महासचिव विप्लव र बादलबीच भेटवार्ता


साउन ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ बीच शनिबार भेटवार्ता भएको छ ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका बादलले नेकपामाथि व्यापक धरपकड़ गरेको थिए ।

बादल र विप्लव जनयुद्धका सहयात्री साथिसमेत हुन् । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।

नेकपा र पूर्ववर्ती केपी ओली सरकारबीच गत फागुन २१ गते ३ बुँदे सहमतिमा हस्ताक्षर भए पनि नेकपाका बन्दी नेता–कार्यकर्ताको रिहाइ र पार्टीका नेतामाथि लगाइएका झूट्टा मुद्दा खारेज नहुँदा वार्ता अघि बढ्न सकेको छैन । अझै पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेकपा–नेता–कार्यकर्ता झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् ।

नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतक पार्टीका नेताहरूसँगको भेटवार्तालाई तिब्रता दिईरहेका छन् ।

९ श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको