर महादेवको रूपमा शिव पाञ्चायन मन्दिर नामलेपनि प्रसिद्ध छ ।

त्यस्तै प्युठान जिल्लाको धार्मिक स्थल स्वर्गद्धारी धामको हातामा रहेको गुफा जसलाई गुप्ती सागर भनिन्छ, त्यहाबाट २३ सय मिटर तल रहेको यस सुवर्णावती र चित्रावती नदी संगम स्थलमा स्वर्गद्धारी महाप्रभुले दैनिक नुहाएर फर्कने गरेको तत्य महाप्रभुको जीवनीसारबाट थाहा पाउन सकिने जनश्रुति छ । महाप्रभुले विक्रम संवत् १९४२ मा गुरु दीक्षा लिनु भएका स्वामी सच्चिदानन्द गिरीको समाधी स्थलपनि यही स्थानमा रहेको हुँदा यस भूमिको महिमा अवर्णनीय रहेको जनबिश्वास रहेको छ ।

राप्तीकै ठुलो शिव मुर्ति बन्दै 

चतुर्भुजमा त्रिपुरेश्वरी आप्रवासी कल्याणकारी कोषको पहलमा करिव २० फिट अग्लो शिवको मुर्ति बनाउन प्रयत्न भैरहेको छ । शिबको मुर्ति बनाउन अनुमानित रकम ५० लाख भन्दा धेरै लाग्ने निर्माण समितिका अध्यक्ष रोशन गिरीले बताए । मुर्ति निर्माणका लागि विभिन्न दाताहरुबाट आर्थिक संकलन भैरहेको छ भने गिरीका अनुसार हाल करिव ३० लाख रकम जम्मा भईसकेको छ ।

शिव पाञ्चायन मन्दिर परिसरभित्र उचित ठाउँको छनोट र अवलोकनगरि शिवको करिव १८ फिट भन्दा अग्लो र ठूलो मुर्ति बनाई ५ फिट अग्लो फाउन्डेसन माथि राखेर राप्ती भरिकै ठूलो र नमुना मुर्ति बनाउने उदेश्यले त्रिपुरेश्वरी आप्रवासी कल्याणकारी कोषले आर्थिक संकलन गरिरहेको छ ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि आर्थिक सहयोग गर्न  विशाल शिव प्रतिमा निर्माण समिति सुनिलस्मृति -२ चत्तुर्भुज रोल्पाले आह्वान गरेको छ ।

फोटो फिचरहरु 

 

 

२३ श्रावण २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको