बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ: ओली


कात्तिक १३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल देश बनाउन नभई नेता बिगार्न देशभर कुदेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममाकार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ। कहिले पोखरा, कहिले धनकुटा, कहिले बागलुङ कहिले कहाँ। तपाईंहरूलाई किन थाहा छ ? यो एमालेलाई बिगार्न,’ ओलीले भने,’ किन सिध्याउने भन्दा यो साढे तीन वर्ष सरकार चलाउँदा अचम्मै गर्‍यो। कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ। अस्पताल बनेको छ। एमालेले सिध्याउने भो भनेर भतभत् पोल्यो। हाम्रो विकास देखेर हाम्रा विरोधीहरू आत्तिए। एमाले विरोधी भनेको देशविरोधी हो।’

‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको खण्डन गरेका छन्। शुक्रवार चितवनमा बोल्दै प्रचण्डले ओली प्रधानमन्त्री हुँदा करोडौंको भाँडाकुँडा किनेको आरोप लगाएका थिए।

उनले भनेका थिए ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्।’

यही आरोपको ओलीले आज खण्डन गरेका हुन्। ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’ ओलीले भने,‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?’

१३ कार्तिक २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको