रोल्पा विद्रोहको चिनारी हो । त्यसैले म गर्व गर्छु । तर त्यहि रोल्पा भित्र गंगादेव गाउँपालिका बिबादको चिनारी बनेर पहिलो स्थानमा आउने गर्छ । त्यसकारण म दुखित पनि छु ।
मलाई एक जना मित्रले फेसबुकमा सोध्नु भयो ‘तपाईको घर गंगादेव हो हैन ? अनि हो भने । गंगादेवमा राम्रा कार्यहरु केहि कतै छैनन् त ? मैले हाँसोको इमोजी दिए । किन कि म संग उत्तर भएर पनि फर्काउन चाहेन ।
कुनै युद्दहरु मौनताको लडाईले जित्ने गर्छन, जितको लागी घनघोर लडाई नै लड्नु पर्छ भन्ने छैन । मलाई अचेल त्यस्तै मौनता भित्र हराउन मनलाग्छ तर मौनतामा हराई रहदा म बस्ने भूमि बदनामी भइरहदा बोल्नै कहर लाग्दो रहेछ । साँच्चै भन्दा, ‘म गंगादेवको हुँ भन्न लाजलाग्न थाल्यो’ ।
गंगादेव गाउँपालिकामा सिलसिलेवार एकपछि अर्को बिबादहरु उत्पन्न भैरहदा कतिपय विवादहरु सत्यपरक छन् तर कतिपय बिबादहरु तिलको पहाड बनाइन्छन, कति अतिरन्जित बनाइन्छ्न ।
अनि यस्तो लाग्छ, समाज बिबाद रहित हुन त्यसको चरित्र र चेतनाको स्तरमा निर्भर हुँदो रहेछ । कि त समाज चेतनागत हिसाबले धेरै माथि उठ्नु पर्ने रहेछ, कि त धेरै न्यून चेतनाबाट गुज्रिरहेको हुनुपर्ने रहेछ, अनि त्यहाँ शान्त र संयमित मानिसहरु भेटिदा रहेछन ।
तर मध्यम खालको चेतना बोकेको समाज धेरै संका र संकोचको संक्रमणकालीन अबस्थामा गुज्रिरहेको हुँदोरहेछ । यहि सोंच कतैबाट राजनीतिक रुपमा गाइडेड भयो, वा प्रयोग भयो भने झनै धेरै सामाजिक बिखन्डनको खतरा बढ्दो रहेछ । यहि मुख्य समस्य गंगादेवमा देखिन्छ ।
संकीर्ण सोंचले जडसुत्री बनाउछ, अहंकारी बनाउछ, सबै भन्दा जान्ने सुन्ने आफैलाई ठान्छ र अन्ततः जडसूत्र सोंच निस्तेजपूर्ण हुन्छ, अर्थात प्रतिपक्षलाई सिध्याउने भन्ने हुन्छ । यस्तै सोंचहरुबाट उत्पन्न हुने घटनाहरुले गंगादेवलाई संधै बिबादको घेरा भित्र उभ्याई रहेको छ । गंगादेवमा बस्ने इमान्दार सोंचहरु बिबादका कारण आफु र आफ्नो भुमि बदनामी भएको महसुस गरिरहेका छन् भने संधै बिबादमा रम्नेसोंचहरु आफुलाई बहादुर ठानी रहेका छन् ।
यस्तै सोंचबाट उत्प्रेरित समस्याहरु बिबादको घेरा भित्र उभिएका व्यक्तिहरुमा भेटिन्छ । इख, इर्श्या र बदलाभावबाट प्रेरित देखिन्छन । सकारात्मक सोंचको रामधुलाई भएको छ र नकारात्मक सोंचको मलजल भैरहेको छ ।
स्थानीयताको हैसियतले यो पंतिकारले कसैको पक्ष विपक्ष नलिई समस्याको उजागर गर्न चाहेको मात्रै हो । गंगादेव भित्र समस्याहरु अबस्य छन्, त्यसका साथ-साथै उपलब्धिहरु पनि प्रसस्तै छन तर नकारात्मक दृष्टिकोणले समस्याहरुलाई अलि धेरै पछ्याएका हुन कि ?
ति समस्याहरु व्यक्ति बिशेषको आचरण र व्यबहारबाट उत्पन्न भएकै हुन तर गंगादेवमा मात्रै होइन, सिंगो देशमै यस्ता समस्याहरु देखिन्छन ।
नत्र भने के रोल्पा जिल्लाका अन्य गाउँपालिकाहरु समस्या रहित छन् त ? कदापि छैनन । तर सकारात्मक सोंचले उत्पन्न समस्याहरु उठान गर्ने र हलगर्ने सृजनशील सोंचहरु छन् त्यहाँ । जहाँ उत्पन्न समस्याहरु प्रचारमुखी नभएर समाधानमुखी दृष्टिकोणले गाइडेड छन् र अनावश्यक हल्लाखोर मच्चाउदैनन ।
झिनो समस्या आइपरेपनि मिडियालाई हारगुहार गरिहाल्ने । प्रचारबाजी गर्नु पुर्व प्राबिधिक तवरले कम्तिमा समस्याको समाधान खोज्ने र बिकल्प नआए सहायताको लागि मिडियाकरण गर्ने बानी नहुँदा हिरोपंथी देखाउने पर्वृति गंगादेवमा देखिन्छ ।
अनि लाल्छना बर्षिन थाल्छन, गंगादेवका मिडियाहरु कुन दुलोमा छन् ? कहाँ सुतिरहेका छन् ? को संग साँठगाँठ गर्दै छन् ?
पत्रकारिता क्षेत्र समाजको अबगुण र लाल्छनाहरुको निशाना रहेछ । यस्तै लाल्छनाहरुले मौनताको युद्द लड्न ब्याध्य बनाउदो रहेछ । तर पनि आफ्नो भूमि विवादको रंगमन्च बन्दा लेख्नै पर्ने कर्तब्य बन्दो रहेछ ।
कोभिडका कारण विश्व थिलाथिला भैरहेको छ । यस्तो बेला संयमित बन्दै सबै एकजुट भएर कोभिडका बिरुद्द लड्ने बेला हो । गंगादेवमा कोभिडको स्वास्थ्य बिषयलाई लिएर अझैपनि बिबाद यथावत छ । यो बिबादलाई हेर्दा पनि दुवैपक्ष आ-आफ्नो अडानमा अड्डी कसेर अनावश्यक बिबाद उल्झाई रहेको देखिन्छ ।
कोभिडको महामारीको बेला गंगादेव ३ का केहि युवाहरु औषधि र स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरूप स्थानीय स्वास्थ्य आधारभूत केन्द्रमा पुगे । यो कार्य आफैमा अत्यन्त राम्रो थियो । किनकि कमसेकम जनताको आत्मबल उच्च हुन्थो, भावनात्मक सहयोग पनि थियो ।
तर अभियन्ताहरुले स्थानीय सरकारसंग समन्वय नगर्नु र स्थानीय सरकारले कुनै काम गर्न नसकेको कारण अब हामी गर्छौ भन्ने भावबाट सामाजिक संजालमा तामझाम र प्रचारबाजी भएपछी स्थानीय सरकारको झोंक चल्यो र स्थानीय सरकारको बदनाम गर्दै गैरकानुनी रूपमा औषधिजन्य सामाग्री खरिद बितरण नगर्न गाउँपालिकाले निर्देशन दियो ।
त्यसपछि ‘के खोजिस काना आँखो’ भने जस्तै आँखा पाएपछि बिरोधको सिडी चढेर गंगादेवको विवाद सगरमाथाको उकालो चढ्यो ।
स्वास्थ्यसंग संबेदनशील बिषय भएकोले स्वास्थ्य अभियान चलाउदा अभियान कर्मीहरुले स्थानीय सरकारसंग समन्वय गर्नुपर्थ्यो । उनीहरुले स्थानीय सरकारसंग समन्वय गरेनन तर स्थानीय तहले अभिभाबकीय भूमिका निर्वाह गर्दै अभियन्ताहरुलाई कानुनि प्रक्रियाको बिषयमा सुझाउनु पर्थ्यो र साझेदारी स्वास्थ्य अभियानमा जोड्नु पर्थ्यो ।
पालिकाको सचिवालयबाट व्यक्ति नै किटानगरी आरोपका शब्दहरु खर्चिए । स्थानीय सरकारले बिबादलाई मत्थर बनाउनेगरि अभिभाबकीय भूमिका खेल्नु पर्थ्यो । पालिकाको सुचना सम्प्रेषणको जिम्मेवार व्यक्तिहरु र अध्यक्षका नजिकका सल्लाहकारले पालिकाबाट प्रेसित बक्तव्यले बिबाद आउन सक्ने बिषयलाई नजरअन्दाज गर्न नसक्नु कमजोरी थियो।
पद्दति प्रक्रिया भुलेर केवल बिरोधको लागी अभियान थालेको जस्तो देखिनेगरि, स्थानीय सरकारलाई बिस्थापितगरि आफुहरु स्थापित हुने मनसाय यदाकदा अभियन्ताहरु सामाजिक संजालमा अभिव्यक्त भैरहेका थिए ।
समस्याको हल खोज्न र सफलता प्राप्त गर्न दुवै पक्षको समन्वयको खाँचो देखिन्छ । तर आ-आफ्नै अड्डीका कारण अभियन्ताहरुद्वारा खरिद गरिएको औषधि र स्वास्थ्य सामाग्री अहिलेसम्म त्यसै थाँती रहेको छ । अध्यक्ष बिर बहादुर खत्रीले स्वास्थ्य अभियन्ताको नेतृत्वलाई समन्वयका लागि पालिकामा बोलाएका छन् तर केहि अभियन्ता साथीहरु समन्वयका लागि स्थानीय सरकार समक्ष जान हिच्किचाई रहेका छन् ।
तर छलफल र परामर्श बिना यो समस्या टुंगो लाग्ने अबस्था छैन । समस्या उत्पन्न हुनु निर्विकल्प होइन तर समाधानका लागि समन्वय नहुनु नियति हुन्छ । त्यसैले सम्बन्धित पक्षहरु बसेर छलफलद्वारा समस्या हल गरे राम्रो हुन्छ । नत्र हिलोमा ढुङ्गा हान्दा आफै हिलाम्मे भइन्छ ।
यसरि थुप्रै साथीहरुले समस्याको उठान गरि लेख्न आग्रह गरेपछि, वास्तविकतालाई नजिकबाट नियाल्ने चेष्टा गरेको हुँ । बाँकी मुल्यांकन तपाई स्रोताहरुको हो, बाँकी आउने लाल्छना बेहोर्न अझै तयार छु ।
प्रतिक्रिया दिनुहोस