ओली पक्षसँग कुनै पनि हालतमा एकताको सम्भावना छैन: प्रचण्ड

फाइल तस्बिर

फागुन १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग कुनै पनि हालतमा अब एकता हुन नसक्ने बताएका हुन्।

‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ । संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ । उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?,’ प्रचण्डले भने।

उनले अन्य पार्टीसँग समझदारीका साथ काम गर्ने उल्लेख गरे । संवादकै क्रममा उनले आफूले कुनै विलासी जीवन नबिताएको बताए । उनले आफूले यस्तो आरोप नस्वीकार्ने पनि बताए ।

उनले भने, ‘मेरो श्रीमतीको हालत कुन अवस्थामा छ, दुनियालाई थाहा छ । के म विलासी जन बाँच्न सक्छु ?’

उनले पछिल्लो राजनीतिक अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै गल्ती नभएको बताए । उनले यस विषयमा आफूहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए ।

प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरे । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्ने बताए ।

आफूले देश, जनता र लोकतन्त्रको हितबाहेक कुनै सम्झौता नगर्ने दाबी गरेका थिए ।

१४ फाल्गुन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको