फेरी कहिल्यै नआवोस त्यस्तो भूकम्प


किवर्डमाथि एकसुरले व्यस्त औंलाहरु अचानक टक्क अडिन्छ्न र स्क्रिनबाट नजर हटाउन बाध्य हुन्छु म । सामुन्ने टेबुलमाथि पल्टिँरहेको मोबाइलमा आँखाहरु ठोक्किन्छ्न । भाईबर कल थियो, रिसिभ गर्छु। त्यहाँको माहोल कोलाहल र चित्कारपूर्ण सुन्छु । हेल्लो, हेल्लो यहाँ ठूलो भुइचालो आयो। कत्रो? नब्बे सालको जत्रै अरे, त्यो अत्यासपूर्ण आवाजले म झस्किईन मात्रै, मेरो शरीरका रौंहरु ठाढा- ठाडा भए । मेरो निकट साथिसंगको त्यो अनौपचारिक वार्ता त्यतिमै टुङ्गिन्छ। नब्बे सालको भुइचालो भन्नू बित्तिकै बाल्यकालमा बाजेको आछु-आछु पार्ने कहानिको याद आयो। नेपालको पूर्वी भागलाई केन्द्र बनाएर आएको त्यस भूकम्पको केही असरहरु अझै देख्न पाईन्छन हाम्रो भेगतिर।

लगत्तै मेरा आँखाहरु फेसबुक चहार्न आतुर हुन्छन, जसै म त्यहि पुगिसकेको हुन्छु।
पहिलो स्टाटस यस्तो भेट्छु ” नेपालमा प्रलयकारी भुकम्प, धरहरा ढल्यो, एक इतिहासको दु:खद अवसान।” यो देख्न बित्तिकै म झन अत्तालिन्छु, एक हिसाबले यो सब झुट त हैन जस्तो लागि रहेको थियो कता-कता मनमा । मोबाईल स्क्रोल डाउन गर्दै जान्छु, त्यस्ता स्टाटस कत्ती हो कत्ती भेट्न थाल्छु, केही बोल्न सकिरहेको हुन्न म, अक्क न बक्क। अचानक धरहरा पुरै तहस-नहस भएको तस्बिर देख्छु ।मेरो मन पनि उसै गरि तहस-नहस भई छाड्यो क्षणभरमै। अहिले सम्म धरहरा चढ्ने मेरो तिब्र चाहना तेसै-तेसै निराकार भएर गयो। मलाई ठुलो पश्चाताप भयो। गर्न चाहेको कुरा बेलैमा गर्नुपर्छ भन्ने सबक सिकेँ मैले। अफिसमा म र अर्को एक जना मात्र नेपाली, जो भ्यालीकै हुनुन्थ्यो, नाम रुपेश। म वहाँलाई अवगत गराउछु, भूकम्प आएर धरहरा ढलेको कुरा, पत्याउनै भएन, पत्याउनु पनि कसरी ? एकै चोटि धरहरा नै ढल्यो भन्ने कुरा गर्दा। वहाँलाई बिस्वस्त तुल्यान आफै अघि सरेर फोटो देखाएं, त्यसपछी वहाँ घरतिर परिवार र आफन्तलाई फोन गर्नैमा ब्यस्त हुनुभयो।फोन नलागेर बेला-बेला निराशपूर्ण आवाज सुन्न भ्याउथेँ वहाँको।

यति समय बितिसक्दा यो दु:खद समाचार भाइरल बनिसकेको हुन्छ जताततै। त्यही स्थानमा रहनेले जमीन र मानव निर्मित संरचनाहरु त्यतिधेरै क्षतविक्षत भएको देख्दा पनि देखेनन जत्ति मैले युएईबाट सामाजिक सञ्जालमा हेरिरहेको थिएँ ।यत्तिकैमा मलाई जिम्मेवारी दिइन्छ, अपरेसनमा भए जत्ती सबै नेपालिलाई खबर गरि घरको वास्तविकता बुझ्न भनिन्छ, म त्यसै गर्छु म्यानेजरको आदेश अनुसार। काममा दवाब नदिन पनि सुचित गरिन्छ, आ-आफ्नो डिपार्टमेन्टका हेडहरुलाई। प्रत्येक स्टाफको घरको हालखबर बुझ्नुमा म लीन भएँ, तर त्यो काम त्यति सजिलो कहाँ थियो र फोनमा सम्पर्क हुनै सक्दैनथ्यो। काठमाडौं, धादिङ, गोरखा र सिन्धुपाल्चोकका स्टाफहरु पनि हामीसंग
थिए। त्यो भयावह स्थितीबाट त्रस्त र आतङ्कित मनस्थितिलाई नियन्त्रण गर्न अथवा सान्त्वना र ढाडस दिन कम चुनौती थिएन। हाम्रो आसपास रहेका विदेशीहरु सबैले नेपाल र नेपालीहरुको लागि प्रार्थना गरिरहेका थिए। केही सम्पर्कमा आउन सफल स्टाफका परिवारहरुको भौतिक संरचना बाहेक अरु स्थिति सामान्य रहेको बुझियो, त्यसले थप मनोबल मिलेको थियो हामीलाई। परिवारलाई सम्पर्क गर्दै एकले अर्काको घरको हाल खबर सोध्ने, बुझ्नेक्रम जारी नै थियो। यही क्रमलाई भंग गर्दै मसंगै काम गर्ने एक जना फिलिपिनोले सोध्यो मलाई, व्ह्वाट अबाउट योर फामिली पदम ? म अमुक हुन पुगेछु, उसैलाई हेरेको हेर्‍यै भएछु। पुनः उसैले झक्झक्यायो मलाई, आर यु ओके पदम? म थोरै सम्हालीय । यति व्यस्त हुन पुगेछु कि मैले आफ्नो घर परिवार नै भुल्न पुगेछु। घरमा पटक-पटक फोन गरेँ, कुरा हुन सकेन कोहीसंग । लगत्तै अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका दुईजना भाईहरुलाई सम्पर्क गर्ने मेरो प्रयास पनि सफल हुन सकेन्। त्यसपछी कुनै नातागोताहरुसंग पनि सम्पर्क हुन सकेन । उता फेसबुकको वालभरी घाइतेको संख्या यति, मृत्यु हुनेको यति भनेर अपडेट आईनै रहेको थियो। यतिन्जेल म पसिनाले खलखली भईसकेको थिएँ। के गर्ने के नगर्ने मनमा एकतमासको हुटहुटी भयो। पूर्वतिरको अवस्था के छ कृपया जानकारी पाँउन। फेसबुकमा यस्तो स्टाटस अपडेट गरेँ। आत्तिनु पर्दैन। सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जानकारी हुन्छ एकैक्षणमा चिनेकै व्यक्तिहरुबाट । मेरो स्टाटसमा आएको ती कमेण्टहरुबाट केही हदसम्म मन शान्त भयो। त्यसपछी बीच-बीचमा सबैले आ-आफ्नो परिवारहरुलाई सम्पर्क गर्ने यत्न जारी रह्यो। बल्लतल्ल बेलुकीपख भाईहरुसंग मेरो सम्पर्क भयो। त्यो खुशीको क्षण बाँड्ने कसरी आईडीया नै भएन। भन्दैथिए भाईहरु कि, हामी त फूटबल ग्राउण्डमा पाल टाँगेर बसेका छौँ। रात पर्दा नपर्दा घरतिरको खबर सामान्य नै रहेको पनि भाईहरुबाटै पाउन सफल भएँ। त्यतिन्जेल बाँकी क्याम्पमा भएका लगभग सबै नेपाली स्टाफहरुको आफन्त परिवार जनस्ंग सम्पर्क भईसकेको थियो। भाग्यवस सबैको भौतिक क्षति मात्र भएको जानकारी पायौँ । एक हिसाबले मनको सन्त्रास, र भय त केही कम भयो तर भूकम्पले देशभरी पुर्‍याएको मानवीय र भौतिक क्षति मनभरी खेलीरह्यो रातभर।

भोलिपल्ट नेपाल गएर परिवारजन भेट्न इच्छुक स्टाफहरुलाई विना सर्त घर जान दिने निर्णय कम्पनीले गर्‍यो त्यो पनि निशुल्क हवाई टिकट उपलब्ध गराएर। त्यसपछी हामी कार्यरत कम्पनीमा एउटा फण्ड नै सञ्चालन गर्‍यौं र त्यसबाट हामीले केही रकम र लत्ताकपडा, कम्बल, ब्लाङ्केटहरु जम्मा गर्न सफल भयौँ। यस अवधिभरमा कम्पनीले पनि योजना बनाईसकेको रहेछ। मानव संसाधन बिभागबाट म्यानेजर नरेश सेन, केशव नेपाल र कम्पनीको सिइओ आफै एक टोली सहित भूकम्प प्रभावित क्षेत्रमा गई, स्थलगत अवलोकन र अध्ययन गरी आफ्ना प्रत्येक स्टाफहरुको परिवारहरुलाई भेटेर सान्त्वना मात्र नबाँडी, भौतिक क्षतिको अवस्था हेरेर कम्तिमा दश हजार नगद,लत्ताकपडा,पाल, स्लिपिङ बेड, लगायत अत्यावश्यक सामग्रीहरु वितरण गर्न सफल भयो। त्यो विपत्तिमा हाम्रो कम्पनीले गरेको त्यो सानो प्रयासले ती स्टाफहरुको परिवारजनको अनुहारमा ल्याएको खुशी कुनै पनि मूल्यवान वस्तुसंग तुलना गर्न मिल्दैन।

वैशाख १२/२०७२ को त्यो विनाशकारी भूकम्प सम्पूर्ण नेपालीहरुको लागि एउटा कालो दिन हो। हजारौँ घर विहीन भए, हजारौँ आफन्त विहीन त कतिलाई परिवारजन विहीन बनायो । त्यस विपत घडीमा दाताहरुले गरेको सहयोग पाउनु पर्ने व्यक्तिहरुले पाए या पाएनन। हाम्रा कति ऐतिहासिक साँस्कृतिक सम्पदाहरु जीर्ण अवस्था होलान अझै, जस्ले हाम्रो चिनारी र अस्तित्वसंग सिधा सरोकार राख्दछ। तीनिहरुको पुनः निर्माण भयो या भएन? जुन रुपमा हुनु पर्नेथियो। यसको लेखाजोखा सम्बन्धित कुनै न कुनै व्यक्ति वा निकायले गरेकै होला। खैर त्यसमध्य अहिले निर्मानाधिन धरहराको भने बजारमा सर्वत्र चर्चा छ। यसले पुरानो धरहराको तृष्णा मेट्न सक्छ या सक्दैन त्यो कुनै कालखण्डले बताउनेछ पक्कै तर पहिलाकै धरहरा चढ्ने त्यो मेरो रहर भने कहिल्यै पूरा नहुने गरी समाप्त भयो। धरहरा चढ्ने मेरो यत्रो सग्लो चाहना हुनुको पछाडि एउटा रहस्य पनि छ भनिहालौँ। त्यो हो रेडियोबाट बज्ने गीत,
‘काठमाडौंको बीचैमा धरहरा
पाए हुन्थ्यो मायाको सहारा।’

१२ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको