गंगटे पुगेर गिरीले भने- ’तपाईंहरुका दुःखलाई सुखमा बदल्छु’


कात्तिक २०, गंगटे (दाङ) । गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले आफू निर्वाचित भए गंगटेवासीका दुःखलाई सुखमा बदल्ने वाचा गरेका छन् ।

शनिबार पश्चिम दाङको सीमान्त विकट वस्ती बबई गाउँपालिका वडा नम्बर १ गंगटेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका
केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले आफूले अघिल्लोपटक चुनाव हार्दा पाँच वर्ष विकास नै अवरुद्ध भएको बताए ।

गिरीले भने–’म गंगटेवासीलाई आग्रह गर्छु, चुनावको बेला नझुक्किनुहोला, झुक्किनुभयो भने फेरि तपाईंको विकास अवरुद्ध हुन्छ, तपाईंहरुले दुःख पाउनुहुन्छ ।’ उनले थपे–’तपाईंहरुको मतले जिते भने पाँच वर्षे कार्यकालमा लालपुर्जाको समस्या पनि समाधान गर्छु । उनले गंगटेवासीका लागि बाटो, खानेपानी, विजुली र गुणस्तरीय शिक्षा प्रमुख आवश्यकता रहेको बताए ।

उनले गंगटेको बाटो खोल्ने कामको सुरुवात आफूले गरेको बताए । उनले भने–’यहाँ आउने जे जति बाटो बनेको छ, त्यो मैले सांसद हुँदा गरेको हुँ,
त्यही बेलै टेण्डर भइसकेको हो, पाँच वर्ष अगाडि मलाई जिताएको भए अहिलेसम्म कालोपत्रे भइसक्ने थियो ।’ प्रदेशसभाका उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए ।

गठबन्धन समयको माग भएकाले अहिलेको परिस्थितिलाई बुझेर मतदान गर्न आग्रह गरे । आफू बबई गाउँपालिकाबासी भएकाले गंगटेको सुखदुःखमा सधैं संगसंगै रहने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा ’अपार’, नेकपा एकीकृतका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, कांग्रेस युवा नेताहरु विमल रिजाल, टीका घर्ती लगायतले गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।

२० कार्तिक २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको