बैशाख १७, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा ४३ जनामा गरिएको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
गंगादेव गाउँपालिकामा २ जनाको कन्ट्याक ट्रेसिङको आधारमा मंगलबार ४३ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गंगादेव गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिभुवन सिंह घर्तीले जानकारी दिए ।
संयोजक घर्तीका अनुसार सुखाओडार बजार क्षेत्र, जनप्रतिनिधि, स्वास्थ्यकर्मी कर्मचारी र केहि स्थानीयहरुको स्वाव संकलन गरिएको थियो । उनले भने- हामीले ४३ जनाको स्वाव संकलन गरेर पठाएका थियौ, त्यसमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ, यो परिक्षणले समुदायमा कोरोना भाइरस फैलिएको पुष्टि हुन्छ, अब जतिलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिन्छ सबैलाई कोरोना संक्रमण भैसकेको अनुमान गर्न सकिन्छ ।’, कोभिडसंग मिल्दोजुल्दो लक्षण भएका गाउँपालिकामा धेरै व्यक्तिहरु रहेको जानकारीमा आएको उनको भनाई छ ।
सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ ।
यस्तै दुई चरणका कोरोना खोप लगाएकामा पनि कोरोना पोजिटिभ देखिएको बताइएको छ । कोरोना पोजिटिभ देखिएका सबै आ–आफ्नो घर, कोठा र क्वार्टरमा आइसोलेसनमा बसिरहेको संयोजक घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि गंगादेव गाउँपालिका सिल गरिएको छ । उनले जनस्वाथ्यका मापदण्ड पुरा गरि एक घरबाट अर्को घरमा नजानुहुन सबैमा अनुरोध गरेका छन् । कोरोना भाइरस समुदायमा फैलिएको पुष्टि भैसक्यो, अब सबै सचेत भएर आ-आफ्नो घरमा बस्नुहोला, स्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुहोला’, उनले भने ।
केहि दिन अघि गाउँपालिकामा कार्यरत केहि कर्मचारीहरुलाई कोभिड-१९ भेटिएपछी अर्को सुचना जारि नभए सम्मका लागि कार्यलय र गंगादेवका १ र २ नम्बर वडा बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस