रोल्पामा शहिद गेट नै शहिद बनेपछि…


कात्तिक ११, रोल्पा । २०६४ यता मुलुक शान्ति प्रक्रियामा गयो । करिब १० बर्ष लामो आन्तरिक द्वन्दले थलिएको देश र जनताले बल्ल लामो शास फेर्न पाएका थिए । त्यो बेला कति अनुहारमा खुसी देखिएको थियो त द्वन्दमा परिवारका सदस्य गुमाएका मानिसहरुका अनुहारमा निराशा छाएको थियो । जे होस् लामो समय चलेको द्वन्दको बिसर्जन भएपछि समग्र रुपमा सबैले परिबर्तनको आशा बोकेर नयाँ नेपालको पर्खाईमा बसेका थिए ।

दश बर्ष सम्म चलेको शस्त्र १० बर्षे द्वन्द्वमा आमूल परिबर्तनको मोर्चा बोकेर होमिएका करिब १७ हजार जना शहिद भए हजारौं घाइते भए, बेपत्ता भए । २०६४ को निर्वाचनपछि तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादीको सरकार बन्यो । सरकारले शहिदहरुका सम्मानका लागि शहिद नै नामाकरण गरेर विभिन्न आयोजना योजनाहरु अगाडि बढायो । जसमध्ये तत्कालीन जनयुद्धको उद्गम स्थल रोल्पाको होलेरीमा शहिदहरुकै सम्मानका लागि तत्कालीन शान्ती मन्त्रालयद्वारा शहिद गेट बनाउन भनेर क्रमागत १० लाख बजेट बिनियोजन गरियो ।

होलेरीका समाजसेवी युबराज चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर गेट निर्माण प्रक्रिया अगाडि बढाइयो । शुरूवाती बर्षमा ६८ हजार रकम आउँदा उपभोक्ता समितिले पुर्बाधारको काम अगाडि बढाउन सकेन । तर पछिल्लो आर्थिक बर्ष २०६५/६६ मा पुनः १ लाख बीस हजार रकम आएपछि शहिद गेटको पिलर बिछ्याउने लगाएतका कामहरु अगाडि बढाएको चन्द बताउँछन् । ४-५ आर्थिक बर्ष गरेर जम्मा ५ लाख जति बजेट गेटका निर्माणका लागि आइपुग्यो र हामीले दुई वटा पिलर स्थापना गर्यौँ,-चन्दले भने त्यसपछि बजेट आए अनुसार बिस्तारै काम अघि बढ्दै थियो । तर आर्थिक बर्ष २०७४/७५ मा घोराही, होलेरी-थबाङ जोड्ने शहिदमार्ग आयोजनाको काम शुरु भएपछि मलाई थाहै नदिई स्थानिय एकदुई जना नेताहरुको अगुवाईमा दक्षिणतिरको पिलर भत्काइएछ । र काम लाथालिङ्ग भयो,-उनले भने ।

तत्कालीन उपभोक्ता समिति अध्यक्ष चन्दले भने जस्तै यो कुरा साचो हो होइन ? त्यस यता आजसम्म कुनै छानबिन समितिनै बनेको छैन । त्यस यता मुलुकमा ब्यबस्थाहरु पटकपटक परिबर्तन भए । २०७४ यता देशमा संघीयता लागू भयो तर स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले समेत यस बारे औपचारिक रुपले कतै पनि बोलेको सुनिएको छैन । त्यतिबेला गेट बनाउन खर्च गरेको ५ लाख रकम बालुवामा पानी जस्तै भएको स्थानियहरुको गुनासो छ ।

२०५८ सालमा तत्कालीन सरकार पक्ष शाही नेपाली सेनाले होलेरीमै गोली हानी ह’त्या गरेको रुन्टीगढी ६ सरेचौर गाउँका रोबर बिकको परिवारलाई अहिले साझ बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको छ । तर शहिदहरुकै सम्मानका लागि भनेर अल्पत्र पारिएको निर्माधिन सहिद गेट निर्माण शुरूवात गरिएको १४ बर्षसम्म बचेको एउटा पिलरले यहाँका स्थानिय सरकार तथा राजनैतिक दलहरुलाई गिज्ज्याई रहेको छ ।

घोराही-होलेरी सहिद मार्ग अन्तर्गत पर्ने होलेरीमा बनाएको यो गेट त घोराही, होलेरी-थबाङ शहिदमार्ग अगाडि बेथिति र शहिदहरुका सपना कति पूरा भए ? र शहिदहरुलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ? भन्ने सानो उदाहरण मात्र हो । कालोपत्रे गरेको डेढ बर्षमै छिया-छिया बनेको घोराही-होलेरी शहिदमार्गको अवस्था हेर्दा त राज्यले शहिदहरुका छातीमा निर्ममतापुर्वक कुल्चिएको अनुभुती हुने स्थानियहरु बताउँछन ।

मुलुक संघीयतामा गएपछि पनि धेरै पटक सरकार फेरियो । सरकारमा विभिन्न दलहरू पुगे तर शहिदहरुका सम्मानका लागि नत स्थानिय सरकार र अन्य राजनैतिक दलले नै आवाज उठाए न त प्रदेश सरकार र संघिए सरकारले नै, स्थानिय सरकारका पदाधिकारीहरु त्यहीँ शहिद मार्गमा अल्पत्र सहिद गेट भएको ठाउँबाटै चिल्ला गाडिमा हुइकिन्छन । तर उनिहरुको नजरमा अल्पत्र शहिद गेट परेन ।

शहिदमार्ग हिउँदमा पुरै धुलाम्मे र बर्षातमा पुरै हिलाम्मे हुने गर्दछ । गाडिको सिसा बन्द गरेर ए/सी लगाएर हुइकिन पाएपछि ध्यान पनि कसरी जाओस् ? अन्य दलका स्थानिय नेताहरू राजनीति जागिरै हो कि जसरी दिनभर होलेरीमै चिया चौतारोमा हास्दै चियाको चुस्की लिदै रमाइरहेका हुन्छन् । तर उनिहरुको ध्यानपनि शहिदहरुका सम्मान र जनताका सहजताका लागि जान सकेन । मुलुक परिबर्तनका खातिर आफ्नो ज्युज्यानै समर्मित गरेका शहिदहरुका सम्मान त भएकै छैन बरु उनिहरुका नाममा कमाउने खेलो भैरहेको यस क्षेत्रका स्थानियहरुको बुझाई रहेको छ ।

११ कार्तिक २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको