नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्छ: प्रचण्ड

फाइल तस्बीर

कात्तिक ८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन्।

सोमबार नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन्।

नेपाल-भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले सीमा समस्यालाई संवादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे।

‘मोदीजीले जसरी आएर संविधान सभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी ताली। यसो हेर्दा त ताली लगाउनुपर्ने कुरा त होइन। सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि। उहिले नि थियो। अहिले नि छ, भोलि नि हुन्छ। तर हामीले ताली लगाइयो त्यहाँ। बडो उत्तेजित भइयो खुसी भइयो। यो कुराको हिसाब चाहिँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई। नेपालीहरू बुद्ध नेपालमा जन्मेका हुन् भन्दा खुसी हुन्छन्। जन्मिएकै हुन् नि त्यत्रो ठूलो उत्पात त हुनुपर्ने कुरो होइन। तर नेपालमै जन्मिएका हुन् भन्दामात्रै बल्ल खुसी भइन्छ। कसैले अर्को कुनै भाषा प्रयोग गर्यो बुद्धले बुद्धत्व प्राप्त गरेको त भारतमा हो नि भन्यो भने त्यति मिठो लाग्दैन। जन्मिएको त नेपालमै हो नि भन्न मन लाग्छ,’ उनले भने, सिमानाका जे-जे हामीले पहिलेदेखि भनेका छौं समस्या छन्। ती संवादको तरिकाले उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन्। हामी मिल्नुको विकल्प छैन।’

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए। नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको सुरूआत गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे।

उनले भने, ‘यदि नेपालको नेसनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ। नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेसनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्धत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ। एक अर्काको नेसनल इन्ट्रेष्ट सर्भ गर्‍यो, एक अर्कालाई मद्धत गर्‍यो भने त्यहीँनिर सम्बन्ध सुदृढ भएर जान्छन्। नेपालको नेसनल इन्ट्रेष्ट र भारतको नेसनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरूआत गरियो भने दुनियाँको कुनै पनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन। हामी सबै त्यतैतिर लागौं।’

८ कार्तिक २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको