हुम्लामा सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो


असोज १०, काठमाडौँ । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाँणलाई बुझाए। प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनु भएको छ। यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै मन्त्री खाँणले भने, ‘अध्ययनमा यहाँहरूले औल्याउँनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ’

मन्त्री खाँणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिए। अध्ययन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उनले बताए। अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले प्रतिवेदनका निष्कर्ष र सुझावबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए।

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए। मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो।

१० आश्विन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको