बागचाैर नगरपालिका कार्यालयको भवन बनेकाे २ वर्षसम्म पनि किन सरेन ?


असाेज १२, सल्यान । सल्यान बागचौर नगरपालिकाको भवन निर्माण सम्पन्न भएको दुईवर्ष बढी हुँदा पनि निर्माण व्यवसायीले काम गरेकाे रकम भुक्तानी पाउन नसकेकाे गुनासाे गरेका छन् ।

२०७५ चैतमा भवन निर्माण सम्पन्न भैसक्दा पनि अहिलेसम्म पुरा भुक्तानी नपाएकाे निर्माण कम्पनी प्रकृति निर्माण प्रालिका डिल्ली प्रकाश केसीले बताए । भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालि सँग भ्याट बाहेक ३ कराेड २९ लाखमा सम्झाैता गरेकाे थियाे ।

सम्झाैता अनुसार २०७५ चैतमा भवन निर्माण सम्पन्न गरिसकेकाे निर्माण व्यवसायी डिल्ली प्रकाश केसीले बताए । भ्याट बाहेक २ कराेड ९४ लाख रकम भुक्तानी पाएकाे र बाँकी ३५ लाख अझै भुक्तानी नपाएकाे उनले बताए । ३५ लाख भुक्तानीका लागि पटकपटक नगरपालिका धाउँदा विभिन्न बहाना बनाएर भुक्तानी राेकिदिएकाे उनकाे भनाइ छ ।

के भन्छ नगरपालिका ?

यसअघि नगरपालिकाले भवन निर्माण भएपनि भवनको सेफ्टी ट्यांकीमा पानिको मुहान जाग्ने र भवन चर्किएकोले अन्तिम भुक्तानी राेकिएकाे जनाएकाे थियाे ।तर नगरपालिकाले ६ महिनाअघिदेखि उक्त भवनमा काेभिड आइसाेलेशन बनाएर प्रयाेग गरिरहेकाे छ ।

याे भवनकाे विषयमा अख्तियारमा मुद्दा परेकाेले आफुहरूले अख्तियारले मागेका कागजपत्रहरू पठाउँने गरेकाे कारण भुक्तानी राेकिएकाे प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल बताउँछन् । उनले भने, ‘यसरी मुद्दा प्रक्रियामा रहेकाे कुरालाइ हामीले भुक्तानी दिन सक्दैनाैं ।’

तर उजुरी के विषयमा पर्याे भन्ने बारे केहि थाहा छैन् । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका सुचना अधिकारी वेद प्रशाद भण्डारीले याे विषयमा मुद्दा परे नपरेकाेबारे आफुलाइ केहि थाहा नभएकाे बताए ।

कार्यालय सार्नलाइ आलटाल गर्न नगरपालिकाकाे अनेक बहाना

नगरपालिका कार्यालय अहिलेसम्म भाडाकाे घरमा छ । नगरपालिकाकाे वार्षिक साढे ७ लाख भन्दाबढी घरभाडामा खर्च हुने गरेकाे छ ।

गतवर्ष नगरप्रमुख लाेकमान बुढाथाेकीले भवनकाे जगबाट मुहान जाग्ने गरेकाे बताउँदै कार्यालय सार्न नसकेकाे बताएका थिए । तर याे वर्ष वर्षातकाे समयभरी त्यहि भवनमा काेभिड आइसाेलेशन बनाएर प्रयाेग गरेकाे छ । याे हेर्दा भवनकाे जगमा मुहान जाग्ने देखिदैन् ।

स्थानीय जग्गा दाताहरूले भवनमा मुहान जाग्ने भन्ने कुरा गलत भएकाे बताउँछन् । माथीबाट आउने पानीकाे ढललाइ व्यवस्थापन नगर्ने र नगरपालिका कार्यालय नसार्नेकाे लागि अनेक बहाना बनाएकाे जग्गादाताहरुकाे भनाइ छ ।

एक जग्गादाताले नाम नखुलाउने सर्तमा भने, ‘हामीले यति धेरै जग्गा दान गरेका थियौँ, यहाँ नगरपालिकाको कार्यालय आए राम्रो हुन्छ भन्ने पनि आशा थियो तर अहिले धेरैले किन जग्गा दिइस भनेर कुरा समेत काट्छन्, यहाँ नगरपालिका पनि सर्दैन्, अब के हुन्छ भन्नेबारे अहिलेसम्म कुनै निष्कर्ष पनि आउँदैन् ।’ भवनको लागि यहाँ एक दर्जन जतिले ५ रोपनी जग्गा दान गरेका थिए ।

ठेकेदारकाे प्रश्नः ‘हामीले बनाएकाे भवनमा आइसाेलेशन बनाउने तर भुक्तानी नदिने ?’

भवन निर्माणकर्ता डिल्ली प्रकाश केसीले नगरपालिकाकाे आन्तिरक लडाइले गर्दा आफुलाइ मुछेर भुक्तानी राेकिदिएकाे बताए । नगरपालिकाले कार्यालय सार्न नचाहेर भवन चुहिएकाे बहाना बनाइ आफ्नाे भुक्तानी राेकिदिएकाे उनले बताए ।

उनले भने, ‘यदि भवनमा समस्या हाे भने किन आइसाेलेशन बनाएर प्रयाेग गरेकाे त । भवन प्रयाेग गरेपछि हामीले काम गरेकाे भुक्तानी त दिनुपर्याे नि । भवन गलत छ भन्नेले प्रयाेग गर्न पनि त लाज मान्नुपर्ने हाे नि ?’ अख्तियारले भुक्तानी राेक भनेर नभनेकाे तर नगरपालिकाले बनावटी समस्या देखाउँदै भुक्तानी नदिएकाे उनकाे आराेप छ ।

भुक्तानी किन भएन भन्दै आफुले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग सुर्खेत र केन्द्रिय कार्यालय काठमाडाैंमा जानकारी पत्र समेत दिएकाे तर अख्तियारले आफुलाइ केहि उजुरी नआएकाे र भुक्तानी नराेकेकाे जवाफ पाएकाे उनले बताए ।

त्यस्तै भवन निर्माणमा आफ्नाे साढे १६ लाख धराैटी हुँदाहुँदै नगरपालिकाले उपभाेक्ता समितीलाइ कामकाे जिम्मा दिएर भर्याङमा छत र बाहिर घेरबार गर्न लगाएकाे उनले बताए । एउटा निर्माण कम्पनिकाे काम पुरा नसकिदै त्यसैमा अर्काेले काम गर्ने कार्य नियमविपरित भएकाे उनले बताए । उपभाेक्ता समितिमार्फत भर्याङमा हालिएकाे छतबाट प्वाल परेर पानी चुहिने गरेकाे समेत उनकाे भनाइ छ ।

१२ आश्विन २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको