को हुन कृष्णसेन इच्छुक ?


कृष्ण सेनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाई सरे । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको जन्म भारतको देहरादुनमा २०१३ साल कार्तिक ३ गते पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो ।

कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुक द्वन्दकालमा राज्य पक्षबाट मारिएका थिए।

इच्छुकले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श मा.वि.मा पढे । कक्षा ९ र १० दाङ जिल्लाकै लालमटियास्थित श्री सरस्वती हाइस्कुलमा पढे । उनले २०३२ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गरे । एस.एल.सी. पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थाले । काम गर्दागर्दै उनले स्वध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी.एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एम.ए. अध्ययन गर्न थाले तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाई पुरा गर्न सकेनन् ।

कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भएको थियो र उनीहरूको कोखबाट छोरी समीक्षाको जन्म भएको छ ।

जनयुद्द जस्तै जनसाहित्यमा पनि कृष्णसेन इच्छुकको योगदान महत्त्वपूर्ण छ । उनले २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति‘ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका थिए । उनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखे जो २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भएको थियो ।

जेल जीवनका क्रममा लेखिएका सुविख्यात पत्रकार कृष्णसेन इच्छुकका रचनाहरू इतिहासको यो घडिमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृतिहरू उत्तिक्कै प्रख्यात छन् जति जुलियस फ्युचिकले हिटलरको गेस्टापोले दैनिकरूपमा दिने गरेको दानवीय यातना सम्वन्धी जेलमा लेखिएको ‘झुण्डयाउँदा झुण्ड्याउँदै’ कृति प्रख्यात रहेको छ।

राजनैतिक जीवन

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्योल । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

स्कूल पढ्दादेखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखि उनले दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी क्म्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको सम्त केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए ।

कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी नेपाली दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार थिए । साथै, उनी जनयुद्धका योद्धा पनि थिए । उनी शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने, राजनीतिक विचारक तथा सशक्त माधवअधिकारवादी थिए ।

जनताका पक्षमा लाग्ने कृष्ण सेनको लेखक, पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निरङ्कुश शासनतन्त्रले देख्न सकेन । परिणामस्वरुप पटकपटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरियो ।

४६ वर्षको जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर उनी मरे ।

उनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ। प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ। जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्या्उने व्यक्तित्वलाई प्रदान गरिने भनिएको यी पुरस्कारहरूको पुरस्कार राशि क्रमश एक लाख रूपैयाँ र २५ हजार रूपैयाँ रहेको छ। त्यसका अतिरिक्त प्रतिष्ठानले इच्छुक द्वारा सृजना भएका ग्रन्थहरूको प्रकाशन तथा प्रसार गर्ने गर्दछ।

उनका कृतिहरु शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८), पर्खालभित्रका बन्द आवाजहरु (प्रकाशनमा नआएको) रहेका छन् । इक्छुकले पुरस्कार तथा सम्मान पनि पाएका थिए, जसमा राप्ती साहित्य-सन्ध्या पुरस्कार (२०५७), स्रष्टा पुरस्कार (२०५८), साहित्य सङ्गम चितवन सम्मान (२०५८), प्रगतिशील लेखक सङ्घ नेपाल सम्मान (२०५९), पारिजात सिर्जन पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५८) पाएका थिए ।

स्रोत :नेपाली विकिपिडिया

१३ जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको