जेठ १५, काठमाडौं । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् ।
कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्नेछ ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुन सक्ने देखिएको मन्त्री ज्ञवालीले बताए । सन् २०२१ भित्र आमनागरिकलाई खोप लगाउनेगरी सरकार अघि बढिरहेको उनले जानकारी दिए ।
त्यस्तै, भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाइसकेको छ ।
कुन देशबाट कति माग ?
चीन : ५० लाख भेरोसेल
अमेरिका : ५० लाख अस्ट्रेजेनेका वा जोन्सोन एन्ड जोन्सन
भारत : १७ लाख कोभिसिल्ड
‘कोभ्याक्सअन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो,’ मन्त्री ज्ञवालीले भने, ‘हालसम्म कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कूटनीतिक प्रयत्न जारी छ ।’
विभिन्न मुलुकसँग खोप खरिद वा अनुदान विषयमा छलफल भइरहेको बताउँदै मन्त्री ज्ञवालीले साता दिनभित्र ‘ब्रेक थु्र’ हुने प्रस्ट पारे । खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित गरिएको छ ।
सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र बेलायतको अस्ट्राजेनेका खोप प्राप्तिका लागि पहल गर्दै आएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले दोस्रो डोज खोप लगाउने समयावधि विषयमा छिट्टै निक्र्योल गरिने जानकारी दिए ।
‘दोस्रो मात्रा कहिले लगाउने ? भन्नेबारे छिट्टै निर्णय हुनेछ, खोप अभाव भएकै कारण १२ साताभित्र लगाउनुपर्ने कोभिडसिल्ड लगाउने समय घर्किएको हो,’ उनले भने, ‘हालसम्म अनुमानित ४ लाख ५० हजार नागरिकले पहिलो र दोस्रो मात्रा लगाएका छन् ।’
संक्रमणमुक्त संख्या बढ्दै
यसैबीच, शुक्रबार देशभर ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।
देशभर थप ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ संक्रमितको मृत्यु भएको छ । हालसम्म ७ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।
हाल, देशभर १ लाख १३ हजार ३ सय ९४ सक्रिय संक्रमित छन् । १ हजार ६ सय २७ आईसीयू र ४ सय ५० संक्रमित भेन्टिलेटरमा छन् । प्रदेश १ मा २ सय १० आईसीयू र ५३ भेन्टिलेटर, प्रदेश २ मा १ सय ७७ आईसीयू र ३६ जना भेन्टिलेटरमा छन् ।
बाग्मती प्रदेशमा ७ सय ७५ आईसीयू र २ सय ८९ भेन्टिलेटर, गण्डकी प्रदेशमा १ सय ७६ आईसीयू र ३६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ९० आईसीयू र १९ जना भेन्टिलेटर, कर्णालीमा ५१ आईसीयू र ५ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४८ आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस