कोरोना कहर: संक्रमितको संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून

फाइल तस्बिर

बैशाख १७, काठमाडौँ । दैनिक कोरोना संक्रमित थपिने क्रम बढ्दै गर्दा बिहीवार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै अत्यधिक हो ।

बिहीवार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ ।

अहिलेसम्म २ लाख ८० हजार १ सय ६७ संक्रमित निको भएका छन् । देशभर ५९ व्यक्ति क्वारेन्टाइनमा छन् । त्यस्तै, देशभर ३ सय ३७ आईसीयू र १ सय ७ जना भेन्टिलेटरमा गरी ४ सय ४४ बिरामी उपचाररत छन् । जसअन्तर्गत प्रदेश १ मा ३६ आईसीयू र ६ भेन्टिलेटरमा, प्रदेश २ मा १० आईसीयू, बाग्मती प्रदेशमा १ सय ५६ आईसीयू र ६७ जना भेन्टिलेटरमा छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना ‘चेन ब्रेक’ गर्न जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मास्क समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

१७ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको