गायिका समीक्षा अधिकारीले पल शाह र आफ्नो सम्बन्धबारे लेखिन लामो स्टाटस


कात्तिक ७, काठमाडौं । केही समययता पल शाह र गायिका समीक्षा अधिकारी एक अर्कासँग नजिकिएको खबर एकपछि अर्का मिडियामा छायाे। अभिनेता पल शाहसँगको अन्तरंग सम्बन्ध रहेको भन्ने खबर निरन्तर आएपछि पल र समीक्षा दुबैले मिडियाबाट टाढा रहन प्रयाससमेत गरे। तर पनि समाचार आउन रोकिएन।

गायिका समीक्षाले पलसँग जोडिएको हल्लालाई अफवाह भन्दै आफ्नो फेसबुकमार्फत् खण्डन गरेकी छन्। आइतबार फेसबुकमा लेखिएको लामो पोस्टमा उनले पल र आफूबीच कुनै अनैतिक सम्बन्ध नरहेको भन्दै खण्डन गरेकी हुन्।

उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको बताएकी छन्। उनले मिडियामा आएका समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै प्रशंसकलाई यस्ता अपुष्ट अफवाहको पछि नलाग्न पनि आग्रह गरेकी छन्। पल र समीक्षाबीच गायक तथा संगीतकार खेम सेञ्चुरीको एउटा गीतको छायांकन सिलसिलामा परिचय भएको मानिन्छ।

त्यसपछि यी दुईको सम्बन्धबारे मिडियाले चासो देखाए पनि समीक्षा र पलले सार्वजनिक रुपमा बोलेका थिएनन्। पछिल्लो फेसबुक पोष्टमा समीक्षाले भने पललाई आफ्नो अभिभावकसरह भएको दाबी गरेकी छन्।

पढ्नुहोस् गायिका समीक्षाको स्पष्टिकरणसहितको फेसबुक पोस्ट :

नमस्कार
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ,यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् जसले मेरो चरित्र हत्या भएको छ।

यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले प्रचारबाजी गरिराखेका छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ। यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं।

एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ।

मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ। म उहाँको सदैव फ्यान पनि हुँ। र हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेका छौं र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहनेछौं। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन।

म जे छु जहाँ छु सब मेरा भगवानरुपी दर्शक स्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्नेछैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरुप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्न हुन हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्तिगत जीवनमा आँच आउने ,मानहानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला।

सबैलाई धेरैधेरै माया धन्यवाद !

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको