असोज ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित विनियोजन विधेयक, २०७८ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी छन्।
यसअघि आजकै प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको थियो।
प्रतिनिधि सभाको बिहीवारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आफ्नो अवरोध कायमै राखेको थियो। एमालेले १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस