भीड बिराला


भीडमा म कराए
मुसाहरु घर भत्काउन लागे
मलाई केही देऊ
भीडले मलाई सेता बिराला दिदै संझायो

सेतो शान्तिको प्रतिक हो
मैले सोचे :
अब मुसाहरु शान्त हुनेछन
केहि हराउने छैन

केहि समय पछि
गेडागुडी हरायो कि हरायन थाहा भएन

तर मेरा सेता हिमाल,
घाम, जुन, अनि सेता ताराहरु हराउन थाले
जबकी म सँग सेता बिराला थिए ।

म भीड सँग कराए
सेतो बिरालाको काम छैन
भीडले मलाई नीलो बिराला दिदै संझायो
नीलो निश्छलता विशालताको प्रतिक हो

मैले सोचे : नीला जति राम्रा
हाम्रा अरु बिराला हुनैसक्दैन्न
जब नीला बिराला आए

मेरा नीला निश्छल नदी,
अनन्त नीला आकाश हराउन थाले
जबकि म सँग नीला बिराला थिए ।

म भीड सँग कराए
नीला बिरालाको काम छैन
भीडले मलाई काला बिराला दिदै संझायो

कालो कालीको प्रतिक हो
काला जादू सैतानी शक्ति चिन्न,
छिन्न – भिन्न पारी हटाउन मेटाउन सक्छ
मैले सोचे : काला जति राम्रा

हाम्रा अरु बिराला हुनैसक्दैन्न
काला बिराला आए सँगै

पुस्तकको काला अक्षर
अनि शान्त काला रात हराउन थाले
जबकी म सँग काला बिराला थिए ।

म भीड सँग कराए
काला बिरालाको काम छैन
भीडले मलाई राता बिराला दिदै संझायो
रातो क्रान्तिको प्रतिक

शान्तिको जननी हो
मैले सोचे: राता जति राम्रा
हाम्रा अरु बिराला हुनैसक्दैन्न

राता बिराला आए संगै
राता रक्त-कोषहरु हराउन थाले
जबकि म सँग राता बिराला थिए ।

म भीड सँग कराए
राता बिरालाको काम छैन
भीडले मलाई छिर्केमिर्के बिराला दिदै संझायो

विभिधतामा एकताको प्रतिक हो
रङ्गी-चङ्गी बिराला आए सँगै
रङ्गी-चङ्गी फूल

अनि सबै रंगहरु
भरंग हुदै
पृथ्वीका पत्र-पत्र उमकिदै हराउन थाले
जबकि म सँग सबै रङ्गका बिराला थिए ।

१५ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको