मगर समुदाय भित्रको बुढा थर कसरी रहन गयो ?


पृथीछक बुढा मगर,
बुढा थरको ईतिहास जुम्ला राज्यको ईतिहाससंग जोडिन्छ । यो एउटा सैनिक पद हो । लडाकु पद हो । बुढा वा बड्डा मगर भाषाको शब्द होइन, खसकुरा हो । सिनियर मान्छेलाई यो शब्दको प्रयोग गरिन्छ ।

धौलागिरी हिमश्रृङ्खला अन्तर्गत पुथाहिमालको नजिकै एमाखार र पेल्मा भन्ने गाउँ छ । जसलाई इतिहासकार बमकुमारी बुढाले मगरहरुको सभ्यताको उत्पति थलो मान्नुहुन्छ । त्यस एमाखार र पेल्मादेखि पश्चिममा मैनाम भन्ने गाउँ छ, जो पुन मगरहरुको उत्पतिको थलो पनि हो । मैकोट देखि पश्चिमममा उनाम गाउँ छ जहाँ देउपहारे बुढा र घर्तिहरुको बसोबास छ भने उत्तरपश्चिममा घानाम गाउँ छ जहाँ केही दलित र बुढा मगरहरुको बसोबास छ । यी तीन गाउँलाई दुई तर्फबाट बग्ने सानी भेरीले बिभाजन गरेको छ । घानाम, मैनाम र उनाम मध्ये घानामको नाम पछि “रैमा” भयो । यो कसरी भयो ? बुढाहरुको ईतिहास यहि रहस्य भित्र लुकेर बसेको छ ।

घानाम गाउँको नाम “रैमा” कसरी रहन गयो ? ईतिहास तर्फ जाऔं: त्यतिखेर जार काट्ने जमाना थियो । अर्काको श्रीमती बिबाह गरिसकेपछि जार कहलिने चलन थियो । अहिले भुमे गाउँपालीकाको “काक्री” भन्ने गाउँमा एकजना “कादुल्या” नाम गरेका बुढा मगरका पुर्खाले जारिक्यानी बिबाह गरेको पाइन्छ । त्यसरी बिबाह गरिसकेपछि जारबाट काटिने संभावना रहेकाले उनले श्रीमती लिएर गाउँबाट भागेर जुम्ला पुगे । जुम्लामा उनी जुम्ली राजाको सेनामा भर्ना भए । यो विशाल सिञ्जा साम्राज्यको पतन भएपछि वि. सं. १४५५ पछिको घटनाक्रम देखिन्छ ।

त्यतिखेर विभिन्न राज्यहरुको बीचमा लडाइँहरु हुने गर्दथ्यो । लडाइँमा जाने वेला सबै लडाकु सेनाहरुले भाला, तरवार र खुकुरीहरु रोज्न थाले । तर बुढाहरुको पुर्खाले भाला तरवार नरोजेर १२ हाते लट्ठी र एउटा ढालको माग्नु मागे । त्यो देखेर भर्खरैको भगाएर ल्याएको श्रीमतीलाई चिन्ता लाग्छ । उनले “नामर्द यो लट्ठिले के युद्ध गरौला, मलाई यो बिरानो मुलुकमा बितरा बनाउने भयौ” भनेर बिलौना गरेको बुढापाकाले सुनाउनु हुन्छ ।

जब घनघोर लडाइँ भयो, हातमा तरवार र भाला नभएकाले शत्रु सेना कादुल्या तर्फ सोझिएछ । उनिहरुले प्रहार गरेको तरवार रोक्दा रोक्दै ढालमा प्वाल पर्न गएछ । तब उनले पिठो पिस्ने “जातो” टिपेर ढालको रुपमा प्रयोग गरे । जातोमा परेका सबै तरवार भाच्चिसकेपछी कादुल्याले आफ्नो हातको १२ हाते लट्ठि घुमाएछ । भनिन्छ, लठ्ठि घुमाउदा त्यसको तिब्र गतिले गर्दा हावामा एक खालको ध्वनी उत्पन्न भएको थियो रे । त्यो लठ्ठि घुमाउन सक्ने कला भएको मान्छेलाई “पत्ता रैसिउ” भनिन्छ । भनिन्छ, कादुल्या बुढा त्यो “पत्ता” मा अब्बल थिए ।

लडाइँ जिते । त्यसपछि लासहरु जांच्न राजाको उपस्थिति भएछ । युद्ध मैदानमा भाला र तरवारले काटिएर मारिएकाहरु भन्दा लठ्ठिले पिटेर मारिएका लाशहरु बढी देखेपछि राजाबाट त्यो लठ्ठि चलाउने मान्छे मेरो अगाडी हाजिर होऔ भनेर आदेश जारी भएछ ।

राजाको आदेश पाउना साथ कादुल्या आफ्नो १२ हाते लठ्ठी र ढालको रुपमा प्रयोग गरेको जातो लिएर उपस्थित भएछ । त्यहीबेला राजाले तिमी आजदेखि मेरो सैनिकको बुढा भयौ । त्यतिखेर अहिलेको जस्तो सैनिक पदहरु थिएनन् । सैनिकको उपल्लो दर्जाको पदलाई काजी, थापा वा बुढा भनिन्थ्यो । नेपालमा सैनिक पद जंगलबहादुर राणाको इष्ट इण्डियासंगको सम्बन्ध र उनको बेलायत भ्रमणपछि मात्रै भित्रीएका थिए । तर सबै बुढा मगरहरु कांधुल्या बुढाका सन्तानहरु थिए भन्ने मेरो तर्क होइन, यस्तै बुढा पद पाउने मगरहरु अरु पनि थिए होलान् । खोज्दै गयो भने रहस्य खुल्दै जाने हो ।

राजाले “ल भन तिमी के बक्सिस माग्छौ” भनेर सोधनी भएछ । तब भर्खरै बुढा पद पाएको कादुल्या बुढा मगरले आफ्नो लागि एउटा सुरक्षीत ठाउँमा बस्ती बसाईदिने माग गरेछ । तत्कालै दलबल सहित जुम्ला राजाले त्यो सुरक्षीत ठाउँको खोजीमा पठाएछ । ठाउँ खोज्दै आउने क्रममा “मलैपो” भन्ने लेकमा पुग्दा तल ओखर र सल्लाको जंगलको ठाउँलाई रोज्दै भनेछ- “त्यो मेरो बस्ती हुनेछ ।” त्यहाँ पहिल्यै बस्ती बसिसकेको थियो । त्यस बस्तिको नाम घानाम थियो । चारैतिर देखिने ठाउँ भएकोले कादुल्या बुढाले मलैपो लेकबाटै खाम कुराबाट त्यस बस्तिको नाम “रैमा” राखे । त्यसपछि “सिरि” लाई आफ्नो घामथालाको रुपमा दाबी गरे । सिरिमा पनि मयाङ्गिहरुको बस्ती बसिसकेको थियो । मयाङ्गिहरुलाई “रां” भनेर चिनिन्छ । उनिहरुले प्रयोग गरेका ठुल्ठुलो ढुंगामा खोपिएका ओखलहरु अहिले पनि सिरीमा देख्न सक्छौं । बलै अहिले त्यहाँ बस्ती छैन ।

दलबल सहित आएका कादुल्या बुढालाई देखेर तत्कालिन घानामका मान्छेहरुको भागाभाग भएछ ।

केहि समयपछि सन्तानहरु भए । सन्तानलाई बिहेबारी गर्न समस्या पर्‍यो । त्यसपछि त्यहाँबाट भागेका तत्कालिन घानामेलीहरुलाई खोज्ने काम भएछ । यसैक्रममा ती घानामबाट भागेका मानिसहरु “कोइपा” भन्ने ठाउँमा लुकेर बसेको अबस्थामा भेटिए । तर रैमालीहरु आएको देखेर भाग्न खोज्दा एकजनालाई समातेर ल्याएर छोरी बिहे गरिदिए । जसलाई रैमालीको घरदेखि तल्लो ठाउँमा बस्न दिइयो । त्यही घनामेलीको सन्तानहरु तल्लो भागमा बस्ने हुनाले तलिबारे भनेर बोलाउन थालियो । अहिले पनि उनिहरुको साखासन्तानलाई तलिबारे भाइ नै भनिन्छ ।

बिस्तारै रैमाको बस्तिमा कादुल्या बुढाको साखासन्तानहरु फैलिन थाले । फैलिएर रोक्या भाई, परागु भाई, एम्टरबार्या भाई, घ्वादु बार्या भाई गरि जम्मा चार भाईमा बिभाजन भयो । गाउँको बीचमा चौतारी छ, गाउँलाई दुई भागमा बिभाजन गरिएको छ, डाडा गाउँ र घैरी गाउँ ।

डाडा गाउँमा रोक्या भाइ र परागु भाईको बस्ती छ भने घैरी गाउँमा एम्टरबार्या भाई, घ्वा दु बार्या भाइ र तलिबारे भाईको बस्ती छ । बाटो माथ्तिर बस्ने भाईहरुलाई एम्टरबार्या भाइ भनियो भने बाटो देखि तलतिर बस्नेहरुलाई घ्वादु बार्या भनियो । एम र घ्वा भनेको मगर खाम कुरामा बाटो हुन्छ । घ्वा दु भनेको बाटो मुनि हुन्छ भने एमटर भनेको बाटो माथी हुन्छ ।

डाडा गाउँमा रोक्या भाइ र परागु भाइ पहिले एकै थिए । पछि छुटेर रोक्या र परागु भए । घैरी गाउँमा पहिले एम्टर बार्या भाइ मात्रै थिए । पछि एम्टर बार्या भाईबाट छुट्टिएर घ्वा दु बार्याभाइ भयो । जेठा पट्टिको मुल भाइ एम्टरबार्या हो । म एम्टर बार्या भाई खलकको हुँ ।

एम्टर बार्या भाइ फेरि छुटेर नयाँ तीन भाई भएको तीन बर्ष जति भयो । भाइ जतिजती मौलिदै जान्छ, छुट्टिने चलन छ । नयाँ भाईहरुमा एम्टरबार्या भाइ, धामी पट्टि, कान्छी भाइ, धेम्यानी पट्टि भएका छौँ । जेठापट्टिका छोराहरु हामी एम्टरबार्या नै छौँ । धामीका साखाहरु धामी पट्टि भए । धेम्यानीका साखाहरु धेम्यानी पट्टि भए । बाकी रह्यो कान्छी भाइ । कान्छी भाइ र मेरो साखा एउटै हागा हौं । तर उनका दुई श्रीमती थिए । हामी जेठिका सन्तान हौं भने कान्छिका साखाहरुलाई कान्छी भाइ भनिएको छ । हामी जेठि पट्टिकाहरु एम्टरबार्या भाईमा यथाबत छौं । यसरी एउटै खलकका साखाहरु अहिले ८ भाई भएका छौँ । यसबाट मगरहरुका कसरी ११ सय थरहरुमा बिभाजन भए भन्ने कुराको जवाफ सजिलै पाउन सकिन्छ । जवाफ हाम्रै बीचमा छ, कोठे अनुसन्धान र कुनै लेख वा सोधपत्रमा उल्लेखित एउटा शब्दमा टेकेर धारणा बनाउनु न्यायोचित कुरो होइन । फिल्डमा गएर अध्ययन गर्न जरुरी छ ।

 

 

११ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको