बीरप्रसाद घर्ति मगर,
धर्म भनेको के हो ?
यदि यहाँ धर्मको बारेमा ब्याख्या गर्नु पर्यो भने यस बारेमा सबैको आआफ्नो बुझार्इ र सोही अनुसारको ब्याख्या पनि पाइन्छ । त्यसैले धर्मको बारेमा मेरो पनि आफ्नै बुझाई साथै ब्याख्या छ र सबैजना यसमा सहमत हुनु पर्छ भन्ने पनि म ठान्दैन किनकि सबैको बुझार्इ आफ्नो आफ्नो हुन्छ । मेरो बुझाईमा धर्मको दुई वटा अर्थ लाग्छ । सरल अर्थमा भन्नु पर्दा धर्मको अर्थ राम्रो कर्म (Goodness) हो जुन पाप अर्थात नराम्रो कर्मको (Sin) बिपरित हो । धर्मको अर्को अर्थ राम्रो कर्मको लागि सामाजिक रूपमा जीउने एउटा जीवन पद्धती (The way of living) को एउटा सिद्धान्त वा दर्शन हो । जसलाई अंग्रेजीमा Religion भनिन्छ नकि माथी उल्लखित गरिए जस्तो धर्म (Goodness) वा पाप (Sin) । त्यसैले कुनै अमुक धर्म भन्नु नै कुनै अमुक जीवन पद्धती (The way of living) हो । धर्मलाई पनि बिभिन्न समुहमा बाँड्न सकिन्छ जस्तै बौद्ध, इस्लाम, इसाई जस्ता धर्मलाई कसैको बिचार अर्थात दर्शनमा आधारित धर्मका रूपमा मान्न सकिन्छ, त्यस्तै गरि बोन, प्रकृति जस्ता धर्मलाई परम्परागत सिद्धान्त र मुल्यमान्यतामा आधारित धर्मका रूपमा मान्न सकिन्छ भने हिन्दु, यहुदि जस्ता धर्मलाई कुनै एकल ब्यक्तिको बिचार वा दर्शनमा आधारित धर्म नभई परम्परागत र मुल्यमान्यताको जगमा बिकसित दर्शनमा आधारित धर्मका रूपमा मान्न सकिन्छ । यिनै जीवन पद्धतिको सिद्धान्त वा दर्शन प्रति राखिने बिश्वासलाई (Belief) नै धर्मको रूपमा चिनिन्छ भने यिनै धार्मिक बिश्वासको मूल्यमान्यता अनुसार अपनाइने सामाजिक विधिविधानहरू नै धार्मिक संस्कार हुन् । धार्मिक संस्कार अनुसार नै मानिसहरूको जन्म देखि मृत्यसम्मका कर्मकाण्डहरू गर्दछन् भने त्यसैको मुल्यमान्यता वा मार्गदर्शन अनुसार सामाजिक रूपमा मिलेर जिउने पनि गर्दछन् । त्यसैले अमुक दर्शन, सिद्धान्त र मूल्यमान्यतामा आधारित जीवन पद्धतिलार्इ नै अमुक धर्म भनिन्छ जस्तै हिन्दु धर्म, बौद्ध धर्म इस्लाम धर्म आदि । संसारमा धेरै धर्महरू छन् जसमा इसाई, इस्लाम, हिन्दु, बौद्ध जस्ता धेरै संख्याले मानिने धर्महरूलाई विश्वका प्रमुख धर्मका (Major Religion) रूपमा चिनिन्छ भने थोरै संख्यामा मानिने अन्य धर्महरूलार्इ सानातिना धर्मका (Minor Religion) रूपमा चिनिन्छ ।
मानव सभ्यतामा धर्मको बिकास हुनुको मुख्य कारण अहिलेको जस्तो कुनै ऐन कानुन नभएको प्राचिनकालमा जो बलियो र शक्तिशाली हुन्थ्यो त्यसैको मनपरी चल्थ्यो, त्यसैले त्यस्ता अत्याचारी बलवानहरूलाई नियन्त्रण गरि निर्धा र निमुखाहरूलाई बचाव गर्ने एकमात्र उपाय भनेकै यहि धर्म प्रतिको मानव बिश्वास थियो । त्यसैले समयको बिभिन्न कालखण्डमा त्यसबेलाका ज्ञानी र विद्वानहरूले समाजमा शान्ती सुब्यवस्था कायम गर्नको लागि ठाँउ र समय अनुसार बिभिन्न धर्म र त्यसका सिद्धान्तहरूको बिकास गर्न पुगे । कालान्तरमा मानिसहरू भूगोल र परिस्थिती अनुरूप तिनै धार्मिक दर्शन र सिद्धान्तहरूमा बाँधिन पुगे जुन यध्यावधि कायमै छ । ऐन कानूनले बाँधिएको अहिलेको आधुनिक युगमा नागरिक सुरक्षाका लागि पहिले जस्तो धर्मको कवचको त्यति आवश्यकता त नपर्ला तर जन्म देखि मृत्युसम्म समाजमा गरिने सांस्कारिक कर्मकाण्ड जस्ता कुराले गर्दा अझै पनि समाजमा धर्मको ठूलो महत्त्व छ भने सामाजिक र जातीय पहिचान जस्ता बिषयले पनि यसको थप महत्व बढ्न पुगेको देखिन्छ ।
मगरहरूको धर्म संस्कारः
नेपालको ७७ वटै जिल्लामा छरिएर रहेका मगरहरुले ठाउँ अनुसार बिभिन्न धर्म संस्कार मानेको देखिन्छ। जसमा अधिकांश क्षेत्रका मगरहरु हिन्दु वा बौद्ध धर्मको प्रभावमा परेर भूगोल अनुसार सोहि धर्मलाई अपनाएको देखिएता पनि विशेष गरेर १८ मगरातका बिकट जिल्लाका मगरहरु भने भौगोलिक विकटताको कारणले गर्दा हिन्दु र बौद्ध धर्मको संक्रमणबाट अछुत रहेका पाइन्छन्।
त्यसैले यी क्षेत्रका मगरहरु अझै पनि आफ्नै मौलिक धर्म संस्कारमा रमेको पाइन्छन्। जसलाई मानव शास्त्रीहरुले प्रकृति पूजकको रुपमा ब्याख्या गरेको पाइन्छ। यो धर्म संस्कार परम्परागत सामाजिक मूल्य मान्यतामा आधारित एउटा व्यावहारिक (Practical) धर्म संस्कार भएकोले यसको विधिविधानहरु पनि व्यावहारिक (Practical) रुप मै सन्तान दरसन्तान हस्तान्तरण हुँदै जाने परम्परा भएकोले यसको कुनै लिखित ग्रन्थहरु पाइदैन। आस्थाको हिसाबले यस धर्मको मुख्य दुइ वटा पाटो छन् जसलाई कुल पूजा र पित्री पूजाको रुपमा विभाजन गरेर हेर्न सकिन्छ भने संस्कारका हिसाबले हेर्दा यसका अन्य भिन्दाभिन्दै पाटोहरू पनि छन् । धर्म संस्कार जस्तो बृहद र जटिल बिषय यहाँ २-४ पानामा लेखेर सकिने बिषय त होर्इन तै पनि मगरहरुको यस मौलिक धर्मको आस्था र संस्कारको केहि पाटोलार्इ म संक्षेपमा चर्चा गर्न चाहन्छु। चाडपर्व, लोक संस्कृति, रिती रिवाज, झाँक्री प्रथा जस्ता बिषयहरूलार्इ भने मैले यहाँ चर्चा गर्ने छैन् ।
प्रकृति पूजक धर्म:
प्रकृति पूजक धर्म भन्नाले संक्षेपमा प्रकृति र प्राकृतिक शक्ति प्रति बिश्वास गरि धुरी देउराली, ताल तलैया, खोला नालाका मूल जस्ता प्रकृतिसंग सम्बन्धित बस्तुहरुको पूजा अर्चना गर्ने आस्थालाई बुझिन्छ।
जसमा भूमी अर्थात् जमिनसंग सम्बन्धित देवतालाई भूमे, जल वा सिमसारसंग सम्बन्धित देवतालाई सिमे, ताल तलैया जस्ता ठाउँमा बस्ने देवतालाई बराहा, लेक तिर बस्ने देवीहरुलाई बजु, हुरी बतास जस्ता प्रलयकारी प्राकृतिक शक्तिहरुसंग सम्बन्धित देवताहरुलाई सात सल्ले आदिका रुपमा चिनिन्छ। यिनै मध्यको बराहा देवता मानिने बराहाका १२ भाई बराहाहरु मध्यका कुनै एकलाई थर अनुसार कुल देवताको रुपमा पुज्ने गरिन्छ भने बाँकीलाई सामुहिक रुपमा मान्ने गरिन्छ। आफ्नो कुल धर्मको सांस्कारिक कर्तब्य पालनका रुपमा यि देवी देवताहरुलाई बिभिन्न समयमा पूजा अर्चना गर्ने गरिन्छ । यिनको पूजा गर्दा केवल एउटा पारम्पारिक संस्कार र आस्थाका हिसाबले मात्रै पूजा गरिने हुँदा यिनको पूजा कुनै फलको अपेक्षा गरेर गरिदैन। किनभने यिनको पूजा गर्दा कुनै फल प्राप्तिको लागि मलाइ यो बर दिनुस भनेर वा एउटा भाकलको रूपमा मेरो यो मनोकांक्षा पुरा भएमा यो चढाउने छु भनेर कहिल्यै भनिदैन। केवल रक्षा गर्नु कृपा गर्नु भनेर एउटा बिशुद्ध श्रद्धाभाव सहित आशिर्वाद लिने हिसाबले मात्रै पूजा अर्चना गरिन्छ र यसबाट यी देवी देवताहरुको सदा कृपादृष्टि रहने बिश्वास गरिन्छ।
प्रियजन, पाहुना वा आदरणिय व्यक्तिहरुलाई चोखो मिठो खुवाएर सम्मान र खुशी पार्ने मानव स्वभाव अनुसार प्रकृति पूजक मगरहरुले पनि आफ्ना देवी देवताहरुलाई खुशी पार्नको लागि आफुले खाने मिठो भोजनहरु र फूलपाती चढाएर पूजा गर्ने गर्दछन अनि त्यसैलाई नै प्रसादका रुपमा ग्रहण गर्दछन। जसमा मगरहरुको प्रिय पेय पदार्थ रक्सिलाई (लिसक) पेय पदार्थ, अक्षतालाई अन्न, धजालाई कपडा, भाले भेंडा वा बोकालाई मंसका रुपमा चडाउने गरिन्छ।
यहि पूजाको प्रयोजनको लागि तयार पारिएको जाँडबाट पूजामा चढाउने चोखो रक्सी बनाइन्छ र त्यहि रक्सीलाई लिसकको रुपमा चढाउने गरिन्छ। यसबाट के बुझिन्छ भने आफुले व्यावहारिक रुपमा जुन कुराहरुको भोग चलन गरिन्छ त्यहि कुराको चोखो अंश आफ्ना देवी देवताहरुलाई चढाएर सम्मान गर्ने र खुशी पार्ने संस्कार भएको बुझिन्छ। पूजा गर्ने विधिविधान ठाउँ अनुसार केहि फरक हुन सक्छ तर समग्रमा यसको सार भने एउटै हुन्छ जसमा अपवाद बाहेक पूजारीको काम प्राय आफ्नै घर वा खलकका कुनै पुरूषले गर्ने गर्दछन। पूजाको दिन बिहान अध्यारो मै खोलामा गर्इ नुहाएर कुल देवताको थानमा गएर पूजा गरिन्छ । पूजा गरि सके पछि भेडा वा बोकाको फियो हेरेर जोखना हेर्ने गरिन्छ र फियो मुटु कलेजो आदिलार्इ पोलेर थानमा चढार्इन्छ भने रगतमा अक्षता मुछेर टिका लगार्इन्छ । यसरी पूजा गरि सकेर घर फर्के पछि भाई खलकका ज्येष्ठ व्यक्तिहरुलाई घरमा बोलाएर सम्मान गरि खाना खुवाउने चलन छ भने पूजाको मासु आफ्नो छर छिमेक र भाई खलकमा प्रसादको रुपमा बाँडेर खाने गरिन्छ। जुन राम्रो मिठो कुरालाई सबैले बाँडीचुँडी ग्रहण गरौं भन्ने एउटा संस्कार हो। यो कुल पूजा हरेक तेस्रो बर्षमा अर्थात दुर्इ बर्ष पुगे पछि एकपटक गरिन्छ ।
पितृ पूजा:
मानव सृष्टी पनि प्रकृति कै एउटा देन भएको र मृत्यु पश्चात पनि मानव शरीर प्रकृति मै समाहित भएर जाने भएकोले प्रकृति पूजक मगरहरुले आफ्ना दिवंगत पुर्खाहरुलाई प्रकृति कै एउटा अंश मानेर उनको सम्मानमा चिनो बिसौना बनाएर बर्षेनी पूजा गर्ने गर्दछन। यसरी आफ्ना पूर्वजहरुलाई सम्मान र पुज्ने हिसाबले गरिने पूजालाई नै पितर पूजा (पित्री पूजा) भनेर भनिन्छ।
यो पूजा सकेमा उधौली र उभौली गरेर बर्षमा दुई पटक गर्ने गरिन्छ भने नसके बर्षमा एक पटक गरिन्छ। यसमा पनि कुल पूजामा झैँ लिसक (चोखो रक्सि), रोटी, धजा, अक्षता, फूलपाती र पित्रीको नाममा उठाएर (मन्छेर) पालेको एउटा भाले चढाएर पूजा गरिन्छ। पूजारीको काम चाँहि घर कै कुनै पुरूषले गर्ने गर्दछन् । पूजाको दिन बिहान अध्यारो मै खोलामा गई नुहाएर पितर थानमा गएर पूजा गरिन्छ । पूजा गर्दा थाहा भए सम्मको आफ्ना पूर्वजहरुको नाम भनेर फलाना जिजु, फलाना बाजे, फलाना बजु दाइनो (खुशी) भए भनेर पूजा गर्ने चलन छ। पूजा गरि सके पछि भालेको मुटु कलेजो आन्द्रा हेरेर जोखना हेर्ने गरिन्छ र त्यसलार्इ पोलेर थानमा चढार्इन्छ भने भालेको रगतमा अक्षता मुछेर टिका लगार्इन्छ । यहाँ पनि आफुले व्यावहारिक रुपमा जुन कुराहरुको भोग चलन गरिन्छ त्यहि कुराको चोखो अंश आफ्ना पूर्वजहरुलाई चढाएर सम्मान गर्ने र खुशी पार्ने संस्कार रहेको बुझिन्छ। पूजा गरि सके पछि घर फर्केर आफ्नो खलकको सबै भन्दा ज्येष्ठ महिला र पुरषलाई बोलाएर जिउदो पित्रीको रुपमा सम्मान गर्ने चलन छ। जुन आफु भन्दा ज्येष्ठहरुलाई सम्मान सत्कार गर्ने एउटा परम्परा र संस्कार हो।
जन्म संस्कार:
यस क्षेत्रका मगरहरुको जन्म मृत्यु र बिहेबारी जस्ता कर्म काण्ड संस्कारहरुमा पण्डित, भन्ते वा लामा बोलाएर गर्ने चलन छैन। कर्म काण्डका सम्पूर्ण कार्यहरु आफ्नै समुदायबाट गर्ने चलन छ। जसमा खलकका ज्येष्ठ महिला पुरूष र मार्इती भान्जहरू कै महत्वपूर्ण भूमिका हुन्छ ।
जस अनुसार बच्चाको जन्म पछि न्वारनमा आफ्नो खलकको सबै भन्दा ज्येष्ठ महिला पुरुषलाई बोलाएर एउटा भाले काटेर न्वारान गर्ने परम्परा छ र बच्चाको नाम पनि तिनै ज्येष्ठ महिलाले राखी दिने चलन छ। तर आधुनिकताको आगमन संगै अहिलेका दिनमा बच्चाको नाम आमा बाबुले नै छानेर राख्ने अभ्यासको बिकास हुदैँ गएको पाइन्छ।
भात खुवाईमा पनि खलकको ज्येष्ठ महिला पुरुषलाई बोलाएर भात खुवाई गरिन्छ तर बच्चालाई जुठो चाँही परिवारमा सबै भन्दा असल स्वभाव भएको व्यक्तिको खुवाइने गरिन्छ । त्यसो गर्दा त्यस ब्यक्तिको असल गुण बच्चामा सर्ने बिश्वास गरिन्छ।
बच्चा १ बर्ष पुगे पछि उसको भाग रोज्न लगाइन्छ, जसमा रोटि बनाउने पिठो मुछेर हलो, बन्दुक, कलम, पैसा, गाई, भेडा जस्ता बिभिन्न बस्तुहरु बनाएर तेलमा तारिन्छ अनि थालमा राखेर बच्चाको अगाडी राख्ने गरिन्छ। त्यसबाट बच्चाले जुन चिज टिप्छ त्यहि नै त्यसको भाग्यसंग सम्बन्धित हुने बिश्वास गरिन्छ । उदाहरणका लागि यदि बच्चाले हलो टिप्यो भने उ किसानी हुन्छ, बन्दुक टिप्यो भने उ सेनामा जागिर खान्छ भन्ने अपेक्षा गरिन्छ आदि। यस अवसरमा मावलीबाट नयाँ कपडा वा सानोतिनो गहना जस्तै चुरा वा कुण्डल बनाएर लगाई दिने परम्परा पनि छ।
पहिले पहिले छोरी भएमा फूपुले बुहारी थाम्ने चलन थियो, जसमा बुहारी थामी सके पछि बिहे नहुँदा सम्म हरेक हरेक चाड पर्वमा फूपुले आफ्नो बुहारी भाग भनेर माइतीलाई रक्सि र रोटि बनाएर कोशेली ल्याई दिने परम्परा थियो। तर आजभोली मागी बिवाह भन्दा प्रेम बिवाहले बढि प्राथमिकता पाए पछि यो चलन हराएर गएको छ । साथै छोरीलाई आमाले बच्चै देखि पेवा बनाइ दिने चलन पनि छ। उदाहरणका लागि छोरीको नाममा एउटा कुखुरा किनी दिने त्यसबाट फैलिएका चल्ला बेचेर आएको पैसा छोरीको पेवाको रुपमा जम्मा गरेर राखी दिने, पैसा अलिक धेरै भएमा त्यसबाट भेडा बाख्रा वा भाँडा कुँडा आदि किनिदिने र पछि बिहे भएर जाँदा खेरि दिने परम्परा पनि पाइन्छ। यसका साथै मावलीले दिएको कुनै कोशेली जस्तै गार्इ भैसी आदिलाई पनि छोरीको पेवाको रुपमा राखिन्छ।
बिहेवारी:
यस क्षेत्रका मगरहरुमा मागी बिवाह, भागी बिवाह र तानी बिवाह गर्ने परम्परा छ। जसमा मागी बिवाहमा बच्चैमा फूपुले मागेको वा उमेर पुगे पछि कसैले मागेर आपसी सहमतिमा भएको विवाहलाई मानिन्छ भने केटाकेटीको मन मिलेर गरिएको प्रेम बिवाहलाई भागी बिवाहका रुपमा मानिन्छ जसमा केटाले केटीलाई भगाएर घरमा ल्याई बिवाह गर्दछन र तानी विवाहमा कसैले मन परेको केटीलाई जबर्जस्ती तानेर घरमा भित्र्याएर बिहे गर्ने चलन पनि छ। तर यो तानी बिवाह पनि अहिले धेरै कम भई सकेको छ, किनभने केटा पक्षले जबर्जस्ती तानेर घर भित्र्याए पछि केटि पक्षका मान्छेहरु आएर केटीलाई राजु छस कि बिराजु छस भनेर सोध्न आउँदा खेरि यदि केटीले बिराजु छु भनेर भनिन भने केटाले केटीलाई फर्काउनु पर्ने हुन्छ र केटीको इच्छा बिपरित जबर्जस्ती घर भित्र्याएकोमा केटाले गाउँ समाजले तोकी दिएको जरिवाना केटीलाई तिर्नु पर्ने हुन्छ।
उमेर पुगेर मागी बिवाह, भागी बिवाह वा तानी बिवाह जुनै खाले बिवाह गरे पनि केटा पक्षले केटि पक्षलाई कोशेलीको रूपमा एउटा राँगो बुझाउने चलन छ जसलाई “छाङरा” बुझाउने भनेर भनिन्छ। त्यस राँगोलाई केटीका माइती पक्षले चेलीको कोशेलीको रुपमा काटेर बाँडीचुँडी खाने चलन छ। यदि केटा पक्षले राँगो ल्याएन भने केटि पक्षको खलकको कोषमा एउटा निश्चित तोकिएको रकम दिनु पर्ने हुन्छ।
बिहे पछि केटिको घरबाट दिएको सामान, आफ्नो पेवा बस्तु साथै आफ्ना खलक र नजिकका नातेदारहरुले कोशेलीका रुपमा दिएका भाँडा कुँडा जस्ता कुराहरु केटिले दाइजोको रुपमा लगेर जाने चलन छ।
यदि केटाले अर्कैसंग मगनी भएको (बिशेष गरेर सानैमा फूपुले थामेको) केटि बिहे गरेमा उसले जारी तिर्नु पर्ने हुन्छ भने यदि बिहे पछि कुनै कारणबस केटा केटिको सम्बन्ध बिच्छेद हुन गएमा सम्बन्ध बिच्छेद गर्न चाहने पक्षले बिवाह खर्चको रुपमा केहि जरिवाना तिर्नु पर्ने हुन्छ जसलाई “फार्सा” भनेर भनिन्छ। जारी र फार्सा रकम समाज वा आपसि सहमतिको आधारमा निर्णय गरिन्छ। दुवै अवस्थामा केटिले माइतबाट दाइजोको रुपमा लिएर आएको सबै सामान फिर्ता लगेर जान्छ।
बिवाह गर्दा कुनै लगन गाँठो हेरिदैन। प्राय राम्रो महिनाको कुनै राम्रो दिन पारेर बिवाह गरिन्छ। साउन, कार्तिक, चैत्र बाहेक प्राय जुनै महिनामा पनि बिहे गर्न सकिन्छ भने शनिबार, मंगलबार र मसान्तको दिन बाहेक जुनै दिन बिहे गर्दा पनि हुन्छ। यसका साथै बिवाहमा कुनै पण्डित चलार्इदैन, सबै काम मगर जैसी र मार्इती भान्जहरू मार्फत नै गरिन्छ भने दुलाहा दुलहीलार्इ टिकाटालो गर्दा दहिमा चामल मुछेर टिका र दुवो पाती लगार्इदिने चलन छ भने सिन्दुर लगाउने चलन चाँही छैन ।
मृत्यु संस्कार:
पुनर्जन्ममा बिश्वास: मृत्यु पश्चात भौतिक मानव शरीर प्रकृति मै समाहित भएर गए पनि मानिसको आत्मा जसलाई हङ्स पुरुष भनिन्छ त्यो चाँही तत्काल मरेर जाँदैन र उचित अवसर पाएमा पुनर्जन्म लिएर आउँछन् भन्ने बिश्वास गरिन्छ। त्यसैले कतिपयले मृतकको शरीरको कुनै अङ्गमा चिन्ह लगाई दिने परम्परा पनि छ। पछि परिवार वा खलकमा कुनै बालकको जन्म हुँदा यदि बालकको उक्त अङ्गमा कुनै चिन्ह (Birth mark) देखियो भने त्यस बालकलाई उक्त चिन्ह लगाई दिएको व्यक्तिको आत्माले जन्म लिएको बिश्वास गरिन्छ।
मृत्यु बाजा: जब कुनै घरमा कसैको मृत्यु हुन्छ तब दमाईहरुलाई बोलाएर मृत्यु बाजा (जसलाई बिपे बाजा भनिन्छ) बजाउने चलन छ। जसबाट गाउँ वा टाडा टाडा सम्मका मानिसले गाउँमा कसैको मृत्यु भएछ भन्ने थाहा पाउँछन। यसका साथै बनको गोठ तिर भएका मृतकका घरका मानिसले पनि आफ्नो घरमा मृत्यु भएको सूचना सहजै थाहा पाउँछन र घर आउँछन। त्यसैले यस बाजालाई मृत्युको संकेत दिने एउटा साङ्केतिक बाजाको रुपमा पनि चिनिन्छ। यसका साथै सहनाई र भोङ्कर जस्ता बाजाहरु पनि बजाइन्छ। जसमा सहनाईको ताल एकदमै उराठ लाग्ने खालको हुन्छ। यस्ता बिपे बाजा मृत्यु बाहेक अन्य अवस्थामा बजाइदैन। यसका साथै जीवित हुँदा मृतकलाई अति मन पर्ने बाजा पनि बजाइदिने चलन छ। उदाहरणका लागि यदि मृतकलाइ भूमे नाँच्न असाध्यै मन पर्थ्यो भने उसलाई भूमे बाजा पनि बजाई दिने चलन छ, यस्तो गर्दा मृतकको आत्मा खुशी हुने बिश्वास गरिन्छ। यसका साथै लाशलाई घर देखि बन सम्म लैजादा बाटोमा यहि बिपे बाजा बजाउदै लग्ने गरिन्छ।
बाटो कपडा: मृत्यु भएको घरमा सेतो कोरा कपडाको सग्लो थानलाई भाटामा (निगालो) राखी लामो गरेर टाँग्ने गरिन्छ जसलाई बाटो कपडा भनिन्छ। यो पनि एउटा साङ्केतिक चिन्ह हो, किनभने यो बाटो कपडा टाँगेको टाडै देखि देखिने भएकोले कसको घरमा मृत्यु भएछ भनेर टाडै देखि सहजै चिन्न सकिन्छ। मृतकलार्इ बन लैजाँदा यो बाटो कपडालाई मृतकको अगाडी अगाडी उचालेर लगिन्छ र लाश गाड्ने ठाउँमा लगेर गाडिन्छ र जब लाशलाई जमिन भित्र हालिन्छ तब मात्रै दमाईहरुले यसलाई उठाएर लग्छन।
बन्दुक पड्काउने: मृतकलाई गाड्न वा जलाउन लैजानु भन्दा पहिले घर भित्रबाट निकालेर केहि समय आगनमा राख्ने गरिन्छ। जुन समयमा मृत्यु सम्बन्धि प्रक्रियाहरुको तयारी गरिन्छ। यसरी घर भित्रबाट आँगनमा निकाल्दा भरुवा बन्दुक पड्काउने चलन छ, जुन गाउँका वा टाडाका मानिसलाई अब लाश बाहिर निकालियो छिटो आउनु भन्ने एउटा संकेत हो। यसका साथै चिहान खनि सकेर लाशलाई जमिन भित्र हाल्ने बेला पनि बन्दुक पड्काइन्छ यो पनि एउटा संकेत नै हो, यसबाट मृतकलार्इ मट्टी दिएको संकेत गाउँमा भएकाले पनि पाउँछन् । तर माओवादी जनयुद्ध पछि सरकारले गाउँ घरका सबै बन्दुक खोसेर लगिदिए पछि यो बन्दुक पड्काउने चलन धेरै मात्रामा हराएर गएको छ।
बिदाई गित: मृतकलार्इ घरबाट बाहिर निकाले पछि आँगनमा एउटा मान्द्रो माथि कपडा ओछ्याएर लाशलाई राख्ने गरिन्छ र त्यस पछि महिलाहरुले मृतकसंग एउटा बिदाइ गित गाउँछन् जसलाई “लाँईसिने” भनेर भनिन्छ। रुँदै गाइने यो गित अत्यन्तै हृदयविदारक हुन्छ। जसमा मृतकको जीवनसंग संबन्धित मिठा कुराहरु, परिवार वा आफन्तजनबाट कुनै गल्ति वा कमिकमजोरी भएको भए त्यसको लागि क्षमायाचना, भौतिक शरीरले बिदा लिएर गए पनि मृत आत्मालाई शान्ति मिलोस, फर्केर फेरी यहि घरमा जन्म लिन आउनु भन्ने जस्ता कुराहरु गित मार्फत भनिन्छ।
चांदामा राख्ने पैसा र स्जम: मृतकलाई आँगनमा ल्याए पछि गाउँ भरिका मानिसले आएर मृतकको निधारमा केहि पैसा राखी दिने चलन छ जसलाई “चांदामा राख्ने पैसा” भनेर भनिन्छ भने लाश राखेको मान्द्रोमा केहि अन्न राखिदिने चलन छ जसलाई “स्जम” अर्थात् खर्च भनेर भनिन्छ। यसो गर्नुको कारण केहो भने निधारमा राखेको पैसाले मृतकको काजक्रिया लाग्ने खर्चमा सहयोग हुन्छ भने लाशमा राखिने अन्न चाँही गाउँका मानिसहरुले आफ्ना मृत्यु भएका पूर्वजहरुलाई मृतक मार्फत नासोको रुपमा खर्च पठाई दिएको मानिन्छ। यसका साथै मृतकको प्रिय कुराहरु जस्तै उसलाई मन पर्ने पहिरन, भाँडा आदि पनि संगै राखी दिने चलन छ, जसलाई मृतकको “संगाती” भनेर भनिन्छ ।
लाश लैजाने विधि: त्यस पछि लाशलाई उठाएर बाटो कपडालाई लाशको अगाडी अगाडी लगेर सतबिज छर्दै गाड्ने वा जलाउने ठाउँ तिर बिपे बाजा बजाउदै लगिन्छ भने मलामी जानेहरु लाशको पछि हिड्छन जसमा पुरुषहरु अगाडी र महिलाहरु पछि हुन्छन। यस क्रममा बाजा चाँही डाँडा वा खुल्ला ठाउँ तिर मात्रै बजाइन्छ भने गहिरा वा खोल्सा तिर बाजा बजाइदैन। यसमा घरका छोराहरूले पहिले लाश उठाउँछन् जसलार्इ काँध हाल्ने भनिन्छ त्यस पछि नजिकका वा आफन्तीहरूले पनि पालैपालो काँध दिने चलन छ ।
गाड्ने वा जलाउने: ठाउँ अनुसार कतै मृतकलाई गाड्ने वा कतै जलाइने गरिन्छ । जसमा जति उत्तर तिर गयो त्यति धेरै गाड्ने चलन छ भने जति दक्षिण तिर गयो उति बढी जलाउने चलन पाइन्छ। मेरो गाउँको हकमा भन्नु पर्दा ९५% गाड्ने गरिन्छ। बन तिर कुनै दुर्घटनामा परेर मृत्यु भएका वा मृतकले मृत्यु भन्दा पहिले जलाउने चाहना राखेको भए मात्रै जलाइन्छ। लाशलाई सेलाएर आई सके पछि बेलुकी घरमा खरानी वा मसिनो पिठोलाई मृतकको नाममा नाङ्ग्लोमा राखेर मानिसले नछुने ठाउँमा राखिन्छ र भोलि पल्ट बिहान हेर्दा यदि त्यसमा कुनै चिन्ह भएमा मृतकको आत्मा घुमेर घरमा आएको बिश्वास गरिन्छ।
झाँक्री, जैसी, नचारु र झोल्यानीहरुको मृत्यु संस्कार: सामान्य व्यक्तिहरुको भन्दा झाँक्री, जैसी, नचारु र झोल्यानीहरुको मृत्यु संस्कार केहि फरक हुन्छ। जसमा बिशेष गरेर झाँक्रीहरुको मृत्यु संस्कार धेरै फरक छ। जसमा झाँक्रीहरु आएर आफ्नो बिधिबिधान अनुसार मृत्यु संस्कार गर्दछन र घर देखि झाँक्रीलाई गाड्ने ठाउँ सम्म नाँचेरै जाने गर्दछन भने गाडी सके पछि पनि मृतक झाँक्रीको मठ (चिहान) लाई नौ पटक नाँचेर घुमाउने गर्दछन। यसका साथै सामान्य व्यक्तिहरुलाई भुइमा सुताएर गाडिन्छ भने झाँक्रीहरुलाई चाँही बसेको मुद्रामा उत्तर दिशा तिर फर्काएर गाडिन्छ, त्यसैले झाँक्री चिहानलाई मठ भनेर भनिन्छ। त्यस मठमा झाँक्रीको पोशाकका केहि सामाग्रीहरु पनि राखिदिने गरिन्छ।
यसै गरि जैसीहरुलाई पनि चिहान माथि उनीहरुको पात्रोहरु राखी दिने गरिन्छ जसबाट त्यो चिहान जैसीको रहेछ भनेर चिन्न सकिन्छ। त्यसै गरेर नचारु नाँचमा गएका पुरुषहरुलाई मृत्यु संस्कारमा नचारु बाजा बजाएर नचारु नाँच नाँची दिने चलन छ भने झोल्यानी गएका महिलाहरुलाई झोल्यानी गित गाईदिने चलन पनि छ। यसका साथै नचारूको चिहानमा नचारु जाँदाको नचारू पोषाक पनि राखिदिने चलन छ जसबाट त्यो चिहान नचारु नाँच नांचेको व्यक्तिको रहेछ भनेर चिन्न सकिन्छ।
क्रिया बस्ने: मृतकको अन्तिम संस्कार गरि सके पछि खोलामा गएर मृतकका आफन्तहरुले कपाल खौरेर सामान्य क्रिया बस्ने चलन छ। जसमा पहिले पहिले १३ दिन सम्म क्रिया बस्ने चलन थियो भने अहिले यो ३ दिनमा गर्दा पनि हुने गरेको पाइन्छ। क्रिया बस्नेले उक्त अवधि भरि नुन बार्ने चलन छ। यो अवधि सकिए पछि नुन खाने फुकुवा हुन्छ।
दुख फाल्ने वा सुधुरी: मृत्यु पछि मृतकको नाममा एउटा बिशेष कर्मकाण्ड गरि दुख फाल्ने काम गरेर कर्मकाण्ड समापन गरिन्छ जसलाई “सुधुरी” भनेर भनिन्छ। जुन काम क्रिया सकिएको दिन देखि ६ महिनासम्ममा पनि गरिन्छ । जसमा टाडाका आफन्तहरुलाई समेत बोलाइने गरिन्छ। सम्भव भएमा यो कर्मकाण्ड क्रियाको अन्तिम दिनमै गरिन्छ तर कुनै कारणबस सुधुरी गर्ने दिन लम्बिन गएमा एकजना छोराले उल्टो टोपीमा सेतो कपडाले सिलाएर दुख नफाल्दा सम्मलाई त्यो टोपी लगाएर दुख बोक्नु पर्दछ । यसबाट त्यो ब्यक्तिले कसैको दुख बोकेको रहेछ भनेर चिनिन्छ । यो प्रचलन बिशेष गरेर पहिले पहिले धेरै हुने गर्दथ्यो किनभने पहिले पहिले भेडा लिएर हिउँदमा औलो तिर झरेका भेडा गोठालाहरु ५-६ महिनामा बल्ल घर फर्किन्थे, त्यस्तो अवस्थामा सबै परिवार मिलेर मृतकको सुधुरी गर्न तत्काल सम्भव नहुने भएकोले त्यस्तो गरिन्थ्यो तर अहिले भेडा पालन र औलो झर्ने चलन पनि हराउदै गएकोले यस्तो प्रकारको लामो सुधुरी परम्परा पनि हराउदै गएको पाइन्छ।
सुधुरी गर्दा एउटा भेडा र भाले मार्फत गरिन्छ जसलाई मृतकको “झुसे” भनिन्छ। सुधुरीको दिन एकाबिहानै मृतकको नाममा सम्पूर्ण अन्नपातहरु मिसाएर मृतकको लागि बिशेष खाना तयार पारिन्छ र त्यस परिकार सहित भालेलाई कुनै चोखो ठाउँमा लगेर “अब तिमि परमात्मा बनि हाम्रो पित्रिमा परिबर्तन भयौ, त्यसैले अब देखि हामीसंग तिम्रो भौतिक सम्बन्ध सकियो, जहाँ बास गरे पनि तिम्रो आत्मालाई शान्ति मिलोस” भनेर मृतकको नाममा पूजा गरेर मृतकसंग अन्तिम बिदावारी गरिन्छ। त्यस पछि “झुसे” भेडालाई धजा बाँधेर लादनमा (भेडाले भारि बोक्ने थैली) विभिन्न अन्नपातहरु मृतकको अन्तिम भागको रुपमा हालेर दमाहा र सहनाई बजाउदै झुसे काट्ने ठाउँमा लगेर काटिन्छ। यति गरि सके पछि एउटा व्यक्तिको जन्म देखि मृत्यु सम्मको सम्पूर्ण कर्मकाण्डका संस्कारहरु सकिन्छन्।
स्यो र गाँस : सुधुरी गर्दा गाउँलेहरुले एक माना बटुकोमा नछानेको जाँड र गाउँ चलेको रेट अनुसार केहि पैसा लगेर दिने चलन छ। उक्त जाँडलाई “स्यो” र पैसालाई “गाँस” भनेर भनिन्छ। यसमा “स्यो” को अर्थ मिसिने वा मिसाउने हुन्छ भने “गाँस” को अर्थ गाँस्सिने वा जोडिने हुन्छ । यसको उद्देश्य सुधुरी खर्चमा सबैले मिलेर सहयोग गर्नु हो। सुधुरीमा स्यो र गाँस ल्याउनेलाई सुधुरी क्रिया सकिए पछि एउटा चिल्ले रोटी र एउटा पाटे रोटी लगिदिने चलन छ।
सतिगति सामग्री: कतिपय उमेर पुगेका बुढाबुढीहरुले मृत्यु संस्कारमा चाहिने सामग्रीहरु पहिले नै आफैले जोहो गर्ने पनि गर्दछन। जसमा बाटो कपडा किनेर राख्ने, मर्दा खेरि लगाएर जाने कपडा बनाएर राख्ने, मान्द्रो, लाश बोक्ने काठ आदि पहिले नै तयार गरेर राख्ने पनि गर्दछन। यो पनि एउटा अनौठो चलन नै देखिन्छ जसलाई गोराहरूले मर्नु भन्दा पहिले देखि नै Funeral Insurance गरे जस्तो भन्दा सायद फरक नपर्ला।
प्रकृति पूजक मगर समाजको गठन किन ?
१८ मगरात तिरका प्रकृति पूजक मगरहरुको धर्म संस्कार सम्बन्धि यी कुराहरुलाई मैले यहाँ एकदमै संक्षेपमा लेखेको हुँ। यी सबै परम्परा र संस्कारका बिधिबिधानहरु व्यावहारिक (Practical) रुपमा गरिने भएकोले मगर संस्कारका यी बिधिबिधानहरु सन्तान दरसन्तान व्यावहारिक रुपमै हस्तान्तरण हुदै गएको पाइन्छ। व्यावहारिक रुपमा हस्तान्तरण हुने बिधिबिधान भएकोले यसको कुनै लिखित दस्तावेजहरु पनि छैनन्। चेतना र शिक्षाको अभावका कारणले अन्य धर्ममा झैँ यस धर्मको कुनै लिखित ग्रन्थहरू नभएता पनि झाँक्रि र जैसीहरूको पुराना थाती पोस्तोकहरूलार्इ संकलन गरेर लेखेमा यसको पनि धार्मिक ग्रन्थहरू तयार हुने देखिन्छ । किनभने झाँक्रि बस्दा झाँक्रीहरूले भन्ने कथामा सिर्जना उब्जना (सृष्टि) देखि सम्झेपानी बिर्सेपानी (मर्ने बेला) सम्मका कथामा मानव सिर्जना देखि लिएर मृत्यु हुने बेलासम्मका कुराहरू भन्ने गरिन्छ । यस्तै कुराहरूबाट नै कुनै धर्मको मुल्यमान्यताहरूलार्इ ब्याख्या गरेर त्यसका दर्शन शास्त्रहरू लेखिने कुरा हो । यसका साथै अहिले बसाई सराई र ग्लोबोलाइजेसन जस्ता कारणले अहिलेका मगरहरु पहिलेको झैँ आफ्नो पुरानै थातथलोमा बसिरहने नभएकोले आफ्नो पुरानो थातथलो छोडेर जाने मगरहरुले आफ्नो मौलिक धर्म संस्कार पनि बिर्सदै जाने क्रम शुरु भएको पाइन्छ। यसै कुराहरूलाई मध्यनजर गरेर अब मगरहरुको मौलिक प्रकृति पूजक धर्म संस्कारलाई पनि लिखित रुपमा उतारेर दस्तावेजीकरण गर्नु पर्दछ भन्ने उद्देश्य सहित हालैमा प्रकृति पूजक मगर समाजको गठन नेपालमा भएको छ। आशा छ प्रकृति पूजक मगर समाज नेपालले लोपोन्मुख हुदै गरेको यस मगर धर्म संस्कारलाई छिटै लिखित रुपमा दस्तावेजीकरण गरेर यसलाई लोप हुनबाट जोगाउने भूमिका खेल्नेछ र यसको लिखित दस्तावेज मगरहरुको मौलिक धर्म संस्कार प्रति चासो र रुचि राख्ने देश बिदेशमा छरिएर रहेका मगरहरुलाई पनि प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछौ ।
प्रतिक्रिया दिनुहोस