प्रधानमन्त्रीको राजीनामाबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले दिए यस्तो जवाफ

फाइल तस्बिर

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परामर्शपछि राजीनामा गर्ने कि नगर्ने भन्ने निर्णय लिने नेकपा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको ओली समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ भनेर दलहरूले भनेका छन्, के उहाँले राजीनामा गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने– ‘हामी दलहरूसँग छलफलमा छौं । उहाँहरूको कुरा पनि सुनेका छौं । मुलुकलाई राजनीतिक अन्योलमा राख्नुहुँदैन भन्ने हाम्रो कुरा हो । प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुन्छ, त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।’

बैठकले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको ज्ञवालीले बताए ।

उनले थपे, ‘अहिले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, सम्मान गर्ने हिसाबले अगाडि बढ्छौं । छिट्टै पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउँछौं ।’

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको