लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज ११ देखि

फाइल तस्बीर

असोज ७, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको भन्दै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए।

सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरू नहुने पनि स्पष्ट पारे। महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।

महासचिव सिटौलाले भने, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, विजयादशमी, दीपावली, छठलगायत यी महत्वपूर्ण पर्व अग्रिम टिकटको व्यवस्था एक महिना, १५ दिन पहिला गर्ने परम्परा थियो।’ उक्त क्रम कोभिड र वर्षाका कारण सडक बिग्रिएकाले रोकिएको उनले बताए।

महासंघका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्कलगायत सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए। उनले अनलाइन प्रविधिमार्फत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्था सुरु गरेका यातायात कम्पनीबाट सहजै बुकिङ गर्न सकिने जानकारी दिए।

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको