नेपाली जनताले वीरतालाई पूजा गर्छन्, केपी ओलीले एक्लै जित्छु भनेका छन् : डा. दिक्षित


काठमाडौं, २१ साउन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

उनले अहिलेको राजनीतिको प्राप्तिको अवराध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाए । उनले भने,‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन् ।’ उनले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षित रहेको सुनाए ।

न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै उनले भने,‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताको लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’

उनले अहिलेपनि देशमा समस्या यथावत रहेको सुनाए । उनले भने,‘करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।’ केसीले संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या रहेको सुनाए । उनले भने,‘केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठकमात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भिआर्यपीको संख्यामात्रै ४८ सय छ । संसारका भिआईपी एकातिर र नेपालका भिआईपी एकतारित राख्दा नेपालका धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषय चुनावको एजेण्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ ।’

उनले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाए । उनले भने,‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपच्छिै मन्त्री छन्, झ्यालैपछि मन्त्री ।’ उनले राजनीतकि लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन् भन्ने प्रश्न गरे ? उनले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिए ।

उनले एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेको उल्लेख गरे । उनले भने,‘मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होईन ।’ उनले सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘त्यो परमादेश सही थियो त ? केपी ओली निरंकुश र स्वेच्छाचारी थिए । उनले हाउस विघटन गर्नु दुई वटा गल्ती थियो । एउटा–संविधान विपरित, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानीको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए, केपी ओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को दश वर्षसम्म, केपी ओलीको कहर हामीले बोकिरहनुपर्ने भयो । म केपी ओलीको हनुमान होईन, परमादेश ठीक हो भन्नेहरु हो भन्ने मेरो बुझाई हो । दुनियाँको कुनैपनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होईन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होईन । यो त पूण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरि अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दिक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले भने,‘पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ ।’

उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरुमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुे गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि, यिनीहरु प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनैपनि हालतमा जिताउनुहुँदैन् । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाा छैन् ।’

उनले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने जिकिर गरे । उनले भने,‘यो अब अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ । अहिलेका नेताहरुले नै देशलाई यस्तो अवस्थामा पुर्याएका छन् ।’

उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । उनले भने,‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’

दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे । माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरेका छन् । उनले भने,‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुई जिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरुले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होईन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरु प्हिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।’

मुलुकमा लोकतन्त्र बचाउन र अर्को कू नगराउने हो भने कुनैपनि हालतमा गठबन्धनबाट आउनेहरुलाई जिताउन नहुने उनको तर्क छ । उनले भने,‘यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँड गरेर आउ, मेरो आपत्ति छैन् । हामीले चाहेको संघीयता यस्तो होईन ।’ उनले देश खत्तम पार्ने नेताहरुलाई भोट दिन नहुनेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेद्धवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदूपयोग गर्न आग्रह गरेका छन् ।

उनले भने,‘चुनावको मिति घोषणा भएको छ, योसँगै, चुनाव भनेको लोकतन्त्रमा महापर्व हो । सार्वभौमसत्ता अभ्यास गर्ने माध्यम हो । ०४६ सालदेखि हामीले अहिलेसम्म एउटै अनुहार देखेका छौं । निरन्तर त्यही व्यक्ति आएको छ । अबको निर्वाचनमा भ्रष्ट व्यक्तिलाई सवक सिकाउनुपर्छ । अहिले जनताको हातमा शक्ति आएको छ । जनतलो विवेकसंगत् रुपमा आफ्नो मत प्रयोग गर्नुपर्छ । जसको ट्रयाक रेकर्ड राम्रो छ, उसलाई अवसर दिनुपर्छ ।’

उनले मुलुक कुशासन र भ्रष्टाचारको दुश्चक्रमा फसिसकेको टिप्पणी गरे । उनले भने,‘निर्वाचनको घोषणा गरिएको छ, यो सरकार कामचलाउ भैसकेको छ । अब संसद्लाई बिदा गरिनुपर्छ । चुनाव निश्पक्ष रुपमा सम्पन्न गर । आउने सरकारमाथि अब यो सरकारले कुनै बोझ थुपार्न पाउँदैन् । नियुक्ती पनि गर्न पाउनुहुँदैन् । आज हरेक सार्वजनिक पद बिक्रीमा छन् । लोकतन्त्रको नाममा उपहास भएको छ ।’

त्रिपाठीले अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरणबारे पनि कडा आपत्ति जनाए । उनले भने,‘राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानूनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रमिा लिईन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो । अब निर्वाचनको मिति घोषणा भएको छ । यो संसद् विदा हुनुपर्छ । अब संसद्ले नयाँ कानून र बजेट बनाउनुपर्दैन भने, अर्को पाँच महिनासम्म किन यसलाई कायम राख्ने ? कि सांसदलाई भत्ता खुवाउनको लागि मात्रै राख्ने ?’

उनले गरिब राष्ट्र भनेको गरिव परिवारजस्तै हुने भन्दै देशलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्तले संसद्को अवधि २०७९ मंसिर २१ गतेसम्म हुन्छ भनेर बोलेको भन्दै आपत्ति पनि जनाए । उनले भने,‘यो उहाँको हाँस्यस्पद अभिव्यक्ति हो । उहाँ त खटनपटनमा हिँड्ने व्यक्ति हो । संसद कायम रहन्छ भने सरकार कसरी कामचलाउ हुन्छ ? सरकारसँग दीर्घकालिन निर्णय लिने म्याण्डेट छैन् ।’

उनले लोकतन्त्र भनेको समानताको पनि विषय भएको उल्लेख गरे । उनले भने,‘यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनको बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियरकट च्वाईस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त ? यो गठबन्धनसँग कुनै सिद्धान्त छैन् । हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो । लोकतन्त्रमा सिण्डिकेट गर्न पाईँदैन् ।’

उनले नेपालमा लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति भएको पनि व्यंग्य कसे । उनले भने,‘व्यापारीसँग भन्दा बढि पैसा नेतासँग छ । नेपालमा त व्यापारीसँग भएको पैसा पनि नेताहरुको हो । व्यापारीहरुको ईतिहास हेर्नुहोस न, सबै कुरा थाहा भैहाल्छ नि।’

उनले अरवौं पैसा विदेशमा लुकाउने काम भएको पनि आरोप लगाए । उनले भने,‘त्यही व्यक्तिले आजको पोलिटिक्स कब्जा गरेका छन् । सफल राज्यमा उद्योगपतिले पैसा कमाउँछन्, र राज्यलाई कर तिर्छन् । असफल राज्यमा राजनीतिज्ञले पैसा कमाउँछन् । स्थानीय तहको निर्वाचनमा कस्ता मान्छे आए ? मानव बेचविखन गर्नेहरु, लागुऔषध कारोबार गर्नेहरुले जिते ।’

उनले २०४६ सालदेअि अहिलेसम्म सत्तामा आएकाहरुको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकन्त्त्र हो, जहाँ नीतिग भ्रष्टाचार हुन्छ । स्टेटले आँफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?’

क्लबका सभापति ऋषि धमलाले भ्रष्टाचार अन्त्य नगर्नेलाई मत नदिने योजना ल्याएको र देशव्यापी रुपमा यो अभियान लिएर जाने घोषणा गरे । उनले भने,‘मैले देशबाट भ्रष्टाचार समाप्त पार्नुपर्छ भन्ने एजेण्डा ल्याएको छु, यो अभियान लिएर देशव्यापी रुपमा जानेछु । भ्रष्टाचारीलाई पार्लियामेन्टमा उपस्थित नै हुन दिनुहुँदैन् । यसको साथै, भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने मेरो अर्को अभियान छ । म चुनावको मुखमा अब यो अभियान लिएरपनि देशव्यापी रुपमा बहस कार्यक्रममा उत्रिनेछु । लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प छैन् । दलको विकल्प भनेको नै दल हो ।

२१ श्रावण २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको