तुलसीपुर खानेपानी संस्थालाई समय तोकेर निर्वाचन गतिविधि नगर्न अदालतले किन दियो आदेश ?

फाइल तस्बिर

फागुन १३, दाङ । उच्च अदालत तुलसीपुरले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि सञ्चालन नगर्न आदेश दिएको छ।

तुलसीपुर खानेपानीकी पूर्व कर्मचारी तथा उपभोक्ता एमुना शाहले बुधबार उच्च अदालत तुलसीपुरमा खानेपानी संस्थाले साधारण सभा समेत नगरी संस्थाको नयाँ नेतृत्व चुन्न निर्वाचन गर्न खोजिएको भन्दै पदाधिकारीलाई विपक्षी बनाई रिट हालेकी थिइन्।

त्यसमाथि सुनवाई गर्दै न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले बिहीबार दिउँसो तत्कालका लागि फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि सञ्चालन नगर्न ओदश दिएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए।

अदालतले फागुन १६ गते विपक्षी बनाइएका मध्य खानेपानीका अध्यक्ष, कार्यसमिति, खानेपानी संस्था, निर्वाचन समिति र तुलसीपुरका मेयरलाई समेत अदालतमा छलफलका लागि बोलाएको सूचना अधिकारी भण्डारीले बताए।

तुलसीपुर खानेपानीको नयाँ नेतृत्व चुयत गर्न फागुन २२ गते मतदानको मिति सार्वजनिक भइसकेको छ। निर्वाचन समितिले फागुन ११ गते निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। जसमा फागुन ११ गते मतदाता नामावली प्रकाशित, १४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने, फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न पाउने समय प्रदान गरिएको छ।

त्यस्तै फागुन १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने र सोही दिन नै उम्मेदवारहरुलाई मतदान चिन्ह प्रदान गर्ने उल्लेख छ। निर्वाचन तालिकामा फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ।

तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्न संस्थाभित्र सात हजार दुई सय ४६ जना उपभोक्ताले मताधिकार पाएका छन्।

१३ फाल्गुन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको