सत्ता समीकरणमा कुन पार्टी होला निर्णायक ? यस्तो छ अंकगणित

फाइल तस्बिर

फागुन १३, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ ।

संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।

संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।

अहिले कांग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

अध्यक्षद्वय बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका थिए ।

तर, उनीहरूको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गरे । सोही कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले जनताले सरकार चलाउने म्यान्डेट नदिए पनि संसद्का अन्य दलहरूले आग्रह गरेमा कांग्रेसले विचार गर्नुपर्ने बताएका थिए ।

निधिपछि बोलेका देउवाले भने सरकारको नेतृत्वमा दाबी नगरी घुमाउरो भाषामा जवाफ दिएका थिए । उनले नेकपाको विवादबारे छिनोफानो हुनुपर्ने र अविश्वास प्रस्ताव कसरी आउँछ त्यसपछि मात्रै कांग्रेसले निर्णय लिने बताए ।

प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसद छन् । जसमा कांग्रेसतर्फ ६३ सांसद छन् । यसैगरी, नेकपाका १ सय ७४ सांसद छन् । त्यसमध्ये एक जनाको निधन भएको छ । यो संख्यामा हाल नेकपाको प्रचण्ड—नेपाल समूहतर्फ ८७ सांसद रहेको दाबी गरिएको छ भने प्रधानमन्त्रीसमेत रहेका ओली समूहतर्फ ८३ जना रहेको भनिएको छ । तर, तीन जना सांसद भने खुलेका छैनन् । नखुलेका समेत प्रचण्ड—माधव पक्षमा नै जान सक्ने सम्भावना छ ।

यो अवस्थामा संसद्बाट नयाँ सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्ने देखिन्छ । यो संख्या नेकपाका कुनै एक समूहले कांग्रेसको साथ बिना पु¥याउन सम्भव देखिएको छैन । यो अवस्थालाई समेत ख्याल गर्दै नेकपाका दुवै समूहले कांग्रेस नेतृत्वसँगको निकटता बढाउन खोजिरहेका छन् ।

यसैगरी, संसद्मा नेकपा र कांग्रेसबाहेकको ३८ सिट छ । जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक–एक गरी चार सांसद छन् । यसरी हेर्दा अबको सरकार गठन प्रक्रियामा कांग्रेस नै निर्णयक देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आगामी दिनमा मिलेर जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेको स्रोतले बताएको छ । ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दुवै पक्षले कांग्रेससँग सहकार्य गर्ने सम्बन्धमा चासो राखेको भए पनि कांग्रेसले कम्युनिस्टलाई अहिलेसम्म विभाजनको नजरले नहेरेको बताए ।

‘अहिलेसम्म कम्युनिस्ट पार्टी वैधानिक रूपमा एउटै छ, उनीहरू कसरी अघि बढ्छन्, अहिले नै स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसले हतारमा निर्णय गर्दैन,’ सहमहामन्त्री महतले राजधानीसँग भने । कांग्रेसले संसद् पुनस्र्थापनापछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बिहीबारका लागि पदाधिकारी बैठकसमेत बोलाएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

१३ फाल्गुन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको