चैत्र १७, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका प्राय बिबादको घेराभित्र भेटिन्छ । पछिल्लो समय फेरी गंगादेव गाउँपालिकाको २ नम्बर वडा चौतारामा रहेको गंगा माध्यमिक बिद्यालयको शिक्षक प्रकरण विवादास्पद बिषय बनेको छ ।
सोहि बिद्यालयमा पढाउने शिक्षिका चन्द्रकला डाँगीले बिद्यालयले अन्याय गरेको भन्दै बिद्यालयमा उस्थित छैनन। उनले बिगतको शिक्षण सिकाई अनुदानमा आफ्नो पदस्थापना हुनुपर्नेमा जोड दिंदै आएकी छन् । कोभिड-१९ का कारण रोकिएको अनुदान पुनः आएपछि सोहि अनुदान आफुले पाउनुपर्ने दावी गर्दै आएकी छिन ।
यसै बिषयमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ गंगादेव स्थानिय कार्य समिति अध्यक्ष कमल प्रकाश हमालले प्रेस बिज्ञप्ती जारी गर्दै संघिय शिक्षण सिकाइ अनुदानमा चन्द्रकला डाँगीलाई निरन्तरता दिन माग समेत गरेका छन।
गंगा माविमा अध्यापन गराई रहेका शिक्षक हिरा बहादुर डाँगीले खाईपाई आएको जागिर भएको हुँदा उनको परिश्रम र लगानीका आधारमा संघीय शिक्षण सिकाई अनुदानमा चन्द्रकला डाँगीलाई नै नियुक्ति दिनुपर्नेमा जोडदिएका छन् । यदि उक्त अनुदानमा नियुक्ति दिन नसके कम्तिमा पनि २५ हजारसम्म तलव दिनुपर्ने उनको भनाई रहेको छ ।
कोभिड १९ का कारण रोकिएको अनुदान पुनः आएमा चन्द्रकला डाँगीलाई नै पुनर्बहाली गर्ने बारे सहमति भएको श्रीमान तिलक वलीले दावी गरे । बिरेन्द्र मावि नाउलीको प्रधानाध्यापक समेत रहेका वलीले गाउँपालिकाका अन्य बिद्यालयहरुमा सोहि प्रकृतिका अनुदानमा पुरानै शिक्षकहरु पुनर्बहाली भएको तर चौतारा बिद्यालयमा प्रधानाध्यापकको कारण चन्द्रकला डाँगीलाई पुनर्स्थापना नगरेको आरोप लगाए ।
शिक्षक महासंघ गंगादेवका अध्यक्ष धर्मराज डाँगीले पनि चन्द्रकला डाँगीलाई बिद्यालयले अन्याय गरेको बताए । चन्द्रकला डाँगीलाई पुनस्थापना गर्न शिक्षा शाखामा लिखित ज्ञापनपत्र समेत बुझाएको तर शिक्षा शाखा नै मौन रहेको आरोप लगाए । शिक्षण सिकाई अनुदान कार्यविधि अनुसार शिक्षकहरु नियुक्ति नभएको दावी समेत गरे । उनले भने खास गणित, बिज्ञान र अंग्रेजी बिषयमा मात्रै शिक्षक ब्यबस्थापन गर्नुपर्ने तर गंगादेवमा अन्य बिषयमा पनि नियुक्ति दिएको बताए । यतिमात्रै नभएर प्रक्रिया नपुगेका अर्थात लाइसेन्स बिनाका शिक्षकहरु उक्त अनुदान कोटामा नियुक्ति दिएको प्रति आपत्ति जनाएका छन् ।
के हो शिक्षण प्रकरणको बास्तबिकता ?
श्री गंगा माध्यमिक बिद्यालय चौतारामा आर्थिक बर्ष ०७६/७७ मा माध्यामिक तहको संघीय शिक्षण सिकाई सहयोग अनुदान कोटा प्राप्त भयो । जसमा बिज्ञान बिषयमा शिक्षक एकराज थापा नियुक्ति भएका थिए । थापाले खरिदारमा नाम निकालेर करिव ६ महिना पछी निजामती कर्मचारीमा सरुवा भए, उक्त रिक्तपदमा शिक्षिका चन्द्रकला डाँगी नियुक्ति भईन ।
बिद्यालय प्रधानाध्यापक निमा बुढाका अनुसार शिक्षण सिकाई सहयोग अनुदान कोटा कोभिडका कारण रोकिएपछि बिद्यालय ब्यबस्थापन समितिको निर्णय बमोजिम चन्द्रकला डाँगीलाई गाउँपालिका अनुदानमा पदस्थापना गरियो ।
गणित विषयका शिक्षक केशर केसी सरुवा भई अन्येत्र गएपछि रिक्तपदमा बिज्ञापन खोलियो । पहिलो पटकको बिज्ञापनमा कुनै शिक्षकहरुको दरखास्त परेन । दोस्रोपटक बिज्ञापन खोल्दा पनि कुनै शिक्षक आउन चाहेनन् । दरखास्त नहुनुको कारण तलव १६ हजार मात्रै हुँदा कुनै शिक्षक आउन चाहेनन्, ब्यबस्थापन समिति अध्यक्ष भुपाल दमाई भन्छन ।
सोहिक्रममा पुन: शिक्षण सिकाई सहयोग अनुदान कोटा आयो । गाउँपालिकाको परिपत्र अनुसार उक्त अनुदान बिद्यालयको आबस्यकता अनुसार गणित, बिज्ञान र अंग्रेजी बिषयको शिक्षक ब्यबस्थापन गर्नु भनिएको छ । त्यसै अनुरुप गणित बिषयको शिक्षकको ब्यबस्था गर्न आबस्यकठानी ब्यबस्थापन समितिले बिज्ञापन गर्यो ।
अध्यक्ष भुपाल दमाईले बताए अनुसार करिव तिन महिना (पुस, माघ, फागुन) भरि गणितको शिक्षक ब्यबस्थापन गर्न नसक्दा कक्षा १० का आधा दर्जन धेरै बिद्यार्थीहरु लिवाङ पढ्न गए । बिद्यालयमा गणित बिषयको लामो समय शिक्षक ब्यबस्थापन हुन नसक्दा बिद्यार्थीहरुको पठनपाठनमा बाधा पुग्नु र बिद्यालयको आन्तरिक स्रोतमा समस्याका कारण पुन: आएको शिक्षण सिकाई सहयोग अनुदान कोटाबाटै बिद्यालयको आवश्यकता हेरी गणित बिषयको शिक्षक ब्यबस्थापन गर्ने निर्णय गरेको बिब्यस अध्यक्ष दमाईले बताए । उनले भने ‘थोरै तलबमा गणित शिक्षक नपाइने भएपछी शिक्षण सिकाई अनुदान कोटाबाटै गणित बिषयको शिक्षक ब्यबस्थापन गर्न तेस्रोपटक बिज्ञापन खोलियो र एक जना शिक्षक रणबहादुर पुनको दरखास्त पर्यो । उनैलाई प्रक्रिया अनुसार नियुक्ति गर्यौ ।’
शिक्षक चन्द्रकला डाँगीलाई किन शिक्षण सिकाई अनुदानमा पुनर्स्थापना गरिएन ? भनि सोधिएको प्रश्नमा प्रधानाध्यापक निमा बुढाले भनिन, गाउँपालिकाको परिपत्रमा आबस्यकता अनुसार शिक्षकको ब्यबस्थापन गर्नु भनेको छ, पुराना शिक्षकलाई पुनर्स्थापना गर्न भनिएको छैन । त्यसैले गणित बिषयको शिक्षक ब्यबस्थापन गर्नु बिद्यालयको आबस्यकता थियो र ब्यबस्थापन समितिले सोहि अनुसार निर्णय गरेको हो ।
प्रधानाध्यापक बुढाले थपिन ‘बरु चन्द्रकला म्याडमले हाल खाईपाई आएको १६ हजारमा २/४ हजार थप्ने भनि बिब्यसले आस्वासन समेत दिएको हो तर उहाँले मान्नु भएको छैन र लिखितरुपमा सुत्केरी बिदा नलिएरै बिद्यालयमा नआउदा समेत उहाँको सुत्केरी बिदालाई स्वीकृत गरेका छौ । हालसम्म बिद्यालयमा निरन्तरता दिनु भएको छैन, तरपनि उहाँलाई अझै निरन्तरता दिन आग्रह गरिरहेका छौ ।’
राजनीतिक हस्तक्षेप किन ?
सोहि बिद्यालयका शिक्षक टेक बहादुर घर्तीले भने, ‘बिद्यालय ब्यबस्थापन गर्ने बिषयमा स्थानीय समुदायले आफ्नो निर्णय लिन पाउने अधिकार छ तर यस्तो बिषयलाई राजनीतिकरण गरेर, बाहिरबाट हस्तक्षेप गर्न खोज्नु उचित होइन ।’ सोहि बिद्यालयकी शिक्षिका गायत्री पुनको पनि यस बिषयमा चित्त दुखेको छ । उनले भनिन ‘अहिले आएको अनुदान पुनः चन्द्रकला म्याडमले आफ्नै लागि आएको जस्तो बुझ्नु भयो तर यो अनुदान उही शिर्षकको भएपनि बिद्यालयको आबस्यकता अनुसार प्रयोग गर्न भनिएको छ, यसमा खासै चित्त दुखाउनु पर्दैन ।’
बिब्यस अध्यक्ष भुपाल दमाईले राजनीतिक पुर्बाह्ग्रह नराख्न सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेका छन् । उनले भने ‘बिरेन्द्र मावि नाउलीको हेड सर तिलक वलीले आफ्नी श्रीमती चन्द्रकला डाँगीको जागिर बारे यतिधेरै चिन्ता गर्नु भयो, बास्तवमा उहाँ पनि एक प्रतिष्टित बिद्यालयको प्राध्यापक हुनुहुन्छ । बिद्यालय ब्यबस्थापनको अधिकार सेवा क्षेत्र भित्रका अभिभावक र समुदायको हुन्छ कि हुन्न ? राजनीतिक बिचार मिल्दैमा र आफ्नो नजिकको नाता पर्दैमा एउटा व्यक्तिको जागिर माथि अधिकार खोज्दा सिंगो समुदाय र त्यस समुदायका बिद्यार्थीमा पर्ने असर र अन्यायलाई उहाँ जस्तो जिम्मेवार व्यक्तिले किन हेर्न सक्नु भएन ? म अचम्म परेको छु ।’
चन्द्रकला डाँगीलाई संघीय अनुदान आए पुनर्बहाली गर्नेबारे बिगतमा कुनै सहमति नभएको दमाईले स्पस्ट पारे । उनले बिगतको सहमति बारे खण्डन गर्दै भने ‘बिब्यसको बिगतको निर्णय हेर्न सक्नुहुन्छ त्यहाँ शिक्षण सिकाई अनुदान आए चन्द्रकला म्याडमलाई फेरी नियुक्ति गरौला भनेर निर्णय कतै भएको छैन । संघीय कार्यविधि पनि हेर्न सक्नु हुन्छ, बिद्यालयको आबस्यकता अनुसार शिक्षण सिकाई अनुदान प्रयोग गर्न पाइने प्रष्ट छ, हामी नीति र बिधि भन्दा कतै बाहिर छैनौ ।’
सामुदायिक बिद्यालय बनाउन स्थानीयबासीको भूमिकालाई प्राथामिकता दिनुपर्ने बताउदै स्थानीयबासी राजेन्द्र केसी भन्छन, ‘हाम्रो बिद्यालयको आबस्यकता, बिद्यार्थी भाई-बहिनीहरुको अध्यनमा परेको असरलाई हेरेर यहाँका सामुदायहरुले नीति र विधिमा टेकेर स्वतस्फूर्त निर्णय लिन किन नपाउने ? उनले शिक्षकहरुमाथि प्रश्न गरे, ‘यहाँ जागिरका लागि झगडा हुन्छ तर हाम्रा बालबालिकाहरुको शैक्षिक गुणस्तरका लागि कहिलै किन झगडा हुँदैन ? बिद्यार्थीको नतिजा निकाल्ने सवालमा किन समस्या देखिन्छ ?
चौतारा माविको शिक्षक ब्यबस्थापन बिषयमा अनावश्यक बिबाद नउत्रिन शिक्षा शाखा प्रमुख शेर बहादुर डाँगीले आग्रह गरेका छन् । नीतिगत हिसाबले गंगा माविमा शिक्षक ब्यबस्थापन बारे त्रुटी नरहेको बताए । राजनैतिक खिचातानीका कारण गंगादेवको शिक्षालय प्रभावित भएको उनको बुझाई छ । उनले भने राजनैतिक आश्था बिचार आफ्नो ठाउमा होला तर बिद्यार्थीहरुको शैक्षिक भबिस्यका लागि सम्बन्धित सरोकारवालाहरुको आ-आफ्नो ठाँउबाट सहयोगको खाँचो रहेको शाखा प्रमुख डाँगीले पोष्टपाटी संग बताए ।
प्रतिक्रिया दिनुहोस