माननीय मुख्यमन्त्री त्रीलोचन भट्टज्यू
प्रवासबाट एउटा सानो पत्र कोर्न विवश भएं ।
मुलुकको परिवर्तन हजारौंको रगत र बलिदानले सम्भव भएर नै संघीय राज्य स्थापित भयो र तपाईं सुदुरपश्चिम प्रदेशको गरिमामय पद मुख्यमन्त्रीमा विराजमान हुनुभएको छ । आखिर तपाईँ मुख्यमन्त्री बन्नुको उदेश्य के थियो ?
जनताको हकहित र अधिकारका समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि जनताले हजूरलाई मुख्यमन्त्री बनाएका हुन् । तपाईँको निजी स्वार्थपूर्ती गर्न मोजमस्ती गर्न, चिल्लागाड़ी चढ्न, आफ्नो आर्थिक विकास गरेर आफु विकसित बन्न त पक्कै हैन होला नि ?
जुनदिन तपाईले सपथ लिनुभएको थियो
याद गर्नुहोस् त्यो पल के भन्नु भएको थियो ? नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निर्मित रहेको नेपालको संविधान २०७२ प्रति पूर्ण बफादार रहदै प्रदेश न• ७ को पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिइ ईमानदारीका साथ गर्नेछु भनेर नै थियो नि होइन र ?
सुदूरपश्चिमकै ठूलो मानिने सेती अञ्चल अस्पतालमा वेड अनि अक्सीजन नपाउँदा अस्पतालको प्रांगणमा छट्पटीदै जनता मर्न विवश खबर प्रती तपाईंले ध्यान नदिनु कतिसम्म गैरजिम्मेवार हर्कत हो मुख्यमन्त्री ज्यु ?
स्वदेशमा रोजगार नपाई प्रवासमा मजदुरी गर्दैगरेका नेपाली दाजुभाई, दिदीबहिनीहरू रोजगार गुमाएर सडकमा बिचल्लीमा पर्दा तपाईंको मन किन दुखेन ?
भारतबाट नेपाल आउनेहरू आफ्नै नेपालीहरू बाटै ठगीएर चर्को भाड़ादरका सिकार बनेकोमा तपाईंको मनमा अलिकती पनि चिसो नपस्नु र कोही गन्तव्यमा नपुगी बीच बाटो मैं अलपत्र परेर ठगिदा मुलुकमा नागरिकको सरकार छ र भन्ने खालको महशुस भयो ।
कोही त भाड़ा तिर्न नसकेर भारतको सडक किनारमा भोक भोकै गुहार गरिरहेका छन् तर विडंबना ती गरिब, श्रमिक, मजदुरको गुहार र चीत्कार तपाईंको कानले सुनेन ! यो कस्तो विडम्बना हो ?
कोरोना कहरले छट्पटीएका नागरिकको रगत पसिनाबाट सेवा सुविधा लिएर तपाईंले विलासी जीवन बिताउनको लागि मात्रै थियो र हामी सारा प्रवासीले मुलुकको ढुकुटीमा रेमिटेन्स पठाएको ?
यी प्रश्न अनुत्तरित नबनुन् । यथाशिघ्र ध्यानाकर्षण होस् भन्दै यो प्रवासीले पत्रलाई यहीँ बिट मार्दछु । धन्यवाद ।
उही यज्ञराज जोशी
-कैलाली
हाल: भारत
प्रतिक्रिया दिनुहोस