काबुल विमानस्थलमा फेरि हमला हुने सूचना पाएको भन्दै अमेरिकाले जारी गर्‍याे चेतावनी


भदौ ११, काबुल । अफगानिस्तानको काबुल विमानस्थलमा थप बम हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ।

बिहीबार साँझ भएका भीषण विस्फोटमा परी हालसम्म १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी सेनाले काबुल विमानस्थलमा थप हमला हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताएको हो।

अमेरिकी कमान्डरहरु अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका हुन्।

‘सावधानीका साथ हामी हरसम्भव प्रयास गरिरहेका छौँ, हमलाको सामनाका लागि तयार छौँ’, उनले भनेका छन्। बिहीबार भएका विस्फोटको जिम्मा इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ।

यसैबीच तालिबानले बिहीबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणमा अमेरिकी भन्दा धेरै आफ्ना सदस्यहरु मारिएको बताएको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार काबुल विमानस्थलमा भएको हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका छन्।

तालिबानका एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा अमेरिकन भन्दा धेरै हाम्रा मानिसहरु मारिएका छन्।’ यो हमलापछि पनि उनले अमेरिकी सेनाले ३१ अगष्टपछि अफगानिस्तामा रहनुपर्ने कुनै आवश्यकता नरहेको बताए।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ९० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन्। ‘हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ’, बाइडेनले भनेका छन्।

बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले बताएका छन्।

‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ’, उनले भने। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै अगाडि भने, ‘हामी आतंकवादीहरुसँग डराउने छैनौँ।’

११ भाद्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको