भारतमा एकैदिन थपिए झन्डै साढे ३ लाखमा कोरोना संक्रमित, २ हजार ७ सय बढीको मृत्यु


वैशाख १२, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।

पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ। शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय ६० जनाले ज्यान गुमाएका छन्।

अस्पतालमा संक्रमितको ‘सुनामी’ आइरहेका बेला अक्सिजनको हाहाकार भएको छ। बिरामीले खचाखच भरिएका अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुनय/विनय गरेका छन्।

उत्तरी भारतमा अस्पतालहरू सञ्चालन गरिरहेको म्याक्स हेल्थकेयरले शनिबार ट्वीट गर्दै आफूसँग दुई घन्टालाईमात्र पुग्ने अक्सिजन भएको जनाएको थियो। त्यस्तै फोर्टिस हेल्थकेयरले अक्सिजन नभएकाले दिल्लीका आफ्ना अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने जनाएको छ। केही अस्पतालहरूले ब्याकअपका लागि राखेको अक्सिजन दिएर धानेका छन्।

सरकारले टाढा-टाढाबाट दिल्लीमा अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल पठाएको छ। सिंगापुरलगायत देशबाट पनि भारतले अक्सिजन ल्याउन लागेको छ। श्वासप्रश्वासमा समस्या हुने भएकाले कोरोनाले गलेका बिरामीलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्छ। एकै समयमा धेरै बिरामीलाई भेन्टिलेटरमा राख्दा अक्सिजनको अभाव भएको हो।

दिल्लीका अस्पतालहरू यसै साता केन्द्र र प्रदेश सरकारलाई मेडिकल सामग्री (विशेष गरी अक्सिजन) को प्रबन्ध गर्ने आदेश माग्दै अदालत गएका थिए।

‘यो एउटा सुनामी हो। यसबाट बच्न हामीले क्षमता बढाउने कोशिश कसरी गरिरहेका छौं?,’ दिल्ली उच्च अदालतले दुबै सरकारलाई सोधेको छ। कतिपय बिरामीलाई आफन्तले अस्पतालको करिडोर र सडकमै राखिरहेका छन्।

मृतकको संख्या बढेपछि दिल्लीका अन्तिम संस्कार गर्ने ठाउँको अभाव भएको छ। विज्ञहरूले अहिले पनि भारतमा थुप्रै संक्रमितहरू रेकर्डभन्दा बाहिर रहेको हुन सक्ने बताएका छन्।

१२ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको