बैशाख १३, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन्।
सोमबार विज्ञप्ति जारी गर्दै प्रचण्डले कोरोना भाइरसका कारण देशमा भयावह अवस्था सिर्जना हुनसक्ने भन्दै शिलान्यास र उद्घाटन छाडेर जनताको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्।
‘स्वास्थ्य सेवा प्रभावकारी बनाइ जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ। म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु,’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपिल गरेका छन्।
साथै उनले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई स्वयंसेवीका रुपमा करोना महामारीविरुद्धको लडाईंमा जुट्न पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस