नैतिक पतन भएका राजनीतिक ठेकेदारहरु


बेद बोहरा,
देशमा राजनितीक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ र गरिरहने छ ।

समाज परिबर्तनको लागि बितेका केहि शताब्दीहरुमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरुलाई हेरियो भने बिस्तारै विकसित र परिस्कृत हुँदै गएका विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाको रङ्गभेदी आन्दोलन या तत्कालीन समयमा विश्वलाई आफ्नो अधीनमा राख्नेवाला बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन । समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिन्छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ ।

समाज, समय या बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहाँसले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । अर्को अर्थमा भन्नुपर्दा १९ औँ र बिसौँ शताब्दी मुलतः हातहतियार र औद्दोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ ।

यस परिप्रेक्ष्यमा नेपाली राजनितीलाई दाजेर हेर्ने हो भने नेपाली राजनितिक बिचारधाराका स्रोतहरु पनि कुनै न कुनै रुपमा माथि उल्लेखित वादहरु नै रहेका छन । जसलाई परिस्कृत बनाउदै समय र धरातल सुहाउँदो ढंगबाट प्रयोग नगरिएको कारण बेलाबखत उच्च अपेक्षा र ठूलो बलिदान दिईएर आएका परिवर्तनहरु क्षणिक र असफल साबित भए जसको पछिल्लो उदाहरण माओवादीहरुले १० बर्षसम्म दशौँहजारको बलिदानबाट प्राप्त परिवर्तन संथागत हुन नसक्नु रहेको छ । हुनत कुनैपनि वाद आफैमा पुर्ण हुदैनन जसलाई अभ्यास गर्ने र नेतृत्व गर्ने ब्यक्ति र परिपाटीमा पनि भर पर्दछ । उनिहरुको उदेश्य पुर्ण रुपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनितिको मोडालिटिमा । उता सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ नेपाली कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शुन्य छ ।

यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेताहरुको अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन निर्लज्ज लागिपरेका छन ।

सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका कर्णाली लगाएतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले प्रयोग गर्ने सेवा सुविधा नेताले अमेरिका बेलायत पुगेर भोग गर्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटिबाट निकालेर आफ्ना श्रीमतीलाई बिदेश घुमाउन लैजान्छन । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरु आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर आफ्नो छोराछोरीलाई बिदेशी महङ्गा कलेजमा पढाउछन ।

देशमा हरेकपटक राजनितिक परिवर्तनको लागि जनताको धेरै ठूलो योगदान र सहभागिता रहेको छ । जतिपनि ठुलाठुला परिवर्तनहरु भए त्यसमा जनताको प्रत्येक्ष संलग्नता रहेको छ । पछिल्लोपटक २०६२/६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता पनि राजनितिका खेलाडीहरुका आपसी तछाडमछाड र सत्ता स्वार्थ प्रमुख रुपमा जीम्मेवार छन् । अबत लाग्छ नेपालका राजनिति दलहरुमा जनताको भरोसा र बिस्वस्नियता शुन्य भईसकेको छ । उनिहरुमा गैरजिम्मेवारीपन र अनैतिकताको पराकाष्ठा नाघिसकेको छ ।

बिकास र परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्रै प्राप्त हुने कुराहरु भने हैनन । तर हाम्रोजस्तो मुलुकमा बिकासका लागि आवश्यक आधारभुत शान्तिसुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरुलाई चाहिने उत्साहित र आकृष्ट गर्ने बाताबरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनितिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरु अस्वभाविक राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनितीले भ्रष्टाचार र अपराधलाई प्रशय दिएको छ । र समाजमा राजनितीलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रुपमा लिईने गरिएकोले नेपालमा राजनीति आज स्वयं बदनाम बनेको छ !

१४ असार २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको