संक्रमित घट्दै, निको हुने बढ्दै

फाइल तस्बिर

जेठ १७, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो एक साता यता देशभरको संक्रमणदर

गत सोमबारदेखि हिजो (आइतबार) सम्म १ लाख ३१ हजार ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा ४९ हजार ६ सय सात जना संक्रमणमुक्त भएका छन् । यस्तै, मृतक संख्या पनि दैनिक घट्दो क्रममा रहेको छ । आइतबार १ सय ९ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, देशभर १ हजार ५ सय ४५ आईसीयू र ४ सय ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत प्रदेश १ मा २ सय ३७ आईसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १ सय ४४ आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २० आईसीयू र २ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय ६६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १ सय ८३ जना आईसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै, ज्येष्ठ नागरिकहरूले खोप लगाउने समय घर्किन लागे पनि तत्काल कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । सरकारले गत २३ फागुनपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए । खोप आउँदा बित्तिकै दोस्रो मात्रा लगाउने खोप कार्यक्रम कार्यतालिका सार्वजनिक गरिने भन्दै विश्व स्वास्थ्य संगठनले १६ हप्तासम्म पनि लगाउन सकिने बताएको जानकारी दिए । यसैबीच स्वास्थ्य मन्त्रालयले संक्रमण रोकथामका लागि हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताए । राजधानी दैनिकमा खबर छ ।

१७ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको