फागुन १४, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्।
शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका हुन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताए। अविश्वास प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने उनले बताए।
उनले भने ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन्, संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन्। तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन्।’
ओलीले पदबाट राजीनामा नदिने पनि उनले स्पष्ट पारे। संसदमा अविश्वास प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ।
उनले भने ‘सडकमा भुस्याहा कुकुरजस्तो कराउनेले नारा लगाउँदैमा केपी ओली आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनु हुने छैन, म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु ।’
उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएको भन्दै आफूहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए।
सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पुर्याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने उनले टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस